दुषित पानी पिउन सदरमुकामबासी बाध्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, २१ श्रावण । जिल्ला सदरमुकाम स्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन् ।
शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरमा धमिलो पानी गइरहेको स्थानीयको गुनासो छ । खानेपानीका शाखा लाइनका पाइप व्यवस्थित नहुनाले पनि सर्वसाधारण दूषित फोहर पानी पिउन बाध्य बनेको स्थानीय उपभोक्ताको भनाइ रहेको छ ।
भाँडामा भरेको पानीको पिँधमा केही समयमा नै कालोमाटो र फोहर वस्तु थिग्रने गरेको थोफानडाँडा बस्दै आएको किशोर अवस्थीले बताउनुभयो । सडक छेउमा
रहेको नालीमा गाडिएका पाइप फुटेपछि खानेपानीका लाइनमा सडक छेउको भल बगेर जान थालेको हो ।
वर्षौंदेखि अस्तव्यस्त रुपमा रहेका नालीलाई बर्खायाममा व्यवस्थित बनाउन अमरगढी नगरपालिका कार्यालयले पहल चाले पनि त्यसको खानेपानीमा असर पुगेको छ । नालीलाई व्यवस्थित बनाउन अमरसिंह
राजमार्ग, प्रशासन सडक, शिक्षा सडक लगायतका क्षेत्रमा कार्य थालनी गरिएको
हो ।
तर तिनै छेउमा रहेका अधिकांश होटल र घरपरिवारका खानेपानीका पाइप लाइनबाट दूषित पानी गइरहेको हो । अमरगढी नगरपालिकाले थालेको नाली खोल्ने काम सराहनीय भए पनि खलङ्गा खानेपानी उपभोक्ता समितिको लापर्बाहीले भने यस्तो समस्या आएको उपभोक्ताको गुनासो छ । बर्खायामको समय भएकाले ठाउँठाउँमा फुटेका खानेपानीका पाइप लाइनलाई सक्दो चाँडो व्यवस्थित बनाउन उपभोक्ताको माग रहेको छ । अधिकांश घरमा दूषित पानी गए पनि कतिपय घरमा खानेपानी नै नजाने समस्या समेत रहेको छ ।
साथै खानेपानी समस्या समाधानका लागि सरोकारवालालाई आग्रह समेत गरिएको छ । दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउन सक्ने खतरातर्फ सबैले सचेत रहन स्वास्थ्यकर्मीले जानकारी गराएका छन् भन्ने समाचार प्राप्त भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *