पाँच रोपनी बढी जमिन क्याम्पसलाई








दार्चुला, २१ श्रावण । आज जमिनको मुल्य बढेको छ । तैपनि पहाड तर्फको जमीन अझै डाडाकाँडाले भरिएकोले प्रशस्त जग्गा जमीन देखिन्छ । तर खेतीपातीको काममा भने कमै प्रयोग भएको पाइन्छ । कारण गाईगोरु पाल्न कमी आउनु, रसायनिक खाद महंगो, सिँचाईको अभावले गर्दा धेरै बस्तीहरु पहाडबाट तराई झरेर पहाडलाई उजाड बनाएको छ ।
जतिसुकै जमीन भएपनि अरुलाई दान दिन सबैको हिम्मत छैन तर दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ सल्याडीका स्थानीयले दार्चुला बहुमुखी क्याम्पस खलंगालाई पाँच रोपनी भन्दा बढी जमिन दान गरेका छन् ।
साविकको छापरी गाविस वडा नम्बर ९ का स्थानीय धामी परिवारले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।
पते धामीका छोरा र नातीहरुको नाममा रहेको उक्त क्षेत्रमा पते धामीका ८८ वर्षिय छोरा धनराम धामी सहित करन सिह धामीका छोरा रामसिह धामी, विरभानसिह धामीका छोरा मानसिह धामी, सगर सिह धामीका छोरा करनसिह धामी र जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत ईन्जिनियर करनसिह धामीको नाममा रहेको जग्गाबाट प्रत्येकले १३ आना भन्दा बढी जमिन दान स्वरुप क्याम्पसलाइ उपलब्ध गराएको सहायक क्याम्पस प्रमुख धाना धामीले जानकारी दिए ।
त्यसैगरी सोही क्षेत्रमा करनसिह धामीका छोरा कासी सिह धामी र मोहनसिह धामीका छोरा बिरसिह धामीले पनि सोही परिमाण्को जमिन उपलब्ध गराउने प्रतिबद्धता गरेको सहायक क्याम्पस प्रमुख धामीले
बताए ।
क्याम्पस सँग आफ्नो जमिन नभएको थाहा पाएपछि आफूहरुले जग्गा उपलब्ध गराएको जग्गा दाता रामसिह धामीले बताए ।
आफ्नो क्षेत्रमा उच्च शिक्षाका लागि कार्यक्रम सञ्चालन हुँदा व्यक्तिभन्दा पनि समाजलाई फाइदा पुग्ने भएकाले सबै दाजुभाइसँग सल्लाह गरेर क्याम्पसलाई जग्गा दान गरेको जग्गादाता धनराम धामीका छोरा हरकसिह धामीले बताए ।
उक्त जग्गा सडक छेऊको जमिन भएकोले क्याम्पसले भौतिक निर्माणदेखि अन्य शैक्षिक कार्यक्रम गर्न समेत सजिलो हुने अर्का जग्गादता तथा ईन्जिनियर करनसिह धामीले बताए ।
त्यसैगरी उच्च शिक्षा दिईरहेको क्याम्पसले भोगेको जग्गाको अभाव कम गर्न र आफ्नो समुदायको सम्बन्ध बिस्तार गर्न आफूहरुले जग्गादान गरेको जग्गादाता करनसिह धामीको भनाई छ, भने अर्का जग्गादाता मानसिह धामी क्याम्पसले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो ठाउँमा विकासका नयाँ सम्भावना बढ्ने बताउँछन् ।
बर्तमान समयमा मानिसहरुमा स्वार्थभाव बढीरहेको बेला दान गर्नु महान धर्म हो भन्ने सोचाइका क्याम्पसलाइ जग्गा उपलब्ध गराउने सबैप्रति आभार प्रकट गरी धन्यवाद दिएको तथा औपचारिक कार्यक्रम गरी जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरेको दार्चुला बहुमुखी क्याम्पसका व्यवस्थापन विभाग प्रमुख मदनसिह कार्कीले जानकारी दिए भन्ने समाचार प्रकाशमा आएका छन् ।
यसरी सार्वजनिक काम जसले समग्र समाजलाई नै फाइदा पुग्ने हुन्छ त्यस्ता कामका लागि दान दिदा अरु पनि त्यस कार्यबाट प्रेरित हुने र दान गर्ने मनसाय बनाउने हुदा यस्ता दान गर्नेहरुलाई सरकारले सम्मान गर्नुपर्ने देखिन्छ ।







