सामाजिक रुपान्तरण








नयाँ नेपाल बनाउने दाबी सहित उदय भएका विभिन्न समुहबाट सामाजिक रुपान्तरण पनि प्रारम्भ भएको प्रष्ट देख्न सकिन्छ । मान्यता, परम्परा, संस्कृति असल खराब जे जस्ता रहेपनि यस समाजको प्रभावशाली वर्ग रुपान्तरण नै परिवर्तन र क्रान्ति भन्ने मान्यता राख्दछ ।
लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।
यस भित्र धर्मान्तरण पनि पर्ने भएकोले र परिणाम नित्य प्रकट भइरहेका हुनाले ठूलो वा सानो समुह भन्दा पनि बाहुबली प्रतिस्पर्धामा को बढी प्रगति गर्न सक्छ त्यसैका लागि सबैजसो उपलब्धि हुने र भन्ने गरिन्छ । त्यसै प्राप्त उपलब्धिलाई रक्षा गर्ने नाममा सशक्त अभियान संचालित भइरहेको आभाष हुन्छ । विद्यमान व्यवस्था परम्परा जे जसो भएपनि त्यसलाई समाप्त पार्ने र श्रेष्टतम परिभाषित गर्ने अभ्यास तीब्र गतिमा भइरहेको छ । पुराना अवधारणाहरुलाई बाँकी नराख्ने अभ्यास भएको हुनाले यस सम्बन्धमा आएको परिवर्तन, समाजको स्वरुप, नाता, रिश्ता, मानवता र यसका मुल्यहरु कहाँ सम्म पुग्ने हुन् समीक्षात्मक विश्लेषण सान्दर्भिक लागेको छ ।
धर्मका नाममा रहेका बेथिति, रिखी मुण्टण्ड, पण्डा, पुरोहितहरुका पाखण्ड माथि जुन गतिमा प्रहार हुनुपर्ने थियो त्यति भएको देखिदैन । कथित तीर्थस्थल भनिएका स्थान पाखण्डमा ब्रहृमलुटको केन्द्र स्थापित हुने गरी अडिग छन् ।
सिधा सोझालाई लुटेर तोत्र पडे जस्तो गरेर हजारौं रकम दक्षिणा नदिए पितृ मोक्ष हुदैन भनि ब्लेकमेल गर्ने लुटेराहरुलाई तह लगाउने कुनै परिवर्तनकारी सक्रिय नभएको मात्र होइन त्यस भ्रमजालमा स्वयं पर्ने गरेका समाचारहरु संचार माध्यमहरुमा पटक पटक देख्न सुन्न पाइने गरेको छ । त्यसैले त भैंसी दान कथित ज्योतिषि भविष्यवक्ताहरुका ठाउँमा नियन्ताहरुको भीड लाग्ने गरेबाट भित्रि रुपमा संस्कार कुसंस्कार कति सम्म जरा गाडेर बसेका छन् भन्ने स्पष्ट बोध भइरहदा हाम्रो महान हिन्दु दर्शन, वैदिक सत्य सनातन र सार्वभौम संस्कारहरुलाई तहसनहस पार्दै महान सभ्यतालाई समुल नाश पार्दै चक्रव्यूह भित्र फसेको देख्दा दुःख लाग्दछ ।
महिला हाम्रा जननि छोरी, बहिनी, सम्मानका प्रतिक हुन् । यस संग विमति राख्ने नराधमलाई क्षमा गर्न सकिदैन । तर महिला जागृति र उत्थानका नाममा अर्थको अनर्थ भइरहे तर्फ कथित परिवर्तनका बाहकहरुको ध्यान पुगेको देखिदैन । अधिकार कागजमा दिएर पूर्ति हुने होइन केही सीमित बाँठाहरुले निहित स्वार्थका लागि पुरा गर्न नसकेका दाबी गर्दा ९५ प्रतिशत ग्रामीण महिला समाजको हविगत के छ ? ती अधिकारको ज्ञान समाधानका उपाय संभव भइरहेका छन् छैनन् ?
त्यसतर्फ कुनै विवेकशील दृष्टि पुगेको देखिएन । आफ्नो व्यवसायिक जीवनका ४ दशक भन्दा पनि बढी समयमा अनुभव गरिएका विषयबाट कागजी अधिकारले दाबी निरर्थक मात्र होइन असंभव पारी दिएका कतिपय घटनाक्रमहरुको प्रत्यक्ष साक्षात्कार गरेको छु । त्यति मात्र होइन सम्पत्तिका लोभले पवित्र बैवाहिक जीवन कलंकित पार्दै सम्बन्ध विच्छेदका दाबी आउने प्रत्यक्ष परोक्ष ब्ल्याकमेल हुने गरेको यथार्थलाई विधि निर्माताहरुबाट सक्रिय विवेचना हुन आवश्यक छ ।
परिवार जस्तो पवित्र मानिएका संस्थाहरु विवाद र घृणाका पर्याय बनिरहेको सहजै देख्न सकिन्छ । कुनै पवित्र सनातन रिश्ता नाता भन्दा पनि कहाँ कसरी सम्पत्ति हात पार्न सकिन्छ भन्ने षड्यन्त्रका अनेकौं श्रङ्खलाहरुबाट पारिवारिक मान्यताहरु धराशायी औचित्यहीन र अन्ततः दुःखदायी बन्ने गरेका अनेकौं दृष्टान्त छन् । भाइ जस्तो पवित्र सम्बन्ध प्रायः शत्रुतामा परिवर्तित हुने गरेको छ । लोग्ने स्वास्नीका पवित्र बन्धन व्यभिचार ग्रस्त बनेका उदाहरण छन् । कोही कसै माथि विश्वास गर्ने मनस्थितिमा देखिदैनन् । त्यसैले वृद्धावस्थामा बाबु आमा अलपत्र पर्ने, बेसहारा हुने यथार्थ सबैका सामु प्रकट हुने गरेका छन् । वात्सल्य, माया ममताका देखावटी व्यर्थका आडम्बरले समाजका मौलिक पृष्ठभुमिलाई समाप्त पार्दै लगेको छ ।
आफ्नो कुरिति छन् भने त्यसमा सुधार गर्नको साटो भेलेण्टाइन डे, हेप्पी वर्थ डे जस्ता पाश्चात्य शैली प्रति अनुराग हुने, आफ्ना मुल्य मान्यता धराशायी पार्ने, भोज भतेर गरी अपव्यय गर्ने, त्यसमा पनि विचित्रका असभ्य क्रियाकलापहरुमा नबोलाएका स्थानहरुमा समेत निर्लज्ज भएर खाइ दिने, त्यसमा व्यवधान पारे हिंस्रक कार्य समेत भएका तथ्य जताततै देखिने गरेका छन् । जीवित छदा बेवास्ता गर्ने मरेपछि क्रिया कर्म श्राद्धका नाममा मुण्टण्ड रिखिहरुलाई लुट गर्न छुट दिने निरर्थक आडम्बरी यस्ता सम्बन्ध भन्दा त पाश्चात्य शैली झैं एकाकी स्वाधिन जीवनको अभ्यास किन नगर्ने ?
भोज भतेर गर्ने कथित दाम पुण्यका रकमहरुलाई बृद्धाश्रम, अनाथालयहरुमा किन नदिने ? यस विषयमा विधि निर्माताहरुले अंश, पैतृक सम्पत्ति लगायतका निरर्थक अव्यवहारिक कानून खारेज गरी पाश्चात्य समाज प्रति अनुराग गर्ने वर्गले यस्ता दुरगामी प्रथाको अवलम्बन गर्न सके समाज रुपान्तरण संभव हुन सक्ला अन्यथा नियति भनेको धर्मान्तरण जस्तै हुने निश्चित छ ।







