सेती अञ्चल अस्पतालमा पानीको हाहाकार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
फाइल फाेटाे

धनगढी । नेपालमा विकास निर्माणका कामहरु सुरुवात गरिन्छ तर दीर्घकालिन अवस्था सम्मको लागि मर्मत सम्भारको व्यवस्था हुदैन । त्यसकारण मर्मत सम्भारको लागि छुट्टै व्यवस्था हुनुपर्ने जनगुनासो रहेको पाइन्छ ।

तीन वर्षअघि निर्माण गरिएको डिप बोरिङ सुकेपछि सेती अञ्चल अस्पतालमा पानीको हाहाकार भएको छ । विगत एक साता देखि अस्पतालमा पानीको हाहाकार भएपछि बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरुले सास्ती बेहोर्न थालेका छन् ।

शौचालय जान, हातमुख धुन र पिउने पानीको चरम अभाव छ भने अञ्चल अस्पतालको उपचार सेवा नै प्रभावित भएको छ । खानेपानी डिप बोरिङ सुकेपछि अस्पतालमा रहेका शौचालयहरु पस्न नसक्ने भएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु नजिकै रहेका सहकर्मीहरुका क्वाटरमा रहेका शौचालय प्रयोग गरे पनि बिरामी र तिनका कुरुवा भने होटल, पसलबाट मिनरल वाटर किनेर शौचालय जान बाध्य भएका छन् । तर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले भने पानीको चरम अभाव भएपनि समस्या समाधानका लागि खासै ध्यान दिएको छैन ।

सुदूरपश्चिमको रेफरल अस्पताल जसको आन्तरिक आम्दानी पनि मासिक करोडौं रुपैयाँ छ तर अस्पतालमा खानेपानीको त कुरै नगरौ शौचालयमा पनि एक थोपा पानी छैन । अस्पताल पुगेका बिरामी र तिनका आफन्तले शौचालय देखि पिउने पानी किन्नु परेको सुदूरपश्चिमका विभिन्न स्थानबाट उपचार गराउन आएका विरामीहरु बताउँछन् ।

मिनरल वाटर किनेर शौचालय प्रयोग गरिए पनि शौचालयका प्यानहरु पानीको अभावका कारण फ्लस हुन नपाउदा निकै दुर्ग्न्धित भएका छन् । पैसा खर्च गर्न सक्ने बिरामी र कुरुवाहरुले मिनरल वाटर प्रयोग गरेपनि पैसा नहुनेहरुले भने न त पानी खान पाएका छन् न त शौचालय जान नै ।

मौसम परिवर्तनका कारण अहिले सेती अञ्चल अस्पतानमा भाइरल ज्वरो लगायत अन्य बिरामीको चाप निक्कै बढेको छ । अस्पतालमा पानीको चरम अभाव भएपछि सबैभन्दा बढि सुत्केरी वार्डमा भर्ना भएका बिरामीहरु मारमा परेका छन् । शौचालय जाँदा शौचालयमा पानी हुँदैन भने पानी अभावकै कारण उनीहरुले सरसफाई पनि गर्न नसकेका बताएका छन् । पानीको यत्रो हाहाकार भइसक्दा समेत अस्पताल प्रशासन र अस्पताल विकास समितिले वास्ता नगरेको भन्दै बिरामी र कुरुवाहरु आक्रोशित भएका छन् ।

बिरामी र कुरुवा मात्र होइन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु समेत पानी नपाउँदा हैरान भएका छन् । अस्पतालमा पुनः प्रयोग हुने सामान सफा गर्न र बिरामी जाँच गरेपछि हात धुनका लागि पनि पानी नभएपछि अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु हैरान भएका हुन् । पानीको चरम अभाव भएपछि केही स्वास्थ्यकर्मीहरुले घर र क्वाटरबाटै पानीको बोत्तल समेत बोकेर ल्याउने गरेको अस्पतालका कर्मचारीहरु बताउछन् ।

सेती अञ्चल अस्पतालमा ३ वर्ष अगाडि निर्माण गरिएको डिप बोरिङ सुक्दै अहिले पुरै पानी नआउने गरी बन्द भएको छ । पानीको हाहाकार भएको धेरै समय भइसक्दा समेत बोरिङ निर्माणका लागि अस्पतालले चासो दिएको छैन । पानी कै कारण डायलासिस लगायत आपातकालीन उपचार सेवा प्रभावित हुन थालेपनि अस्पतालले २ वटा नल्का गाडेको छ तर त्यसमा पनि राम्ररी पानी आउन छाडेपछि समस्या भएको सेती अञ्चल अस्पतालका निमित्त प्रमुख डाक्टर सजन केसीले बताउनु भयो भन्ने समाचार प्राप्त भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *