ब्लड क्यान्सर प्रभावित १४ वर्षीय छोराका लागि याचना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी । जुनसुकै विरामी पर्दा पनि औषधीको भन्दा ठूलो समस्या रहेको छ रोगको निदानको । यदि रोग पहिचानका उपायहरु तथा उपकरणहरु प्रत्येक नगरपालिका तथा गाउँ पालिकामा भई दिएमा प्रारम्भिक पहिचान हुने थियो । तर, आज सम्म त्यस्तो व्यवस्था कुनै पनि सरकारले गर्न सकेको देखिएन ।

पुर्चौडी नगरपालिका–८ खेतालीकी दुर्गा बमले रक्त क्यान्सर भएका छोराको उपचारका लागि सहयोगको याचना गरेकी छिन् । रकम अभावका कारण उपचार गर्न नसकिएको भन्दै आमा दुर्गाले रक्त क्यान्सर भएका छोरा १४ वर्षीय जयन्तको उपचारका लागि याचना गरेकी हुन् ।

जयन्तको उपचार १८ महिना देखि काठमाडौंको महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालमा भइहरेको छ । २०७२ फागुन देखि बिरामी भएका उनलाई सुरुमा घरायसी उपचार गरिएको थियो । निको नभएपछि जँचाउने क्रममा डडेल्धुराको एक मेडिकलले जयन्तलाई ‘ब्लड क्यान्सर’ भएको बताएको थियो ।

२०७२ माघमा हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुने लगायत लक्षण देखा परेका थिए । यस्ता लक्षण देखा पर्दा सुरुमा घरायसी औषधी प्रयोग गरेका थिए । घरायसी औषधीले राम्रो नभएपछि जयन्तलाई परिवारले स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेको थियो । स्वास्थ्य चौकीको औषधीले पनि सञ्चो भएन । जयन्तलाई औषधीले सञ्चो हुनुको सट्टा झन् थला परेका थिए । छोरालाई धेरै दिन घरायसी र स्थानीय स्वास्थ्य चौकीको औषधीले सञ्चो नभएपछि डडेल्धुराको मेडिकलमा जाँच गराएका थिए ।

मेडिकलमा जाँच गर्दा रक्त क्यान्सर भएको भन्दै एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान चिकित्सकले सुझाव दिएका थिए । २०७२ फागुनमा काठमाडौंको कान्ति बाल अस्पतालमा जाँच गर्दा जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।

जयन्त कान्ति बाल अस्पतालमा र्पुयाउँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । रक्त क्यान्सर हुँदा गत वर्ष कक्षा ८ को परीक्षा समेत दिन पाएनन् । सम्पत्ति सकियो तर भएन उपचार एक वर्षदेखि कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गराइ रहेका जयन्तको उपचारको लागि उनका परिवारले भएको सम्पत्ति, जग्गा जमिन समेत बिक्री गरिसकेको छ । ‘हालसम्म छोराको उपचारमा ७ लाख खर्च भइसकेको छ’ दुर्गाले भनिन्, ’पूर्ण रूपमा निको हुन ३ वर्ष २ महिना लगातार उपचार गराउनुपर्ने र त्यसका लागि २० लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले बताएका छन् ।’

खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको उपचारको लागि भारतका विभिन्न अस्पताल लगायत नेपालका अन्य अस्पतालमा समेत उपचारको क्रममा भएको जायजेथा सकिएपछि विभिन्न निकायसँग छोराको जीवन रक्षाको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । जयन्तको उपचारको लागि सहयोग गर्न चाहनेले जयन्तको बुवाको नाममा नबिल बैंक, कुलेश्वर, काठमाडौं शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ सहयोग गर्न परिवारले आग्रह गरेको छ भन्ने समाचार विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएका छन् ।

सहयोगकर्ता कतिबेला कुन व्यक्तिले सहयोग गर्छन् थाहा हुदैन । तसर्थ वर्तमानको सरकार सित सहयोगको लागि आग्रह गर्नुपर्ने जनमानसमा धारणा रहेको छ । एक दुर्गम भेगको मध्यम वर्गिय परिवारमा जन्मिएका जयन्तको परिवारले यत्रो रकमको जोहो गर्न अप्ठ्यारो कुरा हो । उनको जीवनदानको लागि अस्पतालले समेत यशाशिघ्र सम्बन्धित पक्ष सित उपचारको व्यवस्था मिलाउन सिफारिसका साथ अनुरोध गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *