संस्कृति, परम्परा र धर्मको सम्बन्ध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
थानेश्वर प्रसाद भट्ट
लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

सामान्यता संस्कृति, परम्परा र धर्मलाई मिश्रित एकिकृत स्वरुप हो भनेझैं सम्झने गरिन्छ । परम्परा रुढीवादीको पर्याय पनि संझन सकिएन । वस्तुतः यी सबै यथार्थपरक होइनन् एक अर्कामा पुरक नभएर नितान्त भिन्न हुन् भन्ने पर्याप्त आधार हुन सक्छन् । नव वर्ष संगै वर्षायाम लगायत शीतकालको प्रारम्भ सम्म चाडपर्व संस्कृति परम्परालाई धार्मिक स्वरुप पनि दिने प्रचलन हुदा र यस्तो समय चलिरहेको हुनाले सामयिक विश्लेषण निजि अवधारण, वस्तुपरक, चित्रण गर्ने प्रयाशका रुपमा अभिव्यक्त गर्न सान्दर्भिक लागेको छ ।

संस्कृति भित्र लोक मान्यतामा आधारित विभिन्न प्रकृतिका क्रियाकलाप देख्न सुन्न सकिन्छ र कतिपय अनुत्तरित क्रियाकलाप परम्पराका नाममा रिति कुरिति जे भएपनि प्रचलनमा रहेका हुन्छन् । यिनलाई धर्म भित्र राखेर निर्वाह गर्ने संस्कारका रुपमा विकसित भएको देखिएकाले प्रथमतः धर्म भनेको के होला ? यसको समीक्षा आवश्यक लाग्दछ । वर्तमान विश्व परिवेशमा हिन्दु, ईसाइ, इस्लाम, यहुदी, शिख, बौद्ध, जैन लगायतका नामबाट धर्मको नामाकरण गरेको देखिन्छ र समय–समय सम्बन्धित कथित धर्मका प्रवर्तकहरुबाट अनुभव गरिएको विषयलाई धर्माकरण गरिएको पाइन्छ ।

ईसाइहरुमा जेसस क्राइष्टलाई ईश्वर मान्ने गरिन्छ र यिनकै नामबाट इस्वी सन् पनि व्यवहारमा छ । मुसलमानहरु मा पैगम्बर मुहम्मदलाई इस्लाम धर्मको प्रवर्तक, कुरानका आयावहरुलाई सर्वाेपरि मान्ने धार्मिक मान्यता छ । त्यस्तै बाइबल इसाइहरुको पवित्र धार्मिक ग्रन्थ मानिएको छ । बुद्धिष्टहरुमा महात्मा बुद्धको ज्ञानमा आधारित धर्म भनेर मानिन्छ भने जैनहरु महावीरलाई प्रवर्तक भनेर अनुशरण गर्दछन् । हिन्दुहरुमा वेद, गीता, भागवत पुराण, उपनिषद् आदिलाई धार्मिक मार्गदर्शकका रुपमा ग्रहण गरिन्छ । यस सम्प्रदायमा करोडौं देवी देवता छन् भन्ने मान्यता व्याप्त छ ।

बलि प्रथालाई धार्मिक आवरणको अटुट हिस्सा मान्ने एकातर्फ छन् भने वैष्णव लगायतका सम्प्रदाय यसका घोर विरोधी छन् । हिन्दुहरुमा पनि विविध प्रकारका धर्म गुरुहरुबाट समय समयमा नयाँ नयाँ चिन्तन वैचारिक पद्धतिहरु विकसित हुदै गएको सहजै देख्न सकिन्छ । कोही कर्मकाण्डी छन् भने कोही निराकार ब्रह्म नै ईश्वर हो भन्ने मान्यता राख्दछन् । ओशो रजनिशले ध्यान पद्धतिका माध्यमबाट मुक्तिको द्वार मिल्न सक्छ भनि मार्ग दर्शन गरे । महात्मा बुद्धले विपश्यना ध्यान पद्धतिको माध्यमबाट सहज मुक्ति मिल्ने ज्ञान दिएर कर्मकाण्ड माथि प्रश्न खडा गरी दिए ।

शंकराचार्यले कर्मकाण्डको स्वरुप निर्धारित गर्दै चार पीठको स्थापना गरे । बाबा रामदेवले पतञ्जली योगका माध्यमबाट धर्म र आत्म चेतनाको मार्ग जन जन समक्ष पु¥याई मानवताको उपकार गरी दिएको सहजै देख्न सकिन्छ । हिन्दु भन्ने सम्प्रदायका अनेकौं ईश्वर देवता छन् र विभिन्न फरक मान्यताहरु कर्मकाण्ड बलि प्रथा लगायत अनेकौं विकृतिहरुलाई समेत हिन्दु धर्म भनेर अपव्याख्या गरिने हुनाले महान संस्कृति र ज्ञानको अनमोल भण्डारलाई नै धमिरो लगाउने क्रियाकलापहरु कै कारण यथार्थ धर्मको परिभाषा गर्न निकै कठीन भएको छ ।

जीवित छदा हेला गर्ने वृद्धाश्रममा पठाउने कुनै सेवा नगर्ने दुष्ट सन्ततिले मर्दा भने दान पुण्य क्रिया श्राद्ध तीर्थ व्रतका नाममा रिखि पण्डा कथित ब्राह्मण मुण्टण्डहरुलाई निरर्थक समृद्ध पार्ने, त्यस्तै पण्डा पुजारी धामी पाठ पढ्ने लगायतका स्वार्थी कर्मकाण्ड आजका सन्दर्भमा व्यर्थका आडम्बर लाग्दछन् ।

विविध प्रकारका कथित धार्मिक प्रचलन, भागवत पुराणका नाममा अपव्यय भएबाट महान संस्कृतिमा विचलन ल्याएको स्पष्ट देख्न सकिन्छ । त्यसैले अनमोल पूँजी भएर पनि महान हिन्दुत्व कमजोर भएको हो तर मुस्लिमहरुका पनि आतंकवादी चरमपन्थी शिया सुन्नी, बोहरा सम्प्रदाय लगायतमा परस्परको काटमार असहिष्णुताले पैगम्बरको दिव्य ज्ञान नै हराएर गए जस्तो छ । ईसाइहरुका उच्च गुरु पादरीहरुका एकपछि अर्का बाल यौन दुराचारका घृणित अपराध, त्यस्तै प्रोटेण्टेण्ट, कैथोलिकहरुका वर्गिकरणबाट महान प्रभु यशु ख्रिष्टको दिव्य ज्ञान लुप्त भएर गएको सहजै देख्न सकिन्छ ।

वस्तुतः धर्म भनेको आत्म पहिचान हो । प्रभु कृष्णको गीता नै सारा धर्म संस्कृतिको मुल भएपनि अन्य व्यर्थ हुन् भन्नु अर्काे मुर्खता हुनेछ । जसलाई जे गर्दा सहज हुन्छ अन्तश्चेतानाले स्वीकार गर्छ, बाध्यताको सामाजिक बन्धन लादिएर होइन स्वेच्छाले आत्मसात गरिन्छ । हाम्रो अन्तर हृदय भित्र रहेको दिव्य विभुतिले सहजै बोध गराउँछ ।

त्यही नै सत्य सनातन मौलिक धार्मिक चिन्तन हो । साक्षी भावले तटस्थ निरिक्षण गर्ने हो भने सार्वभौम यथार्थ शब्द संग साक्षात्कार गर्न संभव छ । त्यसैको प्रयासका मुलमा संस्कृति, परम्परा र मान्यता स्थापित भएका होलान् । समय चक्रले विकृत तुल्याएको मात्र हो । यी चाडपर्वले सबैलाई प्रफुल्लित तुल्याउँछ वा सम्पन्नका लागि मात्र प्रदर्शनको समय आएको हो यसको मुल्याङ्कन समाजले गम्भीर भएर गर्नुपर्ने आवश्यकता छ । सबैको हृदयमा अवस्थित धर्महरुको पनि धर्म अविनाशी ब्रह्म स्वरुप तत्वले शान्ति दिन्छ भन्ने अटुट मान्यताका साथ सबैमा ॐकारको पवित्र ध्वनिले नमन गर्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *