श्रावणको सोमबारमा शिव पूजा किन ?








-अाचार्य घनश्याम लेखक
श्रावण संक्रान्तिबाट दक्षिणायन सुरु हुन्छ । दक्षिणायन देवताको रात हो । श्रावण र भदौ देवताको सन्ध्याकाल हो । असोज र कार्तिक देवताको मध्यरात हो भने मंसिर र पुष देवताको ब्रह्म मुहूर्त हो । त्यसैले श्रावण भदौमा शिव परिवारको पूजा गरिन्छ किनकि सन्ध्याका देवता शिव हुन् । रात्री शिव पार्वतीको रुप हो । रात्री सुक्त इत्यादि सुक्तहरुमा देवीको आराधना गरिएको पाइन्छ । शिवको उपासना तथा दुर्गाको भक्ति पनि रात्रिमा नै गरिन्छ । त्यसैले शिवरात्री, नवरात्री, कालरात्री, मोहरात्री, महारात्री जस्ता रात्रीमा गरिने पूजाको संकेत गरेको छ । जब संसार सुत्छ तब योगी, योगिनीहरु ब्युझने गर्दछन् । शिवलाई योगराज भनिन्छ भने पार्वतीलाई योगिन्यधिश्वरी भनिन्छ ।
यज्ञ जब सम्पन्न हुन्छ पूर्णाहुति हुन्छ तब शिव जाग्ने गर्दछ किनभने शिव यज्ञफलदाता हुन् । साक्षी शंकर हुन् । शमशानपछिका आशा रहेका जहाँ भनिएको छ शिव साक्षी हुन् जीवले गरेको राम्रो नराम्रो कामको गवाही दिनका लागि श्मशानमा बसेका हुन्छ । त्यसैले उनलाई मसान र मसानी शब्दले पनि सम्बोधन गरेको पाइन्छ । शिवकालका देवता महाकाल हुन् । गौरी कालकी देवी महाकाली हुन् ।
महाकाल र महाकालीको रङ्ग कालो हुन्छ । त्यसै कारणले श्रावणको महिनालाई ‘कालो महिना’ भनिन्छ । शिव स्वयं ‘कर्पूर गौरं करुणावतारं’ हुनुहुन्छ भने उनको अवतार रुद्र तमोगुणी देवता हुन् । अन्धकारका देवता हुन् । अन्धकारलाई नबुझीकनै उज्यालोको महत्व थाहा पाइदैन । ‘तमसोमा ज्योतिर्गमय’ वेदमा यही प्रसंग दोह¥याएको छ । तमसबाट ज्योति तिर जाऊ, ज्योति भनेको साकार शिवको निराकार रुप हो शिवको प्रतिकलाई ज्योतिर्लिङ्ग भनिन्छ ।
संसार शिवलिङ्ग रुप हो । ब्रह्मको अण्डा भएकाले ब्रह्माण्ड भनिन्छ । ब्रह्माण्डको दृश्य लघुरुप शिवलिङ्ग हो, कैलासको आकार पनि शिवलिङ्ग रुपको रहेको छ जो शिवको घर हो जसको दर्शन तथा परिक्रमा ब्रह्माण्डको दर्शन तथा परिक्रमा हो । श्रावण भदौमा कैलास मानस तथा पुष माघमा गंगा सागरको यात्राको महत्व रहेको छ । यी दुई स्थानको तीर्थ यात्रा गर्नु महायात्रा हो ।
यी जिवनमा एक चोटी मात्र भएपनि पूरा फल पाइन्छ । त्यसैले आस्तिक हिन्दु श्रावणको महिनामा कैलास मानसको यात्रा गर्न चाहन्छन् तर रुख विरुवा नभएको, अति दुर्गम, जीवजन्तुले पुग्न नसक्ने त्यस्तो कठिन यात्रा छ कैलास मानसरोवरको । सर्व–साधारणले यस्तो यात्रा गर्न संभव छैन । त्यसैले त्यसको विकल्पका रुपमा कैलास मानसरोवर समीपका कुनै पनि पहाड–पर्वतको दर्शनको प्रावधान राखिएको छ । यसका लागि बद्रीनाथ, केदारनाथ, अमरनाथ, पशुपतिनाथ, मुक्तिनाथ, छायानाथ, जगन्नाथ, वैद्यनाथ, बडिमालिका, रावलाकेदार, ध्वजकेदार, स्थलकेदार, ग्वाल्लेक केदार, सिगास, गन्याप, भागेश्वर, ठाकुर ज्यू, महारुद्र, महाथ्वौं, मल्लिकार्जुन, पातालभुमेश्वर, ॐपर्वत, खप्तड सहस्रलिङ्ग आदिको दर्शन गर्न सकिन्छ । कथाचित यो कार्य पनि सकिएन भने श्रावण महिना भरी मानसव्रतको विधान छ ।
श्रावणमा कमसेकम पाँच दिन अथवा सोमबार शिवको पूजा गर्नु नै मानस व्रत हो । शिवलाई जल प्रिय छ । त्यसैले वर्षा ऋतुमा नदी रजस्वला हुने भएकाले गंगा जल अशुद्ध भएपनि रुद्राभिषेकको लागि पवित्र मानिन्छ । त्यसमा पनि गंगा जमुना महाकाली कर्णाली आदि मानसरोवर मूल श्रोत भएका नदीको जल पवित्र मानिन्छ । यसको एक मात्र कारण यिनको सम्बन्ध ‘रसोवैसः’ मानसरोवर संग रहेको छ । मानसको जल ब्रह्मरस हो । ब्रह्मलाई रस रुप मानेको त्यही रस कैलास शिखरबाट तल प्रवाहित हुदै शिवको जटाको संयोगले पवित्र भई मानस जल बन्दछ । त्यही मानस जल गंगा जल हो जो शिवलाई अतिप्रिय छ । सोमबारका देवता शिव हुन् ।
त्यसमा पनि श्रावणको सोमबारको ठूलो महत्व छ । विशेष गरेर हरियो पहिरन लगाएर श्रावणको सोमबारको ठूलो महत्व छ । विशेष गरेर हरियो पहिरन लगाएर श्रावणको सोमबारको दिन गरिने मानसव्रत मनोवाञ्छित फल दिनेवाला हुन्छ । यस वर्ष श्रावणमा पाँच सोमबार परेकाले अझै राम्रो योग रहेको छ ।
(लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।)







