मेयरमा एमाले उपमेयरमा कांग्रेस विजयी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी, महेन्द्रनगर २४ असार ।

कञ्चनपुरको जेठो नगरपालिका भीमदत्त नगरपालिकामा एमालेले मेयरमा जित हासिल गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार एमालेका मेयर पदका उम्मेदवार सुरेन्द्र विष्टले कांग्रेसका पदम बोगटीलाई १ सय ६६ मतको अन्तरले हराउदै भीमदत्त नगरको मेयरमा निर्वाचित भएका हुन् ।

गत असार १४ गते दोस्रो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको थियो । त्यसपश्चात सुरु भएको मतगणनामा ८ दिन सम्म लगातार अग्र स्थानमा रहेको कांग्रेसलाई एमालेले अन्तिममा आएर १ सय ६६ मतको फरकले जितेको हो । विष्टले कुल ११ हजार ८ सय ३१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पदम बोगटीले ११ हजार ६ सय ६५ मत ल्याएका हुन् ।

यसैगरी उपमेयरमा भने कांग्रेसकी उम्मेदवार सुशिला चन्द निर्वाचित भएकी छिन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेकी माया पन्तलाई ९ सय ३९ मतको फरक पारी जितेकी हुन् । चन्दले १२ हजार ७ सय ७५ मत ल्याएकी हुन् भने पन्तले ११ हजार ८ सय ३६ मत ल्याएकी हुन् ।

यसैगरी, कुल मत मध्ये माओवादी केन्द्रबाट मेयर उम्मेदवारका रहेका गोपाल रसायलीले ४ हजार ५ सय ९७ मत ल्याई तेस्रो स्थानमा
परेका छन् भने राप्रपाका मेयर उम्मेदवार गजेन्द्र बहादुर चन्दले ४ हजार ३ सय २८ मत ल्याएका थिए ।

कुल ५६ हजार १ सय ७४ मतदाता रहेको यस नगरपालिकामा ३७ हजार ३ सय ७० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससंगै नगरपालिका भित्रका १० वटा वडाहरुमा एमाले जितेको छ भने ७ वडाहरुमा काँग्रेस र २ वडाहरुमा माओवादी केन्द्रले जित हासिल गरेको
छ । नगरका ६, ८, ९, १०, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा एमालेको जित हासिल गरेको छ । यस्तै १, ३, ४, ५, ११, १२ र १३ नं. वडाहरुमा कांग्रेस विजयी भएको छ भने २ र ७ नं. वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

भीमदत्त नगरपालिकाको मतगणना सकिएसंगै निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गरेको हो । जित पछि निर्वाचित उम्मेदवारका समर्थक तथा कार्यकर्ताहरुले महेन्द्रनगर बजारमा विजय जुलुस समेत निकालेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *