बाढी पीडितलाई राहत घोषणा गर्दा प्रधानमन्त्रीले वाचन गरे ज्ञापनपत्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, २३ असार

बाघ लागेपछि हुलोबुझो गर्ने चलन नेपालमा छदै थियो तर नेपालका भ्रष्ट पदाधिकारीहरुले नदि किनाराको जमीनलाई समेत वितरण गरी सोबाट कमाएको अनैतिक धन बटुलेका पदाधिकारीहरुले आज बाढी लाग्दा गोहीका आँशु ढाल्नुले मात्र जनताको उद्धार हुने होइन । नेपाल अधिराज्यभरी सर्पट नापी भयो त्यसबेला सरकारले कडा नियम कानूनको पालना गराउनुपर्ने थियो अझै गराएका छैनन् ।

त्यस्तै शहर बजारमा नगर विकास समितिको जिम्मामा रहेको साझा सम्पत्ति माथि लुटपाट भइरहेको छ, सरकारले लुटपाट गर्न दिइरहेको छ । पछि समस्या सुल्झाउन कुनै आयोग गठन गर्दा यस देशको हितमा हुने छैन । त्यस्तै खोलानालाहरुको संरक्षण संवद्र्धन गरेर समयमै सजक हुनुपर्नेमा भ्रष्टाचारलाई बढावा दिन अन्तमा गएर जनतालाई बेवकुफ बनाउने काम मात्र गरेको पाइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ । एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग भेटघाट गर्दै समस्या बारे उहाँले जानकारी लिनु भएको हो । सप्तरीको तितौरा गाउँपालिका अन्तर्गतको मैना करेडोल लगायत ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानको जानकारी लिनु हुँदै देउवाले राहतको घोषणा समेत गर्नुभयो ।

तर, राहत घोषणाका लागि प्रधानमन्त्री देउवाले दिनु भएको मन्तव्यको प्रसंग विपरीतको हुँदा सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि देउवाले लिखित मन्तव्य दिनुभयो । उहाँको मन्तव्य सप्तरीका बाढी पीडितलाई दिइने राहतको घोषणा लगायतका विषय भन्दा फरक प्रसंगबाट सुरु भयो ।

उहाँले बाढी पीडितका लागि राहतको प्याकेज सहितको मन्तव्य दिनुपर्ने ठाउँमा पूर्व स्वास्थ्य मन्त्री उमेश यादवले जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लहानमा आर्थिक अनियमितता भएको र त्यो छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरिएको ज्ञापनपत्र वाचन गर्नुभयो ।

पीडितलाई राहतको प्याकेज घोषणा गर्नुपर्ने ठाउँमा देउवाले भन्नुभयो, ‘जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लाहनामा व्यापक अनियमितता भएको छ । संसदीय समिति गठन हुनुपर्यो ।’ देउवाको यो सम्बोधनले मञ्चमा बसेका गृहमन्त्री जनार्दन शर्मा, सुरक्षा निकायका अधिकारी लगायत सबै चकित परे ।

प्रधानमन्त्रीले गलत मन्तव्य वाचन गरेको सुनेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल आसनबाट उठेर पोडियममा पुगेर भन्नुभयो, ‘हजुर यो त अर्कै परेछ ।’ प्रजिअ कट्वालले यत्ति भनेपछि मात्र देउवाले आफूले गलत मन्तव्य दिएको भन्ने थाहा पाउनु भएको थियो ।

केही दिन अघि बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा एक युवाको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री रिसाएको भन्दै आलोचना भइराखेका बेला शुक्रबारको घटनाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको थप आलोचना सुरु भएको छ ।

सामाजिक सञ्जालमा अधिकांश प्रयोगकर्ताले ज्ञापनपत्र र विज्ञप्ति पनि छुट्याउन नसकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् भन्ने खबर विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *