नेता पदको आकर्षण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–थानेश्वर प्रसाद भट्ट

लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

नेताको शब्द अत्यन्त मायाबी छ । नाता, रिश्ता, कुटुम्ब, उमेर, योग्यता, सिप, ज्ञान केही मान्दैन । प्रजातन्त्रात्मक दलहरुको उपस्थिति आवश्यक छ । दल खोल्नुको अर्थ निश्चित मान्यता, आदर्श, सिद्धान्त प्रतिको समान दृष्टिकोण अनिवार्य रहन्छ । त्यसका लागि विधान बनेका हुन्छन् । दल संग आबद्ध सबैले विधानको निर्देशन र मार्गदर्शन पालन गर्नैपर्दछ । दलीय अनुशासन त्यही हो तर नेता शब्दले त्यस्तो दलिय अनुशासनलाई पनि अमान्य गर्ने कतिपय अवस्था प्रत्यक्ष देखिएका हुनाले नेता पदमा त्यस्तो के आकर्षण छ जसले समग्र आधारभुत मान्यताहरुलाई वेवास्ता गर्ने क्षमता राख्दछ ।

टिकट वितरणबाट उत्पन्न आक्रोश यत्तिको भयङ्कर छ रह्यो कि यसले दलीय अनुशासनको उपहास मात्र गरेन प्रजातान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने सम्मको झलक दियो । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत बागी र बागी उम्मेदवारहरुका चर्चा सुनिने गर्दछन् । खास गरी छिमेकी हिन्दुस्तानमा यसको प्रकोप व्यापक छ । त्यहीका प्रथा अनुरुप गरी हाल्ने गोर्खेहरुका लागि त्यो त आदर्श अनुकरणनिय विषय हुने नै भयो । एकक्षत्र राज र प्रभाव जमाएका स्वनामधन्य प्रधानमन्त्रीको डडेल्धुरा जिल्लामा भुकम्प नै पैदा गरी दिएको छ ।

राजनीति प्रति कुनै चासो नरहे पनि कान त बन्द गर्न सकिदैन । कतिपय सरोकारवालाहरुले यसलाई एकजना कञ्चनपुरका लोकप्रिय थारु नेताको हविगत सम्झे । पहाडी मुल संग प्रेम लगन कसेका उनको ख्याति रसातल
मिल्यो । राजनीतिबाट विलिन नै भएर गए । आश्चर्य लाग्दछ उनकै हविगत संग डडेल्धुराको प्रसंग आउनु अत्यन्त विचारणिय छ । लोकप्रिय रहेका सर्वशक्तिमानलाई ग्रहण लगाउने कुनै प्राणी सक्रिय भएर नै त्यस्तो उदाहरण आएको होला । क्षमता योग्यता जनप्रियता भन्दा पनि कसैको दया मायाबाट टिकट प्राप्त गर्ने प्राणी निश्चित रुपमा भुकम्पीय परिणामका लागि कारकतत्व बन्नु स्वभाविक नै हो भन्ने आम सर्वसाधारणको सोच मतका माध्यमबाट प्रकट भए ।

किन यति लालायित छन् नेता पदका लागि ? किनभने यसमा कुनै लगानी गर्नुपर्दैन, परिक्षा पास गर्न पर्दैन, उमेर हद, लोक सेवा आयोग, चरित्रको स्वच्छता, इमान, बचनबद्धता, त्याग र समर्पण अप्रासांगिक महत्वहीन हुन् तर निशर्त केही हुन सक्तैन । तिकडम, अवसरवादी, आत्मसम्मान रहित धूर्तता, धनुष्टंकार, अर्थात् खास व्यक्ति वर्गलाई ईश्वरको प्रतिरुप देखावटी भएपनि पुग्छ । वर्षाै जेलनेल त्याग निष्टा सिद्धान्त प्रियतावाला त अज्ञात गुमनामीको जीवन बाँच्न बाध्य हुन्छन् । यो अकारण लेखिएको होइन । पंचायतकालीन अवस्थामा दुःख पाएका घरबार विहिन पारिएका सिद्धान्तनिष्टहरु शोपीसमा रुपान्तरित भए । पीडकहरु आज उनीहरु कै भाग्य विधाता बनेको स्पष्ट देख्न सकिन्छ । यो अनुभवजन्य अभिव्यक्ति हो ।

आजको सन्दर्भमा समग्र समाज दलमय बनेको छ कोही क्षेत्र बाँकी छैन । जसको कुनै दलीय आधार छैन जे जस्तो भएपनि टुहुरो भएर रहनै पर्ने बाध्यता छ । आम सर्वसाधारणका अपेक्षा सामान्य भएपनि परिपूर्ति गर्ने क्षमता भएन भने धन वा धर्म दुबै रहदैन । सामान्य जागीर पाउन कति संघर्ष गर्न पर्छ तर नेता हुन झोला बोक्ने योग्यता नै पर्याप्त हो । यद्यपि झोलाको मालिक धूर्तताको पराकाष्टामा पुगेको सिद्धिधारी हुनु अनिवार्य छ । धेरैले दलिय आस्थाको विषयमा कतिपय अवस्थामा प्रश्न गर्छन् सवाल यो छ कि दलिय भएर मात्र पुग्दैन गुटीय पनि हुन आवश्यक छ । नैतिकता हेर्ने हो भने त्यसलाई आत्मसात गर्न सकिदैन । यस्ता कुनै योग्यता नभएपछि दलिय आस्थाको पनि अर्थ रहन सक्तैन । यो चिरस्थायी नभएपनि अन्तरिम समयमा दुःख दिन्छ । पदवी नपाएको पीडाको अभिव्यक्ति होइन त्यो व्यवहारमा सिद्ध गरी सकेको छु । नछोडेको भए प्रधान न्यायाधीश पक्का थियो भन्ने हितैषी प्रशस्त थिए तर त्यस भित्र रहेको भए दम घुट्ने गरी बाँच्न बाध्य हुने थिए । त्यसैले स्वनामधन्य आजका गुमनाम भएका नेताजीलाई धन्यवाद छ समयमा नै बाटो देखाएर पलायन हुन पाए ।

विना खास योग्यता प्रतिष्ठित हुन पाउने एकमात्र रामवाण नेताको पदवी भएको छ तर गहिरिएर विचार गर्दा यो शब्द गुरु जस्तै उपहास र तिरस्कारको पर्याय बनिसकेको छ धेरै चिन्तन गर्नै पर्दैन । हिजोका नेताजीहरु जसले राष्ट्रध्वज, गाँठ, गाडी धारण गरे आज समाजमा कुन दृष्टिले हेरिन्छन् ? त्यसैले सेवा भावका लागि नेता हुनु भनेको त जाखिम हो । यसले इहलोक परलोक केही मिल्दैन । त्यसैले बेरोजगार मुलुकमा यो एउटा सहज कथित इज्जतदार व्यवसायिक खेती बन्न गएको देखिन्छ यद्यपि कालान्तरमा रुवाउँछ । त्यसैले सानो रोजगार हुनेहरु समेत यसबाट कमै आकर्षित रहन्छन् होला तथा केही काल सम्म तिलस्मको असर त कायम रहला नै । यसरी नै सिष्टमहरु धराशायी राष्ट्र असफल हुने ऐतिहासिक परिप्रेक्ष्यबाट सहजै बोध गर्न सकिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *