चार दिन भित्र सबै मत परिणाम ः निर्वाचन आयोग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, १७ असार

नेपालको वर्तमानको मतगणनाको जस्तो तरिका विश्वका कुनै देशमा पनि छैन । मतदान भएको दुई दिन भित्र सम्पूर्ण नतिजा प्रकाशित हुन्छ भने हामी कहाँ पहिलो चरणको निर्वाचन भएको करिब २ महिना हुन लाग्यो नतिजा प्रकाशन भएको छैन । दोश्रो चरणको मतगणना जारी छ । कति दिन रहने हो भन्न सकिने स्थिति छैन तैपनि निर्वाचन आयोगले चार दिन भित्र नतिजा आउने भनेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव निर्वाचन परिणाम चार दिन भित्र आउने जानकारी दिएका छन् ।

उनले भने– ‘यो निर्वाचन अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको छ, यसलाई हामीले मोेडेल ईलेक्सनको रुपमा लिएका छौं, अन्य निर्वाचन यो भन्दापनि अरु धेरै राम्रो हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’ दोस्रो चरणको निर्वाचनमा आम मतदाताहरुले छाता ओढेर भएपनि मतदान गरेको उल्लेख गर्दै भने, ‘निर्वाचन अत्यन्तै सफल रुपमा सम्पन्न भएको छ ।’

यादवले अहिलेसम्म ३० प्रतिशत मतगणना सम्पन्न भएको समेत जानकारी दिए । उनका अनुसार आयोगले हालै मात्रैपनि निर्वाचन अधिकृतलाई विशेष निर्दे्शिका पठाईसकेको समेत बताए । यादवले अहिले मतगणना छिटो भैरहेको विश्वास दिलाए । ‘कतै ढिलाई भैरहेको छ भनेपनि आयोगले विशेष ध्यान दिएको छ, उनले थपे,‘तर समग्रमा मतगणना छिटो र छरितो रुपमा भैरहेको छ ।’ उनले आजको तीन चार दिनभित्रै सबै मतपरिणाम सार्वजनिक हुने समेत विश्वास दिलाए ।

यादवले कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका छन् । मतदाता नामावलीको दृष्टिकोणले, व्यवस्थापकीय दृष्टिकोणले र संवैधानिक दृष्टिकोणले पनि एकै चरणमा दुई वटै निर्वाचन कुनै पनि हालतमा गर्न नसकिने बताएका हुन् ।

उनले संविधानमा उल्लेख भए अनुसार नै आफूहरुले निर्वाचन गर्ने बताए । उनले भने,‘संविधानमा जे उल्लेख भएको छ, हामी त्यही अनुसार चल्छौं, राष्ट्रिय सभामा महिलाहरुको प्रतिनिधित्वको कुरा पनि छ, त्यसैले पहिले प्रदेश सभाको हुनुपर्छ, त्यसपछिमात्रै राष्ट्रिय सभाको हुन्छ, अनि मात्रै केन्द्रिय संसदको चुनाव हुन्छ ।’

उनले प्रान्तीय र आम निर्वाचन एकै चरणमा कुनैपनि हालतमा गर्न नसकिने स्प्ष्ट पारे । उनले भने,‘त्यसैले तिनवटा निर्वाचन जनताको प्रत्यक्ष मतबाट हुन्छ, राष्ट्रिय सभाको इलेक्ट्रोल कलेजबाट हुन्छ, यी निर्वाचनका लागि समय छोटो हुँदै गएको छ ।’

उनले संविधानले नै महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेकोले चुनाव एकै चरणमा हुन नसक्ने बताए । त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा मतदान केन्द्र, मतपत्र, र चार वटा बक्समा मतदान गर्नुपर्ने झन्झट भएकोले एकै चरणमा निर्वाचन गर्न नसकिने अर्को कारण देखाए ।

यादवले यही आउने माघ ७ गतेभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले बाँकी निर्वाचनको लागि आयोगले हिजोमात्रै सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए । उनले भने,‘असारभित्र हामीले कानून माँग गरेका छौं, १६५ प्रतिनिधि सभाको लागि प्रत्येक सभाको लागि निर्वाचन क्षेत्र निर्धारण साउन १५ गतेभित्र प्राप्त गर्नुपर्नेछ ।’ त्यस्तै उनले मतपत्र डिजाईन गरेर छाप्नुपर्ने भएकोले राजनीतिक दल दर्ता पनि चाँडै गर्नुपर्ने कुरा महत्वपूर्ण भएको स्पष्ट पारे । त्यस्तै उनले मतदाता नामावली सम्बन्धी ऐनमा समेत परिमार्जनको आवश्यक रहेको बताए । यादवले थपे, ‘मतदाता नामावली अद्यावधि गर्नुपर्नेछ ।’

मतपत्र छपाईको हकमा पनि जुन क्षेत्रमा जे जति संख्यामा उम्मेदवारहरुको मनोनयन हुन्छ मनोनयन भएपछि मात्र सम्बन्धित प्रदेशबाट नै आवश्यक पर्ने मतपत्र मात्र छपाउनु पर्ने जनभावना रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *