मानसव्रतमा गरिने पाठ मानस स्तोत्र कुञ्जिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-आचार्य घनश्याम लेखक

असार शुक्ल एकादशीका दिन भगवान नारायण चार महिनाका लागि शयन गर्दछन् । यस दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ । नारायण क्षीर सागरमा शयन गर्दछन् भने देवीदेवताहरु कैलास मानस तिर लाग्दछन् । पृथ्वीका सम्पूर्ण देवीदेवता तथा तीर्थहरुले सन्ध्या गर्ने समय श्रावणको महिना अर्थात् बेलुकाको समय हो भने जागरण हुने समय माघ महिना हो ।

माघ देखि देवता दिन र श्रावण देखि देवताको रात्री सुरु हुन्छ । त्यसैले श्रावणमा मन्दिहरुमा दियो बाल्ने चलन रहेको छ जसको प्रारम्भ गरु पूर्णिमा देखि हुन्छ । गुरुको पूजा गर्ने पर्व भएको हुनाले यसलाई गुरुपर्व अथवा गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुको मात्र पूजा गरिन्छ । गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर हुन् । त्यस भन्दा पनि पर गुरु साक्षात परब्रह्म स्वरुप हुन् । गुरुले नै गोविन्दको दर्शन गराउँछन् । तेस्रो आँखा जसलाई ज्ञानको आँखा भनिन्छ त्यसलाई खोल्ने दिव्य ज्योतिको नाम गुरु हो । गुरुको पूजा गरेर दैनिक रुपमा ब्रह्मा, विष्णु, महेश एवं शारदा, रमा, ईश्वरी को पूजा अर्चना गरेर गरिने उपासना मानसव्रत हो ।

यो व्रत विशेषतः तागाधारी अर्थात् जनै, दुब्धागो सप्तमी, अनन्त, रक्षासुत्र लगाउने अनिवार्य गर्नुपर्दछ । त्यसमा पनि तीज, गौरा र अनन्ते पर्व मनाउनेले नगरी नहुने व्रत हो । श्रावण मास भन्नाले गुरु पूर्णिमा देखि जनैपूर्णिमा सम्म भन्ने बुझिन्छ भने सौर्य सिद्धान्त अनुसार श्रावण १ गते देखि श्रावणमास मानिन्छ । यस महिनामा शिवको दर्शन गर्नु अनिवार्य कर्तव्य अन्तर्गत पर्दछ । माघ महिनामा जलमा डुबुल्की लगाएर गरिएको स्नानको महत्व हुन्छ भने मानस मास अर्थात् श्रावण मासमा आकाश गंगाका सहस्र धारामा भिजेर गरेको स्नानको महत्व मानिन्छ । श्रावण महिनामा नदि रजस्वला हुने भएकाले अशुद्ध मानिन्छ । त्यसैले श्रावण भदौको वर्षा ऋतुमा नदि स्नानको महत्व मानिदैन ।

माघमा गंगा सागर श्रावणमा मानस सरोवरको स्नान पवित्र मानिन्छ । मानस सरोवर ब्रह्म रुप भएको हुनाले रजस्वलाको दोष लाग्दैन । त्यसैले कैलास मानसरोवर यात्रा श्रावण महिनामा हुने गर्दछ । मानस संग सम्बन्धित क्षेत्रलाई मानस खण्ड भनिन्छ । यस मानस व्रतको सम्बन्ध पनि मानसरोवर संग रहेको छ । यो व्रत प्राचिन व्रत हो । श्रावण महिना भरी मानस क्षेत्रको बास मानस पुराणको श्रवण तथा मानस स्तोत्र कुजिकाको पाठलाई विशेष महत्व दिइएको छ । त्यसैले मन्दिरहरु कमसेकम तीन दिनको औराद (जाग्राम) बस्ने चलन चलेको हो किनभने देवीदेवताहरु मानस स्थान र शिव दर्शनका लागि कैलास मानसरोवर तिर गएका हुन्छन् । मन्दिरमा देवद्वारपालेहरुले पहरा दिने गर्दछन् ।

त्यसैले श्रावण महिनालाई कालो महिना पनि भन्दछन् । केवाड खुले पनि पूजा अर्चना नगरिने तर बेलुकापख दियो अवश्य बाल्नु पर्ने प्रचलन नै मानस व्रतको निरन्तरता हो । यो व्रत नयाँ होइन । प्राचिनकाल देखि नै प्रत्येक हिन्दु धर्मावलम्बीले मनाउँदै आएको छ । श्रावणमा एक दिन भएपनि व्रत गर्नु शाकाहारी शुद्ध सालिक एवं साकाहार भोजन गर्नु यो सबै मानसव्रत नै हो । सम्भव भए पुरै महिना व्रत गर्नु उत्तम मानिन्छ । यदि त्यो संभव भएन भने कमसेकम ३ दिन ५ दिन त अवश्य व्रत गर्नुपर्छ । त्यसमा पनि श्रावणको सोमबार अति पवित्र मानिन्छ । सोमबारका अधिपति देवता शिव हुन् जो कैलासमा बस्दछन्, उनैको लागि गरिने व्रत हो । कैलासको दुर्गम तथा कठिन यात्रा गरेर दर्शन गर्न नसक्नेहरुले घर मै मानसी गंगामा स्नान गरी बालुवा अथवा माटोको शिवलिङ्ग बनाई पूजा गर्नाले पनि फल पाइन्छ । त्यसैले श्रावण मासमा पार्थिव पूजा (माटो शिवलिङ्ग) को ठूलो महत्व रहेको छ ।

कैलास हाम्रो शिर मानस सरोवर आँखा हो । काली कर्णाली बीचको सम्पूर्ण भु–भाग शिव गौरी रुप हो । शिवलिङ्ग स्वरुप हो । त्यसको शिटो भाग कैलास हो । त्यसैले कैलास जान नसक्ने श्रद्धालुले काली कर्णालीमा कुनै पनि देवी देवताको दर्शन गर्नु नै कैलास प्रतिको दर्शन हो । शिवलाई सङ्गित प्रिय हुन्छ । त्यसैले श्रावणमा वेदपाठ (रुद्री पाठ) को विशेष महत्व छ । वेद पाठ गर्न नसक्नेहरुलाई मानस स्तोत्र कुञ्जिकाको पाठ निर्धारण गरिएको छ । मानस स्तोत्र कुञ्जिका स्कन्द पुराण अन्तर्गतको मानसखण्ड संहिताबाट संकलित गरिएको स्तोत्र संग्रह हो । यसमा सम्पूर्ण देवीदेवताका स्तुतिहरु रहेका छन् । पाठविधि पनि रहेको छ । त्यसैले श्रावणमा मानस स्तोत्रको पाठ गर्नु गराउनु अनिवार्य मानिन्छ । यसको पठन गर्नाले वेदपाठ गरे बराबरफल पाइन्छ, मनोकामना पूर्ण हुन्छ ।
(लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *