एमाले नगर कमिटि अध्यक्षको मृत्यु








जगदिश प्रसाद अवस्थी ।
जोगबुढा, १० असार
नेकपा एमाले परशुराम नगरपालिकाका नगर कमिटि अध्यक्ष एवं निर्वाचन परिचालन कमिटिका संयोजक बहादुर महताको शुक्रबार राती उच्च
रक्तचापका कारण मृत्यु भएको छ ।
४० वर्ष उमेरका महता शुक्रबार दिउँसो परशुराम नगरपालिका वडा नं. ११ जिमिरखालीमा व्यस्त रहनु भएको थियो । दिउँसो नै उहाँको रक्तचाप बढी भएपछि बुडर स्थिर मेडिकलमा उपचारका लागि लगिएको थियो । अलि सन्चो भएकाले त्यहाँबाट आइ जोगबुढामा कार्यकर्ताहरुलाई आफु सन्चो भएको र चिन्ता नगर्न आग्रह गरेका थिए । तर, शुक्रबार राती अचानक रक्तचाप बढी भएपछि उहाँको मृत्यु भएको नेकपा एमाले परशुराम नगरपालिका वडा नं. १० का वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद अवस्थीले जानकारी दिनुभयो ।
परशुराम नगरपालिका वडा नं. ९ कर्रेनी बस्दै आएका महता नगरमा एक परिचित र सम्मानित व्यक्ति हुन् । उनको दाहासंस्कार शनिबार परिगाउँ स्थिर महाकाली नदिको किनारमा गरिएको छ । उनको मृत्युले एमाले पार्टीलाई मात्रै नभएर सम्पूर्ण नगरलाई नै धेरै क्षति भएको समेत वडा अध्यक्ष पदका उम्मेदवार अवस्थीले जानकारी दिनुभयो ।







