नेपाल–भारतका सीमा ७२ घण्टा बन्द गरिने








दिशानिर्देश समाचार । बैतडी, १० असार
छिमेकी मित्र राष्ट्र भारत र नेपाल बीचका हरेक सम्बन्धहरु सुमधुर रहेका छन् । आपतकालिन स्थितिमा अर्थात् आवश्यक परेका बेला एकले अर्काेलाई सहयोग गर्ने भावना रहेको पाइन्छ ।
असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारत संग सीमा जोडिएका नेपाल भारतका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।
शुक्रबार दार्चुलामा भएको नेपाल भारतका अधिकारीहरुको संयुक्त सीमा सुरक्षा बैठकमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गर्ने सहमति भएको हो । नेपालका दार्चुला र बैतडी सँग सीमा जोडिएका भारतको उत्तराखण्ड जिल्ला अन्तरगतका सीमा नाका बन्द गर्ने सहमति भएको बैठक पछि बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडलले जानकारी गराउनुभयो ।
नेपालमा भइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीन तहका अधिकारीहरु को बैठक बसेको हो । बैठकमा भारतको पिथौरागढ जिल्लाका डि.एम श्री रविशंकर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेल लगायत तीनै तहका सुरक्षा अधिकारी, भन्सार कार्यालयका अधिकृत, लगायतको उपस्थिती रहेको थियो ।
बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीका बीचमा सूचना आदान प्रदान गर्ने समेत सहमति भएको पौडेलले बताउनुभयो । चुनावलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउन भारतले गर्न सक्ने सबै सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त भएको हो ।
सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराधलाई न्यूनीकरण गर्ने बिषयमा समेत छलफल भएको छ । सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी शिकारी, अवैध वस्तुको व्यापार, मानव वेचबिखन, अवैध शिकार, जाली नोट प्रचलनमा रोक, सीमा क्षेत्रमा आइएसआइको क्रियाकलाप निगरानी लगायतका विषयमा दुवै देशका सुरक्षा अधिकारीले सूचना आदान प्रदान गर्ने सहमति भएको छ । सूचना आदान प्रदानको लागि दुवै देशका अधिकारीहरुको सामाजिक सञ्जाल गु्रप बनाउने सहमति भएको पौडेलले जानकारी दिनुभयो ।
यस्तै महाकाली नदीमा बन्ने भनिएको झोलुंगे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनहरुले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ । पूल निर्माणको लागि प्राविधिक दृष्टिकोणले तीनवटा पूलको आवश्यक कार्य अगाडि बढाउने सहमति भएको पिथौरागढका डिएम श्री रवि शंकरले जानकारी दिनुभयो । जसअनुसार बडुगाउ कालागाड, सोसा सुनसेरा, र गस्कु माल क्षेत्रमा झोलुंगे पूल निर्माणको लागि प्राविधिक रुपमा कार्य अगाडि बढाउने सहमति भएको रविशंकरले जानकारी दिनुभयो ।
बैठकमा भारतको तर्फबाट पिथौरागढ जिल्लाका डिएम श्री रवीशंकरको नेतृत्वमा धारचुलाका एस डिएम राज कुमार पाण्डे, तहशीलदार अद्र्धबी मल, ११ नम्बर बाहिनी एसएसबीका सेरीगा दोरजे, धारचुलाका थाना अध्यक्ष ध्यानसिह लगायतको सहभागिता रहेको थियो ।
यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला, दुर्गादल गुल्मका प्रमुख अर्जुन अधिकारी, नेपाल प्रहरीका डिएसपी केदार खनाल, सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र कवुर, राष्ट्रिय अनुसन्धान अधिकृत बीरेन्द्र कार्की, नदी नियन्त्रण आयोजना प्रमुख सुशील चन्द्र देवकोटा, जिल्ला वन अधिकृत संजय तिवारी, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रामदिनेश चौधरी लगायतको उपस्थिीत रहेको थियो भने बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्रिय अनुसन्धान अधिकृत रमेश डागा लगायतको उपस्थिती थियो भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको छ । दुबै देशको यस्तो सुमधुर सम्बन्ध हमेसा कायम रहन दुबै देशका जनताको माग रहेको छ ।







