निर्वाचनको तरंग








थानेश्वर प्रसाद भट्ट
निर्वाचन वर्षको नमुना बनिरहेको छ नेपाल । अनपेक्षित रुपमा एकै पटक तोकिएको निर्वाचन मिति विस्तारित भइरहेको हुनाले विविध प्रश्नहरु पैदा भएका छन् । यो ठीक भएन, निर्वाचन नै हुदैन लगायतका विविध विचार सञ्चार माध्यमहरुमा पढ्न र सुन्न पाइयो । आम सर्व–साधारणहरुमा यो अराजकताको पराकाष्टा भन्ने अनुभूति भइरहेकोमा यस सम्बन्धी विश्लेषण कुन रुपमा हुन सक्छ त्यसैको समीक्षा गर्ने प्रयाश हो ।
निर्वाचनको विस्तारले नेपाल नामको देश र यहाँका बासिन्दाको मन भित्रका विकार बाहिर प्रकट भएका छन् । यो रेचन ९ऋबतजबचकष्क० को परिणति भन्न सकिएला । मन भित्र गुम्सिएका ग्रन्थि खोल्ने माध्यम पनि भए जस्तो लाग्छ । यो नकारात्मक भन्दा पनि अस्थिरताको अन्त संभव
छ । को के हो, किन भइ रहेको छ छिमेकका तमाम विषय बाहिर आउनु सकारात्मक मान्न सकिन्छ ।
२ नं. प्रदेशमा रोकिएको निर्वाचनबाट कथित आन्दोलनकारी हामी मदीसेहरुले नै अस्वीकार गरी सक्यौं । त्यति मात्र होइन अन्तको पनि निर्वाचन हुनु हुदैन भनि विथोल्ने धम्की मात्र होइन केही गतिविधि पनि भए । नामाकनको दिन बन्दको घोषणा पनि भयो तर परिणाम त हामी मदीसेको सोच भन्दा विपरित आएको देखिन्छ । कथित विथोल्ने समुह मध्येका कोषाध्यक्ष एमालेमा र झण्डै २ सयले स्वतन्त्र उम्मेदवारी दिएर प्रचार प्रसारमा लागि सके तापनि निर्वाचन विथोल्ने भनेका कार्यक्रम चालु देखिन्छन् ।
देशको गृहमन्त्री सहमतिमा नै २ नं. को चुनाव सारिएको र स्वतन्त्र उम्मेदवारी दिएको सार्वजनिक अभिव्यक्ति दिइ रहदा त्यो झुठा भनि रा.ज.पा.का केही स्वनामधन्य नेताजी बोली रहनु भएको छ । विप्लव माओवादीले बहिष्कार बम विष्फोट गरी निर्वाचन अस्वीकार गरी रहदा रोल्पाको थवाङका उसकै सक्रिय नेता कांग्रेसको तालमेलबाट मेयरका उम्मेदवार बनेको समाचार सुनियो । उपेन्द्र यादव निर्वाचनमा सक्रिय भएर लागेका छन् र रा.ज.पा.ले उनका लागि अप्रिय र अवाञ्छित टिप्पणी गरे तर तर्कपूर्ण रुपमा उपेन्द्रले दिएको अन्तरवार्ता राजनेताको जस्तो लाग्यो ।
संसदमा पदवी भत्ता खाइ रहने प्रधानमन्त्रीको निर्वाचनमा भाग लिने आफ्नै कार्यकर्ता नेता स्वतन्त्र रुपमा चुनावमा भाग लिने अनि सर्वसाधारणलाई हैरानीमा मार्न लाठी, मसाल जुलुश, बन्द, तोडफाड गर्ने अराजक गतिविधि गर्दै विखण्डनवादी सि.के.राउतहरु संग सहकार्यका लागि भेट गरी रहेका समाचार अत्यन्त खतरनाक छन् । यस्तै गतिविधिहरुले नै सेना प्रमुखका अभिव्यक्ति आएका हुनुपर्दछ । देशको अखण्डता, स्वाधिनता, सामाजिक सद्भावलाई समाप्त पार्ने अपराधीहरुलाई प्रश्रय दिनको साटो दण्डित गर्नुपर्ने अनिवार्यता बेलैमा संझन सकिएन भने निर्धा जस्तै देखिएका देशद्रोही धुन्धुकारीहरुको मनोबल बढ्ने छ । तर, घात प्रतिघातको राजनीतिबाट राष्ट्रहित संभव हुन सक्तैन ।
हामी मदीसेका २ जना कथित नेता महतो र राजकिशोर चुनौती दिदै मुठभेडको हाक दिइ रहेका छन् । जनमत होइन उनको मत नै सर्वाेपरि हो र मधेश भनेका नै तिनिहरु हुन् भन्ने भान पार्दै व्यर्थको चुनौतीलाई कठोरता पूर्वक सामना गर्नै पर्दछ । जनमतको सवाल नै छैन । विद्रोहबाट नै समाधान हुन्छ भनी विगतमा भएका माओवादी लगायतका आन्दोलन उदाहरण दिएको देख्दा र अजोज २ को निर्वाचन समेत भाग नलिने धम्की दिइ रहदा १४ गते पछि नयाँ रणनीति बनाउन राष्ट्रका नियन्ता बनेकाहरुका निम्ति आवश्यक भइसकेको छ । यी व्यर्थको हाँक दिनेहरुको ल्याकत स्वास्नी सन्तानलाई मनोनयन गर्ने, विरोध पनि गर्ने, भत्ता पनि खाने, मिलेर बसेको समाजलाई घृणा र वैमनश्यता फैलाउने, बहुराष्ट्रका दाबी गर्नेहरु नेपाली हुन सक्तैनन् । तर यिनका अवाञ्छित क्रियाकलापहरुबाट देश भित्र र बाहिरका विविध तत्वहरुलाई भने ठूलो हौसला मिलेको देखिन्छ । विचित्रको संविधान आफै भष्मासुर बनिरहेको छ । नवनिर्वाचित प्रतिनिधिहरुमा उमंग भएपनि कार्य गर्न त्यत्ति सहज हुने छैन ।
अर्काे तर्फ प्रत्येक दलमा टिकट नपाएकाहरुको विद्रोह र बागी उम्मेदवारीले दल प्रतिको निष्ठा र समर्पण धराशायी बनेको छ । स्वार्थ प्रेरित राजनीति गुट उपगुट निर्माण समेत निर्वाचनको तरंगबाट वास्तविक रुपरेखा एकपछि अर्काे गरी प्रकट भइरहेका छन् । संभवतः
शुद्धीकरणका लागि यो आवश्यक पनि लाग्छ ।







