निर्वाचन आचार संहितको पालना कसले कति गरे ?








-strong>-पृत बहादुर विष्ट
आचारको शाब्दिक अर्थ, कुनै नियम सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिस्कृत र नैतिक रुप, त्यसैका आधारमा गरिने व्यवहार रिति वा प्रथा, चाल चलन बानी बेहार चरित्र भन्ने बुझिन्छ । संहिताको अर्थ आचरण वा व्यवहारको परिस्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र भन्ने निस्किन्छ ।
हाम्रो निर्वाचन आयोगले संचालन गर्ने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष पारदर्शी एवं विश्वसनीय तरिकाबाट सम्पन्न गर्ने हेतुले सरोकारवाला सबैले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्ने उद्देश्यले सरोकारवालाको परामर्शबाट आचारसंहिताको निर्माण गरेको हो । त्यसैले यो नेपाल सरकार, मन्त्री, प्रदेश सरकार, स्थानिय निकाय, सरकारी तथा अर्धसरकारी संस्था, कर्मचारी, नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान, निर्वाचन काममा संलग्न कर्मचारी, राजनैतिक दल, दलहरुका भातृ संगठन, उम्मेदवार, सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक लगायत निजि तथा गैर सरकारी संस्था र आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरुका लागि अनिवार्य रुपमा पालन गर्नुपर्ने हुन्छ । उल्लेखित निकायबाट यसको उलंघन भएमा आचार संहिता विपरित निर्वाचन भएको मानिन्छ र यसको अस्तित्व समाप्त हुन्छ । यस सन्दर्भमा सामान्य आचरणहरु तर्फ हेर्दा धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र, समुदायका आधारमा घृणा, द्वेष उत्पन्न हुने क्रियाकलाप गर्नु हुदैन । साम्प्रदायिक भावना फैलिने
गरी मत माग्न र प्रचार गर्न निषेध गरिएको हुन्छ । राजनैतिक दल वा उम्मेदवारले गरेका कामको आलोचना बाहेक निजि जिवनलाई आघात पर्ने गरी क्रियाकलाप गर्न निषेध गरिएको हुन्छ ।
मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोज भतेर खुवाउन, मादक पदार्थ सेवन गराउन हुदैन । धार्मिक ऐतिहासिक, पुरातात्विक विषय, सडक, पर्खाल, सार्वजनिक स्थानहरुमा पम्पलेट टाँस्न लेख्न निषेध गरिएको छ । निजी घरहरुमा घर मालिकको स्वीकृति बेगर राजनैतिक गतिविधि गर्न मिल्दैन । अपाङ्ग व्यक्ति महिलाको भावनामा आँच आउने, चरित्र हत्या जस्ता गतिविधि हुनुहुदैन । आमसभा जुलुसहरुमा बालबालिकाहरु प्रयोगमा ल्याउनु हुदैन । यातायातमा अवरोध हुने गरी जुलुस आमसभा ¥याली बैठक गर्न पाइदैन । मत परिणाम न आउँदा सम्म मत सर्वेक्षण, परिणाम घोषणा जस्ता कार्यहरु गर्न मिल्दैन ।
स्थानिय प्रशासनको अनुमति नलिइ राजनैतिक दल, उम्मेदवारहरुले सार्वजनिक स्थलमा जुलुस आमसभा बैठक गराउनु हुदैन र सुरक्षा निकायलाई आवश्यक प्रबन्धका लागि ४८ घण्टा अगावै जानकारी दिनुपर्छ । अनुमति लिइ प्रयोग गरेका सवारी साधनमा ३ फिट झ ५ भन्दा ठूलो ब्यानर र झण्डाको प्रयोग गर्नु हुदैन । राजनैतिक दलले आयोजना गरेको जुलुस आमसभा विथोल्ने प्रकारका बाधा अड्चन खडा गर्नु हुदैन । एकै स्थलमा सोही समयमा भेला गर्न गराउन हुदैन । आमसभा स्थल बाहेक अन्यत्र ध्वनि उत्पन्न गर्ने यन्त्रहरु लाउड स्पीकरको प्रयोग निषेध गरिएको छ । प्रचार प्रसारमा मोटर साइकल, साइकल, रिक्सा, टाँगा इत्यादि साधनहरुको ¥याली प्रतिबन्धित छ । एउटा दल उम्मेदवारले प्रयोग गरेको सवारी साधन अर्काे दल उम्मेदवारले प्रयोगमा ल्याउनु
हुदैन । आयोगले तोकेको भन्दा बढी खर्च गर्न मिल्दैन । खर्चको विल भर्पाइ राखी कानूनले तोके बमोजिम निर्वाचन कार्यालयमा बुझाउनु पर्छ ।
यसरी मौन अवधिमा पालना गर्नुपर्ने आचरणका सन्दर्भमा हेर्दा प्रचार प्रसार र मत माग्न रोक लगाएको हुन्छ र मौन अवधि पूर्व मतदान केन्द्रको ३०० मिटर वरिपरि भएका प्रचार सामाग्री र निर्वाचन चिन्ह हटाइ सफा राख्नु पर्छ ।
सामाजिक सन्जालको माध्यमबाट मत माग्न हुदैन । एस.एम.एस., फेसबुक, भाइवर जस्ता अन्य विद्युतिय प्रणालीको प्रयोगमा निषेध गरिएको छ । निर्वाचन चिन्ह भएका झोला, टोपी, परिहन, लोगो, ट्याटु जस्ता अन्य सांकेतिक सामाग्रीको प्रयोग विक्री र प्रदर्शनमा रोक लगाएको छ । मतदान गर्दा शारिरीक रुपले असक्त व्यक्ति बाहेक मतदाताले कुनै किसिमको सवारी साधनको प्रयोग गर्न पाउने छैन । आधिकारिक व्यक्ति बाहेक अरुले मतदान केन्द्रमा प्रवेश गर्न हुदैन । मतदातालाई मतदानबाट बन्चित हुने खालका गतिविधि गर्न मिल्दैन । उम्मेदवारी दर्ता गर्दाका बखत सम्पत्ति विवरण पेश
गरेको हुनुपर्छ ।
नेपाल सरकारका मन्त्री, सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै पनि राजनैतिक दल उम्मेदवारहरुको पक्ष विपक्षमा प्रचार प्रसार गर्न हुदैन तर निर्वाचनमा उम्मेदवार भएकाहरुका लागि आफ्नो क्षेत्रमा छुट दिएको पाइन्छ । यसै गरी नयाँ कार्यक्रम, बजेट निर्माण गर्न, सरकारी भवन, सरकारी सवारी साधनको प्रयोगमा रोक लगाएको छ ।
विशेष परिस्थिति बाहेक सरुवा बढुवा नियुक्ति काज आदिमा खटन पठन गर्न मिल्दैन । देशको प्रतिनिधित्व स्वरुप विदेश भ्रमण गर्न मिल्दैन । पद सिर्जना, विज्ञापन, सुविधा, बृद्धि, पुरस्कार जस्ता विषयवस्तु आचार संहितामा निषेधित हुन्छन् ।
आमसंचारका सम्बन्धमा गर्नुपर्ने आचरणमा निर्वाचन शिक्षा मुलक समाचार सूचनालाई उच्च प्राथमिकता दिनु पर्दछ । तथ्य रुपमा आधारित सूचनालाई समाचार सम्प्रेषण गर्नुपर्छ र पेशागत आचरण विपरित जानु हुदैन । सबै दल उम्मेदवारलाई समान अवसर दिनुपर्छ । निःशुल्क विज्ञापन, प्रसारण गर्न गराउनु मिल्दैन । यसैगरी चुनावमा खटी गएका पर्यवेक्षकहरुले पालना गर्नुपर्ने आचरणमा सबै जातजातिका धर्म, भाषा, संस्कृतिको सम्मान गर्नुपर्छ । निष्पक्ष र तटस्थ पर्यवेक्षण गर्नुपर्ने र निर्वाचनको कार्यक्रममा बाधा गर्नु हुदैन । अनुमति प्राप्त क्षेत्र भित्र मात्रै पर्यवेक्षण गर्न सकिनेछ । यसरी हाम्रो निर्वाचन आयोगले लागु गरेको आचार संहिता व्यवहारिक रुपमा के कति प्रयोमा आएको छ सबै सामु छर्लङ्ग नै छ ।
निर्वाचन आचार संहिता, सामाजिक सुधार ऐन, २०३३ जस्तै बनेको छ । कार्यान्वयन प्रतिशत न्यून छ । नैतिकताको आधारमा निर्वाचन आचार संहिताको पालना कसले के कति गरे यो गम्भीर विषय बनेको छ ।







