कञ्चनपुरको चुनावी प्रतिस्पर्धा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । महेन्द्रनगर, ०२ असार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिमका नौ वटै जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भीमदत्त नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ ।

गत संविधान सभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा भने सहजै जित हासिल गर्न काँग्रेसलाई सहज छैन । अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको नेकपा (एमाले) र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेस बीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न निकै सकस छ ।

प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखको लडाइँलाई आफ्नो अस्तित्वको लडाँई सम्झिएका छन् । नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुख पदमा नेपाली काँग्रेसबाट पदम बोगटीलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी, नेकपा (एमाले) बाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन् । नेकपा (माओवादी केन्द्र) ले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नव प्रदेशी गजेन्द्र बहादुर चन्द भीमदत्त नगरपालिकाको प्रमुख पदको उम्मेदवार भएयता दिनरात घरदैलोलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्ष समेत रहेकाले उनका सहपाटी तथा मित्रहरु समेत चुनावी कार्यक्रममा जुटेका छन् । चन्द भीमदत्तमा युवा पुस्तामाझ बढी परिचित छन् ।

स्वतन्त्र उम्मेदवारमा मेयर उपमेयर अध्यक्ष तथा सदस्यहरुको संख्यामा पनि बृद्धि हुने देखिएको छ ।

त्यसैगरी, महाकाली नगरपालिकामा नेपाली काँग्रेसको सङ्गठन बलियो मानिन्छ । तर पनि त्यहाँ प्रमुख राजनीतिक दलका उम्मेदवार बीच प्रतिस्पर्धा हुने स्थानीय नेताको भनाइ छ । यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने संभावनाको चर्चा भइरहेको छ ।

टिकट वितरणमा गरेको ढिलाइका कारण काँग्रेस भित्र केही असहज महसुस भएको छ भने पहिलो चरणको निर्वाचनको मतपरिणामको निरन्तरता नै कञ्चनपुरमा दोहोरिनेमा नेकपा (एमाले) आशावादी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *