मानस संस्कृतिका विशिष्ट पक्ष

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-आचार्य घनश्याम लेखक ।
सृष्टिको प्रारम्भ मेरुको काखमा भएको कुरा पुराणहरुबाट प्रष्ट हुन्छ । मेरुलाई सुमेरु पर्वत भनिन्छ । आधुनिक विद्वान एवं भूगर्भविद्हरुको भनाइ अनुसार वर्तमानको कैलास पर्वत नै सुमेरु पर्वत हो । त्यही कैलास पर्वतको आँगन मानस सरोवर हो ।

ब्रह्माको मनबाट निर्मित सरोवर नै मानस हो । त्यही मानस सरमा सनत, सनक, सनातन र सनन्दन गरी चार ब्रह्माजीका मानस पुत्रको जन्म भएको हो । यी आदि मानस हुन् । ब्रह्माजीलाई पितामह भनिन्छ भने सनतकुमार आदिलाई पूर्वजका पनि पूर्वज अर्थात् प्रथम मानस भनिन्छ । त्यही मानस शब्दबाट मानिस शब्द पनि बनेको हो । मानस जन्मेको खण्ड भएकाले मानसखण्ड पनि भनिएको हो ।

पुराणहरुमा मानस भन्दा माथि कसैको पनि गति छैन भनिएको छ । यसको सीमाना नन्दाहिमाल देखि काकहिमाल सम्म पूर्वपश्चिम फैलिएको र मानस देखि ब्रह्मपर्वत सम्म उत्तर दक्षिण फैलिएको प्रसङ्ग पुराणहरुमा पाइन्छ । मानसरोवर मूल भएका नदीको तटीय भु–भाग मानसखण्ड भित्र पर्दछ जुन अति पवित्र एवं देवभुमि रुपमा रहेको छ ।

संसारको सबैभन्दा पुरानो सभ्यता मानस सभ्यता नै हो । मानस सभ्यताको विकास मानसरोवर कै तटमा भएको हो । प्राचिन सभ्यता जति पनि हुन् तिनिहरुको विकास नदि कै किनाराबाट भएको पाइन्छ । वैदिक, पौराणिक एवं ऐतिहासिक नगरीहरु नदी सरोवर, सागरको किनारमा विकसित भएका छन् । पुराना सहरहरु तथा प्राचिन संस्कृति र सभ्यता नदी किनारामा भएकाले मानिसको सम्बन्ध मानस संग रहेको स्पष्ट हुन्छ ।

मानसरोवरबाट पूर्व पश्चिम उत्तर दक्षिण भएर बग्ने नदीहरुमा ब्रह्मपुत्र, सतलज, इन्दु र मानसी (कर्णाली) नदीहरु पुराना तथा ठूलो नदीहरुमा पर्दछन् । ब्रह्मपुत्रलाई पुरुष नदीका रुपमा लिइन्छ । अन्य नदीहरु स्त्री लिङ्ग मानिन्छ ।

त्यसै मानस सरोवरबाट निस्केको इन्दु नदीलाई सिन्धु पनि भनिन्छ, जसलाई सिन्धुघाँटीको सभ्यता पनि भनिन्छ । त्यो सभ्यता मुलतः मानस सभ्यता संस्कृति हो । हिन्दु शब्दको उत्पत्ति यसै सिन्धु शब्दबाट भएको हो । सिन्धुघाँटीको सभ्यता संस्कृति, सभ्यता नै हिन्दु संस्कृति सभ्यता हो । सिन्धुको उत्पत्ति मानस क्षेत्र हो । त्यसैले समग्र हिन्दु सभ्यतालाई मानस सभ्यता भनिन्छ ।

मानस संस्कृति र माया संस्कृतिका बीच सदा संघर्ष चलिरहेको हुन्छ । समय समयमा माया सभ्यताले मानस सभ्यता माथि आक्रमण गर्ने प्रयास गरिरहेको हुन्छ ।

सत्ययुगमा हिरण्यकश्यपु र हिरण्याक्षका रुपमा माया सभ्यताका नायकहरु देखिए भने त्रेता युगमा मय दानवका छोरी ज्वाई रावण माया सभ्यताका नायक बनेर समुद्रको मार्ग हुदै भारतवर्षमा प्रवेश गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन । माया सभ्यताले मिथिला सभ्यता माथि कुदृष्टि नराखेको होइन । त्यसैले रावणले ऋषिहरुको करका रुपमा लिएको रगतको घडा जनकपुरमा गाडेको थियो । त्यसै मानसमा आएर स्वयं रावण तथा विभिषणले तपस्या गरेको थियो । मानसरोवर निकट रहेको राक्षस ताललाई लङ्कासर पनि भनिन्छ ।

अर्काे अर्थमा रावणले माया सभ्यतालाई विस्तार गर्न मानस सभ्यताको केन्द्र विन्दुको समिप आफ्नो वैकल्पिक राजधानी बनाएको थियो । मानस सरोवरबाट मानवीय सभ्यता र संस्कृतिको विकास र विस्तार भइरहेको परिप्रेक्ष्यमा माया संस्कृति र सभ्यताको प्रचार प्रसारका लागि स्वयं रावणले राक्षस ताललाई रोजेको थियो । मानसबाट मानिस जन्मिए भने राक्षसबाट राक्षस जन्मिएको कुरा पनि पुराणमा उल्लेख छ ।

मानस सभ्यता प्राचिन भएको हुनाले आज पनि मानसथलीमा वैदिकताका अवशेषहरु पाइन्छ । पूजा उपासना देखि लिएर खानपान बोली भाषामा समेत वैदिकताका बान्कीहरु भेटिन्छन् । यसआधार विश्वको सबै भन्दा प्राचिन सभ्यता मानस संस्कृतिबाट जन्मिएको स्पष्ट हुन्छ । हामी अहोभागी छौं । त्यही मानस संस्कृतिका हामी उपासक तथा अनुयायी हौ र रहने छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *