चुवाबी चहलपहल बढ्दो








जगदिश प्रसाद अवस्थी झलारी, २७ जेठ
कञ्चनपुरका विभिन्न स्थानहरुमा अषाढ १४ को स्थानिय निर्वाचनको चटारो उम्मेदवार तथा कार्यकताहरुलाई आइपरेको छ । वडा तथा नगरहरुका प्रमुखमा उम्मेदवारी दिएकाहरु अहिले जनताका घर आँगनमा गई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
शुक्लाफाँटा नगरपालिका समेत अहिले चुनावी माहौल तात्दै गएको पाइन्छ । यस नगरपालिकाबाट नगर प्रमुखमा उम्मेदवारी दिनेमा एमालेबाट रणबहादुर महरा तथा माओवादी केन्द्रबाट लोकेन्द्र ऐर छन् भने कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाइ सकेको छैन ।
वडा नं. ११ शुक्लाफाँटा नगरपालिकाको चुनावी मैदानमा समेत विभिन्न दलका व्यक्तिहरुले उम्मेदवारी दिएका छन् । यसमा माओवादी केन्द्रबाट भक्तराज जोशी वडाध्यक्ष सहितको प्यानल छ भने एमालेबाट दिल बहादुर बुढा सहितको प्यानल चुनावी मैदानमा रहेको छ । दुबै पक्षले चुनाबी कार्यक्रमहरु गर्दै आएका छन् ।
माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भक्तराज जोशी स्थानिय निर्वाचनले जनतामा हर्ष छाएको र उनीहरु निर्वाचनमा आफ्नो मत दिन ब्याकुल रहेको बताए । ‘ करिब दुई शताब्दी पश्चात हुन गइरहेको स्थानिय निकायको निर्वाचनमा मत दिन मतदाताहरु उत्साहित छन्,’ उहाँले भन्नुभयो, ‘हामीले मतदाताको घरदैलोमा गएर निर्वाचन सम्बन्धी जनचेतनाका साथै निर्वाचन विधि बारे समेत बताइरहेका छौं ।’ वडाका विभिन्न स्थानहरुमा चुनाबी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
शुक्लाफाँटा नगरपालिका मा मात्रै नभएर जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकामा विभिन्न दलहरुले आफ्नो चुनावी प्रचारप्रचार तिव्र बनाउँदै गएका छन् । जिल्लाका केही स्थानमा मात्रै कांग्रेसले उम्मेदवारी टुङ्गो लगाएको र अधिकांश स्थानहरुमा अझै प्रत्याशिहरुमा विवाद कायमै रहेकाले कांग्रेसको चुनावी कार्यक्र अरु दलको भन्दा फितलो रहेको पाइन्छ ।







