डिलाशैनी र मल्लादेहीको पहिरो त्यहाँको शोक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार बैतडी, २७ जेठ

बैतडी जिल्लामा दुई ठाउँ यस्ता छन् जसको भौगोलिक अध्ययन हुन सकेको छैन । बांगाबगरमा हेर्दा खेरी ढुङ्गैढुङ्गा भएको पक्की पहाड देखिन्छ । त्यो फुट्ला भन्ने कल्पना गर्न नसकिने भएपनि विगत वर्षहरुमा ठूलो पहिरो भई धनजनको क्षति परेको थियो भने मल्लादेहीमा पर्ने चिमडाको पहिरोेले घरखेल क्षति गर्दै लगेको ४ दशक भन्दा बढी हुन थाल्यो ।

अब त्यहाँ हेर्दा भयङ्कर पहिरो निरन्तर बगिरहेको देख्न सकिन्छ । त्यसको रोकथामको लागि नजिक नजिकमा यदि सडक पु¥यो भने निर्माण सामाग्री लगेर रोक्नको लािग कोशिस गर्न सकिन्छ । त्यसको अध्ययन गर्न बाँकी नै रहेको छ भने डिलाशैनीमा पर्ने बांगाबगरको हकमा पहाडको फेदमा खेती योग्य जमीन भएकाले थोरै परिवारको भएपनि बसोबास रहेको छ । दुई तीन वटा भवनहरु पहिरो भित्र दबिएका छन् । अझै पानी पर्दा ढुङ्गा खसिरहेको कारण त्यहाँका जनता त्रसित भएका छन् । त्यसको रोकथाम गर्ने उपाय खास देखिदैन । तैपनि खस्न बाँकी रहेका नाजुक ढिस्काहरु ब्लास्टिङ गरी नष्ट गरेपछि केही हद सम्म रोक्न सकिने अनुमान केही जानिफकारको रहेको छ ।

बैतडीकोे डिलासैनी गाउँपालिका गोकुलेश्वर बांगाबगरका बासिन्दालाई वर्षायाम नजिकिएसँगै पहिरोको चिन्ताले सताउन थालेको छ । वर्षौदेखि पहिरोले त्रसित स्थानीय बासिन्दा वर्षायाम लाग्न थालेपछि चिन्तित बनेका हुन् ।

बाढी–पहिरोबाट वर्षेनी खेतीयोग्य जमीन, घर, पशुचौपाया लगायत गुमाउँदै आएका स्थानीय बासिन्दा यस वर्ष चाँडै वर्षा सुरु हुने भएपछि झनै त्रसित बनेका छन् । यसअघि २०६४ सालमा बांगाबगरमा आएको पहिरोबाट ६ परिवार घरबार बिहीन हुनुका साथै कैयौं रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो ।

घरबार बिहीन भएका केही परिवार अझै आफन्तको घरमा शरण लिएर बसिरहेका छन् । त्यो बेलादेखि नै पहिरोबाट त्रसित बनेका स्थानीय अझै जोखिममा छन् । जमीन नै नभएका पीडित अझै पहिरोमुनि बस्न बाध्य छन् ।

हरेक वर्ष आउने पहिरोले गर्दा आफूहरु निकै विचल्लीमा पर्ने गरेको स्थानीय धनीराम भुलले बताउनुभयो । उहाँले गएको वर्षको असारमा आएको पहिरोले गोठमा रहेको ब्याउने गाई, एक हल गोरु लगायत पुरि दिएको गुनासो गर्नुभयो । उहाँको जस्तै दुखेसो स्थानीय काली भुलको पनि छ । उहाँ पनि गएको वर्षको पहिरोबाट घरबारबिहीन हुनुभएको थियो ।

पहिरोले घरबार बिहीन भएकाहरु अहिले स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको सहयोगमा निर्माण गरिएको टहरामा बसिरहेका छन् । माथिबाट पहिरो र तलबाट चमेलीया नदीको त्रासमा रहेका पहिरो पीडितलाई टहराको बसाई पनि सुरक्षित लागिरहेको छैन ।

बांगाबगर पहिरोले अहिले १५० रोपनी बढी खेतीयोग्य जमीन बगरमा परिणत गरिसकेको छ । १५ बढी परिवार घरबारबिहीन भएका छन् । बांगाबगर पहिरोले हरेक वर्ष महाकाली लोकमार्ग अन्तर्गत बांगाबगर सडक समेत अवरुद्ध हुने गरेको छ । बांगाबगरको पहिरो नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले केही पहल गरेको भएपनि पहिरो ठूलो भएकै कारण नियन्त्रण गाह्रो भइरहेको विपदको क्षेत्रमा काम गरिरहेको मर्सिकोरका जिल्ला कार्यक्रम संयोजक हेमराज भट्टले बताउनुभयो ।

बांगाबगर पहिरोको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन समेत गरेको छ । अध्ययनबाट बांगाबगर पहिरोको शिरमा भएको तालका कारण पहिरो आउने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । भित्री तहमा कमेरोयुक्त माटो भएकाले पनि यी ठाउँहरुमा पहिरोको जोखिम बढेको अध्ययनको निष्कर्ष छ ।

वर्षेनी पहिरोबाट आजित बनेका बांगाबगरबासी पहिरो रोकथामका लागि सामूहिक उखु खेतीमा लागेका छन् । हरेक वर्ष आउने पहिरोले खेतबारी बगाउन थालेपछि उनीहरु पहिरो रोकथामका लागि प्रभावित क्षेत्रमै उखु खेती गर्न लागेका हुन् ।

मर्सिकोर नेपाल र सामाजिक चेतना तथा विकास संघ साडाको सहयोगमा उनीहरुले ३९ रोपनीमा उखु खेती गरेका छन् । उखु खेतीले गर्दा केही हदसम्म पहिरो रोकिएको स्थानीय देव नाथले बताउनुभयो । उहाँले यस वर्ष ३९ रोपनीमा ८५ क्विन्टल उखु उत्पादन भएको जानकारी दिनुभयो ।
बांगाबगरको पहिरोबाट बस्तीलाई मात्र होइन त्यहाँ दार्चुला जाने सडक पनि रहेकोले कुनै दिन पहिरोबाट सवारी साधनमा क्षति हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ ।

त्यस्तै मल्लादेहीको चिमडाको पहिरोमा वर्षात्को समय अत्याधिक माटो बगिरहने मात्र नभई हर समय सुख्खा मौसममा पनि कमेरोवाला लेदो बगि जमाडी नदिमा जाने भएकाले त्यसबाट पनि त्यहाँको उर्वराभुमिमा बाढ लागि क्षति गर्ने सुंभावना मात्र नभई क्षति गरिरहेको हुदा त्यस तर्फ सरकारको तथा पूर्चौडी नगरपालिकाको ध्यान जानु पर्ने अत्यन्त जरुरी छ । हुनत पहाडी जिल्लाहरुमा हिन्दा हिन्दै पहिरो गएको थाहा हुदैन किनभने त्यो क्षेत्र नयाँ चट्टान भएकाले ज्यादै कमजोर स्थितिमा भएको हामी पाउँछौं । त्यो नयाँ चट्टानमा हमेसा पहिरो गइरहेको हुन्छ र क्षतिका संभावना धेरै हुन्छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *