निर्वाचनको महाभारत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–थानेश्वर प्रसाद भट्ट

स्थानिय तहको निर्वाचन पहिलो चरण सम्म पनि पुरा भएको छैन । २८३ मध्ये २८२ को मत परिणाम आउँदा भरतपुरको गिन्ति रोकिएको छ । त्यहाँका प्रमुख निर्वाचन अधिकृतको भनाइलाई सन्चार माध्यमहरुले उल्लेख गरेअनुसार मत गिन्ति स्थल रणभुमि जस्तै बनेको र ज्यान जोगाउन समेत कठीन रहेको परिस्थिति वर्णन छ । यसले विविध प्रश्नहरु खडा गरेको छ । त्यसैले निर्वाचनको महाभारतको ट्रेलर सम्म हो कि भन्ने आभाष भएको छ किनभने ४ प्रदेशको कठीन निर्वाचन बाँकी छ र दोस्रो खण्डमा यो हुनुको तात्पर्य हामी मदीसेहरुलाई ‘चानस’ दिनका लागि भनिएको हुनाले अझै पनि माग पुरा नभए आन्दोलनको धम्की यथावत छ । यो हामीहरु अर्थात् मदीसेहरुले नै दाबी गरेको विषय छ ।

लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

भरतपुर निर्वाचन परिणाम वार्ड नं. १९ को पुनरमतदान गर्ने विलम्बित निर्णयलाई श्री सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरी रोकेको छ । पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय कायम रहे दोश्रो निर्वाचनमा यस्ता घटनाहरु रणनीतिको हिस्सा बन्न संभव छ । गिन्ति गर्न भनिए पनि निर्विवाद हुने छैन । आफ्नो अनुकूल नहुने पक्षले जे पनि गर्न सक्नेछन् । छिमेकी हिन्दुस्तानमा पनि बुथ कैप्चरिङ्ग लगायत बाहुबल प्रदर्शन सामान्य जस्तै बन्ने गरेको छ । यसप्रकारका पुनरावृत्ति हुदै गरे वास्तविक जनमत असंभव जस्तै बन्ने छ । जर्मनीको वाइमर संविधानलाई एडोल्फ हिटलरले दुरुपयोग गर्दै नाजी संगठन खडा गरी दोश्रो विश्व युद्धको आधारभुमी बनेको इतिहास छ ।

ऐन कानून बनेर मात्र हुदैन त्यसको सार्थकता आम सर्वसाधारणको हक हितमा प्रयोग भएको छ वा निहित स्वार्थ र प्रष्ट देखिने बदनियतका साथ काम कारवाही हुन्छन् त्यसबाट नै सत्ताधारीहरुको नियत बुझ्न सहज हुन्छ । सुशिला कार्की विरुद्धको महाभियोग फिर्ता भएपनि त्यत्तिका जनप्रतिनिधिहरु लगायत सत्ताधारीबाट अमोख अस्त्र अकारण प्रयोग भयो होला भन्ने विश्वास योग्य हुन सक्तैन । जीवनभर कहिल्यै प्रत्यक्ष भेटघाट नभएको प्राणी प्रति यत्तिको दुराग्रह किन भएको होला ? जब कि आफ्नो चाहना कुनै पद नपाए वा अवसरबाट बन्चित पारिएको पनि अवस्था होइन ।

प्रस्ताव पारित हुनु नहुनु प्राविधिक पक्ष हो तर संविधानको व्याख्यातामा स्वयंले अवज्ञा गरे जगहसाइ कुन स्तर सम्म हुन्छ भनी सहजै बुझ्न सकिन्छ । अहङ्कार दंभका महाभारतका अनन्त श्रृङ्खला मध्ये यो पनि एउटा प्रतिकात्मक घटनाक्रम हो र समयले राज्यका समग्र अंगहरुलाई ‘कोमा’ मा पु¥याई सकिएको छ । प्रधान न्यायाधीशको पद रिक्त भइ सक्दा पनि परम्परा लत्याउँदै अझ सम्म सिफारिस हुन नसक्नु दुर्भाग्य पूर्ण अवस्था हो । त्यहाँ पनि कटुतापूर्ण द्वन्द सिर्जना भएको प्रष्ट देखिन्छ ।

३ वटा निर्वाचन गर्नु छ तर भाग लिने नलिने वा विथोल्ने धम्की र आतंक यथावत रहेको स्थितिमा आषाढ १४ मा हुने स्थानिय तह निर्वाचन सरल र सहज होला भन्न अझै स्पष्ट भइ न सकेको आम सर्वसाधारणको मानसिकता बनेको छ । प्रदेश गठनमा नै हिंसात्मक आन्दोलन भइ सकेका छन् । त्यसमा फेरबदल नहुदाँ प्रदेशको निर्वाचन कसरी होला नभए परिणाम के होला भयावह प्रश्न कायम छ । हिंसात्मक परिस्थिति सुरक्षा चुनौती अराजकताको पृष्ठभुमि बनिरहेको छ । आम सर्वसाधारणका लागि निकै कष्ठकर समय त आइ रहेको छैन ? अराजकताको परिणाम के सम्म हुन सक्ला ? के नेपालको अखण्डता, सार्वभौमसत्ता, शान्ति, स्थिरता कायम रहन सक्ला ? सामाजिक सौहाद्रता खलबलिएको छ ।

घर–घरमा तनाव सिर्जना भएको छ । राजनीति सत्ता स्वार्थले नाता रिश्ता गौण पारी दिएको छ । भाइ–भाइ, बाबु छोरा, ज्वाइ ससुरा खुलेआम प्रतिस्पर्धी मात्र होइन घृणा र वैमनश्यता पैदा गरेका खबर पढ्न पाइन्छन् । यस प्रकारको परिस्थिति सामाजिक सद्भावका लागि हितकर बन्न सक्तैन । निर्वाचनको महाभारत पटाक्षेप नभई भष्मासुर जस्तो हुने देखिन्छ । प्रत्याशिहरु टिकटका लागि आमरण अनसनमा समेत बसेका, दल बदल गरेका धम्कीका स्वरहरुबाट परिहासजनक अवस्था सहजै अनुभव गर्न सकिन्छ ।

यसप्रकारको हानथाप त्यसमा पनि तिसौं लाख खर्च गरेर निर्वाचनको महाभारतमा सामेल हुनुको निहितार्थ के होला ? यसलाई आम सर्वसाधारणले सहज रुपमा लिएको होला भनि कल्पना गर्न सकिदैन । यो त निर्वाचन पूर्वको स्थिति हो । परिणाम आएपछि जुन व्यापक अधिकार संविधानले दिएको छ त्यसको प्रयोग गर्न क्षमता रहला ? निर्वाचन सम्पन्न भएका स्थानहरुमा जनप्रतिनिधिहरुले गरेका प्रारम्भिक निर्णयहरुमा केन्द्रले रोक लगाई हस्तक्षेप गरी सकेको छ । स्रोत साधनको अभावमा सस्तो लोकप्रियताका लागि गरिने निर्णय कार्यान्वयन गर्न नसके कस्तो अवस्थाको सिर्जना होला ? यी र यस्तै कतिपय विषयहरु अनुत्तरित भएपनि सहज अनुमान गर्न कठिन छैन । क्षमता भन्दा ठूलो भारी बोकाउन खोज्दा बाहक नै समाप्त हुन कति समय लाग्ला ?

वर्तमान परिस्थितिमा राजनीतिज्ञहरुका दृष्टिकोण, क्षमता, नियत, सौहाद्रताको झलक व्यवस्थापिका संसदमा शिर्ष भनिएका स्वनामधन्य नेताजीहरुका वक्तव्यबाट प्रष्ट पारिएको हुनाले महाभारतको आधार भुमि बनेको प्रष्ट देखिन्छ । निर्वाचनको हारजीत भन्दा पनि नेपाल हार्ने त होइन ? हामी आम सर्वसाधारणमा यही त्रास व्याप्त छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *