सभ्यताको उत्पत्तिस्थल मानसखण्ड

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–आचार्य घनश्याम लेखक

पूर्विय वाङ्मयमा मानसखण्ड प्रदेशको जति चर्चा छ त्यसको विस्तृत अध्ययन हुन बाँकी नै छ । विश्वकै आदिम ग्रन्थ ऋग्वेद लगायतका वैदिक साहित्यमा मानसखण्डमा पर्ने मेरु र कैलाशको वर्णन गरिएको छ । यस आधारमा यो भुमि वैदिक भुमि हो भन्ने प्रमाणित हुन्छ । आर्य सभ्यता विश्वकै प्रथम सभ्यता हो । यस सभ्यतालाई सनातन सभ्यता भनिन्छ । सनातनीहरुको मुल धर्म आर्य हो । उनीहरु सिन्धु नदीको जलाधार क्षेत्रमा बसोबास गर्थे । सिन्धु नदी मुलस्रोत मानस सरोवर हो । त्यसैले सिन्धु नदीको आसपासमा बसोबास गर्ने मानिस हिन्दु कहलाइए ।

हिन्दुहरु आदिम मानस हुन् किनभने यिनको मूलथलो मानस हो । मानसमुल भाषीका हुनाले मानस कहलाइए । आर्यावर्तको उत्तरी भुभाग जो कैलाश सुमेरुको आँगनका रुपमा लिइन्छ त्यही भुखण्डलाई शास्त्रहरुमा मानसखण्ड अथवा मानसप्रदेश भनिएको छ । पुराण, स्मृति तथा इतिहासमा देवभुमि अलकापुरी स्वर्णप्रस्थ, यक्षपुरी, उत्तरापन्थ, श्रीखण्ड, गौरीगिरि भनिएको छ र शास्त्रहरुमा वर्णन गरिएको कैलास पर्वत नै मेरु÷सुमेरु पर्वत हो । यो पर्वत वैदिक तथा पौराणिक भाषा साहित्यको आधारशिला हो । पाणीनिय व्याकरणका अनुसार यही मानसभुमिमा शिवको डमरु÷हुड्कोबाट चौध सुत्र निस्किए । यिनै सुत्रहरु संस्कृत भाषा साहित्यका मुल हुन् ।

शास्त्रमा कैलास मेरु पर्वतलाई हिमालको राजा भनेको छ । हिमालयलाई पाँच भु–खण्डमा विभाजन गरिएको छ । मानसखण्ड, नेपाल खण्ड, काश्मीरखण्ड, जालन्ध्र खण्ड र केदार खण्ड ।

केदार खण्ड भारतको उत्तराखण्ड राज्य अन्र्तगत पर्दछ । यस खण्डका मुल देवता बद्री केदार हुन् । बद्रीनाथ विष्णु स्वरुप हुन् भने केदारनाथ शिव स्वरुप हुन् । भागिरथी, अलखनन्दा आदि यहाँका प्रमुख नदी
हुन् । जालन्ध्र खण्ड अन्र्तगत हिमाञ्चल प्रदेश तथा पंजाव आदि क्षेत्र पर्दछ । त्यस्तै काश्मिर खण्ड अन्र्तगत हालको जम्बु काश्मीर राज्य पर्दछ । यो क्षेत्र पनि शिव भुमिका रुपमा लिइन्छ ।

पुराणहरुले वर्णन गरेको नेपाल खण्ड हालको नेपाल राष्ट्र अन्र्तगत गण्डकी जलाधार क्षेत्र देखि कोशी जलाधार क्षेत्र सम्मको दिव्यभुमि पर्दछ । गण्डकी, कोशी, बागमती, त्रिशुली आदि यहाँका पावन तथा प्रसिद्ध नदी हुन् भने पशुपतिनाथलाई मुल देवताका रुपमा लिइएको छ । यसै खण्डका नामले मेची देखि महाकाली सम्मको हिमाल, तराई, पहाडको सम्पूर्ण भुभागको नाम नेपाल राष्ट्र रहन गएको हो । नेपाल एउटा सनातन राष्ट्र हो । यहाँको मुलमा योग, आयुर्वेद, वैदिक ज्ञान, ज्योतिष दर्शन रहेको छ ।

नेपाली माटामा सीताको बास छ । धर्ममा विश्वास गर्दै कर्म गर्ने जनकहरुले हलो जोत्दा जसको जन्म हुन्छ भने ढुङ्गामा नारायणको बास छ । नेपालको काली गण्डकीमा पाइने कालो ढुङ्गा यस्तो ढुङ्गा हो जो सनातन धर्ममा देशमा भएपनि नेपाल ढुङ्गा र माटोलाई अत्यन्तै श्रद्धाका साथ पुज्ने गर्छ । शालिग्राम शिलाका नामले दैनिक त्यो दिव्य ढुङ्गाको जल चाख्ने गर्दछ । यो भन्दा ठूलो सम्मान विश्वमा कुनै पनि धर्मले कसै क्षेत्रलाई दिएको छैन तर विडम्बना नेपालको संविधान २०७२ ले यो मर्मलाई बुझ्न सकेन । संविधान र संविधान निर्माता जनताका प्रतिनिधि हौ भन्नेले बुझोस् नबुझोस् सनातन नेपाली समाजले बुझेको छ । आज नभए भोली, भोली नभए पर्सी, एक न एक दिन नेपाल
राष्ट्रको परिचय सीता, शालिग्राम, योग, आयुर्वेद, वेद, दर्शन तथा मानसका आधारमा पुर्नलेखन पक्कै गरिएला । समय परिवर्तनशील हुन्छ ।

हिमलायका पाँच खण्डमध्ये जेष्ठ र श्रेष्ठ मानिएको मानसखण्ड पूर्वीय वाङ्मय तथा दर्शनको केन्द्र विन्दु हो । कैलास मेरुको आँगन हो । मानस सरोवरको जलाधार क्षेत्र हो । कैलाश मानसरोबर कै हिउँबाट चारैतिर चारवटा नदी प्रवाहित हुन्छन् जसले सम्पुर्ण दक्षिण एशिया लगायत भोट चीन क्षेत्रलाई समेत सिञ्चित गरेको छ । पूर्वमा ब्रह्मपुत्र जसलाई शिवको आसन भनिन्छ, पश्चिममा सतलज नदी जसलाई शिवको हाथी आसन मानिन्छ, उत्तरमा इन्दुजनदी जसलाई शिवको सिंआसन मानिन्छ तथा दक्षिण मानसी (कर्णाली) जसलाई शिवको मयूर आसन मानिन्छ ।

मानस सभ्यताको विकास र विस्तार नदी कै किनारबाटै विकसित भएको हो । प्राचिन जति पनि सभ्यता छन् ती सबै नदी किनारबाटै विकसित भएका छन् । यस आधारमा पनि मानव सभ्यताको विकास मरुस्थलबाट नभई मेरुस्थल अर्थात् मानसस्थलबाट भएको प्रमाणित हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *