निर्वाचन परिणामको संकेत








–थानेश्वर प्रसाद भट्ट
द्विविधाको बीचमा पहिलो चरणको निर्वाचन भएर मत परिणाम क्रमशः आइ रहेका छन् । प्रारम्भिक संकेतहरुले सुरुमा लगभग प्रष्ट पारेको देखिन्छ । सय भन्दा माथि पुगेका स्वनामधन्य दलहरुको अस्तित्व अन्तिम विन्दुमा छ । थ्रेस होल्डको कारण नानाथरीका पसल थापी बसेका मठाधीशहरुको पत्ता साफ होला जस्तो छ । अहिलेका लक्षणहरुबाट ३ दलको अस्तित्व प्रष्ट भएको छ । नेपाली कांग्रेस र एमालेको रोमाञ्चकारी युद्ध प्रतिस्पर्धा भइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । अहिलेको संसदीय संरचनामा पनि त्यही प्रकृतिको छ ।
कैयौं दलमा विभक्त रहेका साम्यवादीहरु दलको रुपमा जीवित रहन संभव लाग्दैन । वैकल्पिक शक्तिको दाबेदार चौथो ठूलो दल हुन पुगेको र एकिकृत दलका रुपमा स्थापित रा.प्र.पा. त हालै गठित विवेकशील र साझा दल भन्दा पनि न्यून विन्दुमा पुगेको छ । यस्तो किन भएको होला । निकै ठूलो समीक्षाको विषय हुन सक्छ । यसले आत्मसात गरेको हिन्दुत्वको मुद्दा त्यस्तै राजतन्त्र सहितको लोकतन्त्रका एजेण्डा बोकेर नयाँ विधान बनाएको भर्खरै दोस्रो वरियतामा रहेका उपप्रधान मन्त्री कमल थापा निकै शक्तिशाली राजनीतिज्ञका रुपमा स्वयंलाई संझे । संविधान संशोधन विषयमा दर्जन सांसदहरु अनुपस्थित हुदा राजाको निन्दा गर्दै राजतन्त्र नै नमान्ने धम्की दिएको सुनियो । परिणामतः साइजमा जे हुनु थियो भयो होला । सधै शीर्षमा रही रहन राजनीतिमा त्यो पनि नेपाल जस्तो मुलुकमा संभव हुने कुरै भएन ।
त्यसैले मौलिक एजेण्डा नै समाप्त पारी निर्वाचनमा जादा स्वभाविक परिणाम आएको कल्पना गर्न सकिन्छ । एमाले शक्तिशाली भएर अहिलेको निर्वाचनमा कांग्रेसको मुख्य प्रतिस्पर्धी बनेको छ र यसको पूर्वानुमान पनि भएकै हो । राष्ट्रियताको र स्वाधीन नेपाली समाजको मौलिक एजेण्डाले स्वयं एमालेलाई कोही बाँकी नरही एक क्षेत्र विजयको लक्ष बनाएको पूर्णतः पुरा हुन नसके पनि नेतृत्व क्षमताको परिक्षा भने सफल भएको मान्नु पर्दछ । कांग्रेस यत्ति प्रतिस्पर्धा गर्ला भन्ने अनुमान कमैलाई भएको होला । भारत परस्त सरकार निर्माण भएको भनि सत्ताधारी दलहरु माथि प्रहार भएपनि आमजन साधारणले त्यसलाई पूर्णतः स्वीकार गरेन । यद्यपि विपरित ध्रुवका गठजोड सफल देखिएन र आम मतदाताले त्यसलाई अस्वीकार गरेको अनुमान गर्न सकिन्छ ।
सरकार परिवर्तन, बजेट, दोसो चरणको निर्वाचन आदि महत्वपूर्ण विषय दमहीनार्के अन्तरालमा भइरहेका छन् । दोस्रो चरणको निर्वाचन यति सहज नहुन सक्छ र ३ दलको मात्र बर्चस्व रहीरहला भन्नु पनि कठीन छ । मधेश आधारित नेताजीहरुले निर्वाचनमा भाग नलिने मात्र होइन अवरोध गर्ने धम्की समेत दिने गरेका छन् । यस जटील विषयलाई वार कि पार हुन दिनु पर्दछ । मधेशी मुद्दा भनेर के विषय उठान गर्न खोजेको हो ? त्यो प्रष्ट हुनु पर्दछ किनभने म लगायत धेरै मदीशेहरुलाई अन्तरविरोध के मा हो र माग कसका लागि के हुन् ? भनेर थाहा छैन । एउटा अनुपम जानकारी मधेश सम्बन्धमा भएको छ । त्यो देवीप्यमान विषय भनेको पिछडिएका हेपिएका घरबार विहीन अछूत पशु भन्दा पनि तल मानिएका दलित जातिका मुसहर बस्तीलाई धुर्मुस सुन्तलीको जोडीले वास्तविक स्वर्ग लोकमा रुपान्तरित गरी दिएको महान मानवता लक्षित कार्यले त्यो जोडीलाई महामानवमा परिणत भयो । हाम्रा मदीसे स्वनामधन्य नेताहरु हो ! दाइजो घूसखोरी, छुवाछुत, जातपात, जातीय क्षेत्रियता सकीर्णताका विरुद्धमा आन्दोलन र माग राखेर हेर्नुस कसरी व्यक्तित्व र नाराले उचाई लिन्छ । पहाडे भगाओ भन्ने नारा दिएर जातिय द्वन्द, विखण्डनका गतिविधि, नेपाल एक देश भन्दा पनि द्वीराष्ट्रिय, बहुराष्ट्रियका नारा दिएर गरिने राजनीति दिगो रहन सक्तैन । त्यस्ता षडयन्त्रका चक्रव्यूहले भष्मासुर बनाउने तर्फ सचेत रहदा उचित होला ।
आउँदो निर्वाचन कठीन हुने आशंका केही हद सम्म विचारणीय हुन सक्छ तर निर्वाचन त चाहिएकै छ र जनतामा कसको हैसियत के भन्ने आत्म परिक्षणबाट पलायन भएमा वा हिंसात्मक गतिविधि भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले अस्वीकार गर्न नैतिक रुपमा पनि संभव हुने छैन । समय पनि छ र जनताको चाहना के रहेछ त्यसको प्रष्ट तस्वीर निर्वाचन नै हो भन्ने यथार्थ पहिलो चरणको मत परिणामले स्पष्ट पारेको छ । यद्यपि अनपेक्षित रुपमा बढी नै मत बदर भएछन् तथापि सद्दे मत परिणाम स्वभाविक स्पष्ट देखिएका छन् । आउदा दिनहरुमा नानाथरी रुपरंग नामका दलहरु समाप्त हुने निश्चित छ । कल्पना नै नगरेका भाग्यमानी राष्ट्रध्वज
फहराउन सफल भएपनि त्यस्तो आगामी दिनहरुमा सायद स्पष्ट रुपले असंभव नै हुन सक्छ । निर्वाचन मत परिणामले धेरै संकेत गरेको छ र अझ विश्वास गर्ने आधार देखिएका छन् । नसिबले कसलाई कहाँ पु¥याउला त्यो त जटील विषय हुनुपर्दछ ।







