कवि भवानी दत्त चटौत र विश्व साहित्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आचार्य घनश्याम लेखक ।

वेदपुराण तथा पूर्वीम वाङ्मयको आधार स्तम्भ देवभुमि मानसखण्ड समस्त आर्यजगतका लागि बन्दनिय भुमि हो । जुन ठाउँलाई आज कुर्मुलेको डाँडो भनिन्छ त्यसलाई संस्कृत साहित्यमा कूर्म पर्वत भनिन्छ जहाँ भगवान नारायणीले कछुवाको अवतार लिएका थिए । तेत्तिस कोटी देवताको निवास भएको यस क्षेत्रलाई मानसखण्ड पुराणले देवतट भनेको छ ।

यसै देवभुमिमा पर्ने दिव्यावती डुँङरी यस्तो पुण्यभुमि हो जसको पूर्वमा उग्रतारा भगवती, पश्चिममा भागेश्वर, उत्तरमा डागेश्वर, दक्षिणमा घटाल देवताको पावनधाम रहेका छन् । डुँङरीले नेपालको राष्ट्रिय राजनीति, धर्म, साहित्य, संस्कृति, समाज एवं प्राज्ञिक तथा प्रशासनिक क्षेत्रमा ठूलो योगदान रहेको छ । त्यसैले मलाई भन्न मन लाग्छ कि ‘दिव्यावती नाम सार्थवती वभूव’ अर्थात् विविध क्षेत्रका विशिष्ट एवं दिव्य व्यक्तित्वहरुको जन्मथलो भएको हुनाले दिव्यावती (डुङरी) नाम सार्थक हुन पुगेको छ । त्यही दिव्य भुमिले कला र गलाका धनी जसको कलमले काव्य र वाणीले आध्यात्मिक एवं न्यायिक आदर्शको पाठ सिकाएको छ यस्ता दिव्यात्मा भवानीदत्त चटौत शास्त्रीलाई सन्तानका रुपमा पाएको छ र डुँङरी दिव्यावतीमा जन्मिनु भएका कवि भवानीदत्त चटौत ग्राम प्रधानपञ्च देखि पुनरावेदन अदालतको रजिष्ट्रर जस्तो गरिमामय पदमा पुग्नु भएको छ । पुराणका प्रखरवक्ता विभिन्न पुराणहरुलाई नेपाली राष्ट्रभाषामा सरल र बोधगम्य तरिकाले अनुवाद गर्न सक्नु उहाँको विशेषता हो । परम्परागत ज्ञान पेशागत अनुभव साहित्य लेखन समाज सेवा गर्दै एक दर्जन भन्दा बढी कृतिहरु प्रकाशित एवं अनेक कृतिहरु अप्रकाशित गरेर आफूलाई सफल साहित्यकार सिद्ध गरेका छन् ।

कवि चटौत मुलतः आदर्शवादी, छायावादी, अध्यात्मवादी, संस्कृति प्रेमी, अनुवादक, दार्शनिक एवं मानसखण्ड क्षेत्र प्रति अत्यन्त प्रेम गर्ने सच्चा साहित्यकारका रुपमा देखा परेका छन् । ‘गौरापर्व’ सांस्कृतिक काव्य हो भने ‘जीवन जिज्ञासा’ दार्शनिक काव्य एवं ‘भागेश्वर दर्शन’ भक्तिकाव्यको उत्कृष्ट नमुना प्रकाशित गरेका छन् भने भवानी सप्तशती, श्रीमदभागवत, श्रीदेवी भागवत, शिवपुराणको भावानुवाद गरिएका कृतिहरु रहेका छन् । ‘सप्ताह यज्ञविधानम्’ संस्कृत भाषामा लेखिएको उत्कृष्ट कर्मकाण्डको पुस्तक हो । विशेषतः यी सबै विधा र परम्परा भन्दा भिन्न पद्यशैलीमा लेखिएको ‘विश्व साहित्य दर्पण’ अद्वितिय नव्य काव्य हो । यो कृति विश्व साहित्यको गवाक्ष (भेन्टिलेसन) अर्थात् आँखीझ्याल हो जसमा विश्वका स्थापित तेह्र देश अर्थात् भाषा साहित्यको इतिहासलाई चियाउन सकिन्छ । यस कृतिमा संस्कृत, अंग्रेजी, नेपाली, हिन्दी, पाली, प्राकृत, उर्दु, अरवी, गीक, चिनी, जापानी आदि भाषाको उत्पत्तिको संक्षिप्त इतिहास समेटिएको छ ।

सम्बन्धित भाषाका साहित्यकार तथा कृतिहरुको लघुपरिचय गराउनु कृतिकार काव्य दक्षताको परिचय हो । कविवर चटौतको काण्डन र काव्यज्ञानको विशिष्टता प्रस्तुत काव्यमा प्रष्ट देख्न सकिन्छ । विश्व साहित्य दर्शन नामाकरण गरेर काव्यलाई सर्वग्राह्य बनाएको देखिन्छ । काव्य तथा विश्व साहित्यलाई देखाउने अर्थमा विश्व साहित्य दर्शन नाम प्रयोग भएको देखिन्छ । पूर्वाद्ध र उत्तराद्र्ध गरी दुुई भागमा वर्गिकरण गरिएको यो कृति अत्यन्तै पठनीय देखिन्छ । नेपाली साहित्यका प्रारम्भिक कवि गोल्हज देखि गणतान्त्रिक पुस्ताका कविले स्थान पाएको छ । विद्यालय स्तरका पाठ्यपुस्तक सामेल हुन सक्ने सम्भावना बनेको कृति नेपाली मूल विषय वा सनातन एवं परास्नातक विद्यार्थीका लागि अत्यन्तै उपभोगी देखिन्छ ।

अन्त्यमा आदर्श कवि भवानीदत्त चटौत द्वारा लिखित ‘विश्व साहित्य दर्शन’ लाई काव्य ग्रन्थ भन्दा पनि कवि एवं काव्य रच्न सिकाउने अमूर्त शिक्षक भन्दा अन्यथा नहोला । नेपाली काव्यशास्त्रको इतिहासमा यो कृति आफैमा एक इतिहास हो । नौलो प्रयोग हो । छन्दमा पारखी देखि छन्द रचनामा वामेसर्दै गएका दुबैका लागि अत्यन्तै उपयोगी देखिन्छ । पूर्वाद्ध खण्डमा आठ शीर्षकमा तीन सय सत्तरी श्लेक र उत्तराद्र्ध खण्डमा तेह्र शीर्षकमा पाँच सय छत्तीस श्लोकले आवद्ध यस कृतिमा नेपाली साहित्य दर्शनका लागि एक सय सत्र श्लोक प्रयोग गरिएका छन् । बहुउपयोग काव्य ग्रन्थका रुपमा रहेको छ ।
(लेखक आध्यात्मिक प्रवक्ता एवं मानस चिन्तक हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *