मानसखण्ड प्रदेश ! नाम, अर्थ र सीमाङ्कन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–आचार्य घनश्याम लेखक

नन्दापर्वतमारभ्य यावद् काकगिरिसमौ, नावद्बै मानसखण्ड ख्यायेत नृपसत्तमः । कालीकुमाउँको नन्दापर्वत देखि सप्त कर्णालीको काकगिरि काकहिमाल सम्म एवं कैलास मानसरोवर देखि कैलाली कञ्चनपुर सम्मको समग्र भु–भाग मानसखण्ड प्रदेश अन्र्तगत पर्दछ ।

कैलास मानसरोबरबाट दक्षिणतिर प्रवाहित हुने नदीहरु मध्ये शारदा (महाकाली) एवं मानसी (कर्णाली) जलाधार क्षेत्रको भौगोलिक इतिहासको अध्ययन अन्वेषण गर्दा यी दुबै नदीको मुल स्रोत मानसरोवर देखिन्छ । यस आधारमा काली कर्णाली बीचको भु–भागलाई मानस क्षेत्र भनिन्छ । पुराण तथा ऐतिहासिक ग्रन्थहरुमा यस देवभुमिका लागि मानसखण्ड शब्द नै प्रयोग भएको पाइन्छ । मानसरोवर संग सम्बन्धित भएकाले मानसभुमि पनि भनिन्छ । मानस शब्दको अर्थलाई केलाउँदा मनस शब्दबाट बनेको देखिन्छ ।

मनसबाट उत्पन्न अथवा मनसंग सम्बन्धित क्षेत्र मानस हो । सृष्टिको आदि यो सम्पूर्ण क्षेत्र जलमय थियो सागरका रुपमा थियो जसको पूर्विय तटमा काकगिरि, पश्चिमीतटमा नन्दापर्वत पर्दथे भने उत्तरमा कैलास मान्धाता पर्वत र दक्षिणमा ब्रह्नगिरि पर्वत पर्दथे । समुद्रको समान यो सरोवर समेरुको नजिक पर्दथ्यो जहाँ पहिलो चोटि मानसको सृष्टि भएको थियो । मानसी सृष्टिको थलो भएकाले यहाँका संस्कृतिलाई मानसी संस्कृति भनिन्छ । मानसको जन्म भएको तटलाई मानसरोवर भनिन थाल्यो ।

हजारौं वर्ष सम्म लुप्त रहेको बृह्त मानसरोवर क्षेत्र राजा मान्धाताले पहिलो पटक प्रकाशमा ल्याएका थिए । मानवलाई बस्न लायक बनाए । त्यस सागरको पानी पूर्वमा ब्रह्मपुत्र, पश्चिममा सिन्धु, उत्तरमा सतलज एवं दक्षिणमा मानसी (कर्णाली) नदीका माध्यमबाट बाहिर गरियो । त्यसै मानस सागरको वरपरको उर्वरक क्षेत्रलाई मानसखण्ड भनिन थाल्यो ।

रामायण तथा महाभारत कालमा मानसखण्डको व्यापक प्रचार प्रसार भइसकेको पाइन्छ जसको उदाहरणका रुपमा बाल्मिकी रामायणमा एउटा प्रसङ्ग आएको छ । सीताजीको खोजी गर्ने क्रममा पूर्व पश्चिम उत्तर दक्षिण तिर बानर सेनालाई पठाइयो । जसअनुसार उत्तरतिर पठाइएका सेनालाई सम्बोधन गर्दै श्रीराम भन्नुहुन्छ – वनस्पति इत्यादि केही नभएको, सम्पूर्ण इच्छा पुरा गर्ने, चराचुरुङ्गीहरुको बासस्थान जहाँ देवीदेवता राक्षस एवं मानवको पनि गति छैन त्यो पर्वत नै मानस पर्वत हो ।

त्यसका बगर सम्म जानु, त्यहाँ भन्दा अगाडी नजानु जान सकिदैन, भनेर सेनाहरुलाई उपदेश दिएर पठाएका थिए । यस प्रसङ्गले वाल्मीकि रामायणमा समेत मानस शब्द प्रयोग भएको स्पष्ट छ भने बृहदारण्ड उपनिषद्मा समेत मानस शब्द प्रयोग भएको छ । यस आधारमा मानस शब्दको प्रयोग वैदिक कालबाट नै काली कर्णाली क्षेत्रका लागि प्रयोग भएको पाइन्छ ।

मानसखण्ड प्रदेशका लागि उत्तरापन्थ, उत्तरगुरु, उत्तरकौशल, मेरु क्षेत्र यक्षदेश मानसप्रदेश मानसक्षेत्र, मानसपन्थ, मानसाञ्चल, मानसलोक, मानसोत्तर आदि अनेक पर्यायवाची शब्दहरु प्रयोग भएका हुन् । विक्रमको एघारौं शताब्दी सम्म लोक जनमानस एवं लोकबोलीमा मानसखण्ड शब्द स्थापित भइसकेको पाइन्छ । पछि कत्युरीराज, जुम्ला सिञ्जाराज्य, खादी प्रदेशमा नयाँ राज्यको उदयका साथसाथै मानसखण्डको राजकीय प्रयोग पनि समाप्त भएको पाइन्छ ।
जनजिब्रोमा मानसखण्ड शब्द प्रयोग नभएपनि संस्कृति वाङ्मय एवं प्राज्ञिक क्षेत्रमा भने मानसखण्ड शब्द जीवित रही रह्यो । रामायण महाभारत, पुराण एवं संस्कृत काव्यमा प्रयोग भएको मानस शब्दले यस कुराको पुष्टि गर्छ । अत्यन्तै पवित्र देवभुमिका रुपमा मानसखण्डलाई लिइन्छ । प्राकृतिक बनोटका आधारमा पनि काली र कर्णाली बीचको दिव्य क्षेत्र नै यसको मूलभूत भुमि हो ।

देवीदेवता, ऋषिमुनी, यक्ष, नाग, किन्नरको पावन क्षेत्र हो । श्रीदेवीको मुल निवास मानसक्षेत्र नै हो । त्यसैले आज सम्म पनि गौरादेवीको पूजा गरिन्छ । यस आधारमा मानसप्रदेशको पौराणिक इतिहास अत्यन्तै श्रद्धा गर्न लायक रहेको छ ।
(लेखक आध्यात्मिक प्रवक्ता तथा मानस चिन्तक हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *