चुनावी सुरक्षाका लागि सरकारको चुस्त तयारी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, ०९ बैशाख ।

मधेसवादी दल चुनावमा सहभागी भएनन् भने पनि उनीहरुको सघन प्रभाव भएको मानिएका तराईका जिल्लामा चुनाव रोकिने छैन । किनभने, प्रदेश नंबर २ मा पनि चुनावको उत्साह बढ्दै जान थालेको र खासै सुरक्षाको चुनौति नरहेको सुरक्षा निकायको ठम्याई छ । बरु सुरक्षा निकायले त, मधेसवादी दल भन्दा अरु नै खाले सुरक्षा चुनौति रहेको विश्लेषण गरेको छ र त्यसैका आधारमा चुनावी सुरक्षा योजना बनाएको छ ।

सुरक्षा बिश्लेषकहरुका अनुसार, आगामी चुनावमा मुख्यतः ५ वटा सुरक्षा चुनौति छन् । पहिलो हो सीमा नाकाबाट हुन सक्ने घुसपैठ । चुनावको बेला भारत र चीन जोड्ने नाका बन्द त गरिन्छ नै, तर पनि सीमानाकाबाट चुनाव विथोल्ने गरी घुसपैठ हुन सक्ने सुरक्षा निकायको बुझाई छ ।

चीनतर्फ जोडिएका नाकाबाट भन्दा भारतसँग जोडिएका नाका, त्यसमा पनि २ नम्बर प्रदेशमा यस्तो चुनौति बढि हुन सक्छ । यसअघि मधेस आन्दोलनको बेला पनि भारतीय सीमा नाकाबाट घुसपैठ भएको भन्ने चर्चा चलेका कारण अहिलेको चुनावमा मधेसवादी दल सहभागी नहुने हो भने त्यस्तै सम्भावना रहेको सुरक्षा निकायको आँकलन छ ।

सीमा नाकाबाट हुन सक्ने सम्भावित घुसपैठलाई रोक्न त्यसै अनुसारको सुरक्षा योजना बनाइएको छ ।

दोस्रो चुनौति हो पार्टी पार्टी्बिचको द्वन्द्व । यसअघिका चुनावमा पनि ठाउँठाउँमा पार्टी–पार्टी्बिच झडप र झगडा हुने गरेको हो । अरुबेला त्यति वास्ता नभए पनि चुनावको बेला म फलानो पार्टीको, त ढिस्कानो पार्टीको भनेर आरोप प्रत्यारोमा उत्रने प्रवृत्ति गाउँटोल सम्मै पुगेको देखिन्छ ।

२०४८ को आमचुनाव र २०४९ को स्थानीय चुनावमा धेरै गाउँठाउँमा कांग्रेस र एमालेका कार्यकर्ता्बिच मेलापात र भारोपर्म नै बन्द भएको थियो । जसरी पनि आफ्नो पार्टीलाई जिताउने दाउमा लागेका कार्यकर्ता्बिच यो चुनावमा पनि तनाव र द्वन्द्व हुन सक्ने आंकलन गरिएको छ ।

उम्मेदवार उम्मेदवार बीच हुने द्वन्द्व र प्रतिस्पर्धामा जे पनि गर्ने उम्मेद्वारलाई पनि सुरक्षा निकायले सुरक्षा चुनौतिका रुपमा बिश्लेषण गरेको छ । दलगत स्वार्थभन्दा व्यक्तिगत टकरावको द्वन्द्वमा अझ बढि जोखिम किन हुन्छ भने यस्ता झगडामा जात, जाति र धर्मका कुरा पनि जा्ेडिन सक्छन् । उम्मेदवार आफै झैझगडामा नउत्रिए पनि उनीहरुका कार्यकर्ताले तनाव सिर्जना गर्न सक्छन् ।

हुन त पछिल्ला चुनावहरुमा कतिपय उम्मेदवारले मिलेरै घरदैलो कार्यक्रम गरेको पनि देखिएको हो । तर एक उम्मेदवारले अर्को उम्मेदवारलाई गालीगलौज मात्रै नभएर हातपात गरेका उदाहरण पनि छन् । भोट माग्न जाँदा उम्मेदवारको हत्या भएको घटना पनि धेरैलाई ताजै छ । यो चुनावमा यस्तो अवस्था आउन नदिन सुरक्षा निकाय सचेत भएको छ ।

नेत्रविक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी, सिके राउत र मधेसका भूमिगत समूहले चुनाव बिथोल्न सक्ने आंकलन पनि सुरक्षा निकायले गरिसकेको छ । मधेसी दलभन्दा पनि उनीहरु बढि चुनौतिको रुपमा देखिएका छन् । यी समूहले कतिपय ठाउँमा विष्फोट गराएर जनमानसमा त्रास फैलाउने योजना समेत बनाएको सुराकी सुरक्षा निकायले पाइसकेको छ ।

चुनावको दिन ‘लोकल गुण्डा’हरुको चुनौति झन् धेरै हुन सक्छ । कतिपय उम्मेदवारहरुले अर्को पार्टीका मतदातालाई मतदान केन्द्रसम्म पुग्न नदिने योजना अनुसार ‘लोकल गुण्डा’ को प्रयोग गर्न सक्छन् । यसअघिका चुनावमा पनि कतिपय ठाउँमा यस्तै घटना भएको थियो । मतदातालाई डर, त्रास र धाकधम्की दिएर मतदान केन्द्रसम्म पुग्नै नदिने सम्भावना समेत सुरक्षा निकायको बिश्लेषणमा परेको छ र त्यो चुनौति सामना गर्ने रणनीति पनि सुरक्षा निकायले तयार गरेको छ ।

यी सबै सुरक्षा चुनौतिको विश्लेषण र आकस्मिक अवस्थामा परि आउने सुरक्षा थे्रटको सामना गरि चुनाव सफल बनाउने काममा सुरक्षा निकायले गस्ती बढाउँदै लगेको छ । सरकारले बनाएको सुरक्षा योजना अनुसार भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी तथा मतदान केन्द्र र मतपेटिकाको सुरक्षाका लागि नेपाली सेना बाहिरी घेरामा खटिनेछन् ।

चुनाव पहिले, चुनावको अवधि र चुनावपछि गरी तीन चरणमा सुरक्षा व्यवस्था मिलाउने काम गृह मन्त्रालयले गरेको छ । चारवटै सुरक्षा निकायले पनि यसैगरी योजना बनाइसकेका छन् । सुरक्षा निकायले बनाएको योजना अनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी सँगै जनपद प्रहरी पनि हुनेछन् । बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछन् ।

त्यसभन्दा बाहिर नेपाली सेनाले मतदान केन्द्र र मतपेटिकाको निगरानी गर्नेछ । चुनावको दिन सबै मतदान केन्द्रको निगरानी केन्द्रबाट समेत हुनेछ । केन्द्रमा नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले छुट्टाछुट्टै रुपमा चुनावको अनुगमन गर्नेछन् र परेको ठाउँमा आवश्यकता अनुसार सुरक्षा दिनेछन् भन्ने विभिन्न समाचार माध्यमबाट प्रकाशमा आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *