संसारका सबै धर्महरुको मुल सनातन हिन्दु धर्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-आचार्य घनश्यम लेखक

हिमाल जस्तो व्यापक, अविचल, पवित्र एवं सिन्धु जस्तै गहिरो, धीर–गम्भीर सनातन विचारधाराको नाम हिन्दु धर्म हो । हिन्दु कुनै अमुक व्यक्ति द्वारा अमुक उद्देश्यका लागि अमुक स्थानमा स्थापना गरिएको मुर्ति होइन । यो त सनातन, सार्वभौम, स्वतन्त्र, सर्वतन्त्र, सर्वमूल जीवन पद्धति हो । मानव जीवनको यथार्थको दर्पण हो । जीवन जिउने कलाको नाम हिन्दु धर्म हो ।

हिंसा हत्याबाट सधै दूर रहने चिन्तन नै हिन्दु चिन्तन हो । मानवको मूल धर्म तथा कर्तव्यको अर्काे नाम हिन्दु हो बाँकीका त पन्थ हुन् बाटा हुन् । संसारका सबै धर्मको अन्तिम गन्तव्य तथा मुलस्रोत सनातन हिन्दु हो ।
धारणालाई धर्म भनिन्छ । मानवको मूल धारणा सनातन हिन्दु परम्पराको बाटो भएर निस्कन्छ । हिन्दु संग सनातन शब्द जोडिन्छ । सनातन भन्नु र हिन्दु भन्नु एउटै हो । यी दुबै शब्द पर्यायवाची शब्द हुन् । सनातन त्यो हो जो प्रकृति प्रदत्त छ ।

जसलाई कसैले बनाएको होइन मानव द्वारा निर्मित नभएको वस्तु सनातन हो । त्यसको उपयोग र सदुपयोग गर्ने चेतना सनातन हिन्दु चेतना हो ।
संसारमा जति पनि धर्म छन् ती कुनै एउटा कालमा कुनै एउटा व्यक्तिले कुनै एउटा उद्देश्य पूर्तिका लागि स्थापित गरेका देखिन्छन् । त्यो पनि कुनै एउटा पुरुषले तर सनातन हिन्दु प्रकृतिको धर्म हो । यसमा पुरुष देवता पनि छन् स्त्री देवता पनि छन् ।

यहाँ सम्म कि पशु आकृतिका पनि छन् । यही विचित्रताले हिन्दु धर्मलाई समावेशी धर्म भनिन्छ लोकतान्त्रिक धर्म भनिन्छ । कुनै एउटा लोग्ने मानिसले स्थापना नगरेको हुनाले यसमा स्वतन्त्रता छ स्वायत्तता छ तर स्वच्छन्दता छैन, उच्छि«ङ्खलता छैन । मर्यादाको दिवारले धर्मलाई बाँधेको छ । प्रकृतिमा जति पनि रहस्यमय वस्तु छन् ती सबै सनातन हिन्दुले आत्मसात गरेको छ । सूर्यको उपासना, चन्द्रमाको आराधना, अग्निको पूजा, जलको सम्मान, प्रकृतिको सुरक्षा हिन्दु धर्मको देन हो । दुनियाका अन्य धर्महरुले एउटा एउटा हाँगा समातेको छ ।

कसैले चन्द्रमा (चाँद), कसैले अग्नि, कसैले अहिंसा त कसैले सेवा (परोपकार)लाई अँगालेको छ तर सनातन धर्म त्यो सागर जसले सबैलाई देवता मानेको छ । ईशावास्या मिदं सवं यद्किञ्चाज्गत्यां जगत् । यो सबै संसार ईश्वरको दृश्यमान रुप हो । ढुङ्गा होस् चाहे माटो पानी होस् चाहे हावा, आकाश होस् चाहे पाताल सबैमा परमात्माको बास छ । त्यसैल े तुलसी, पीपल, वरलाई पुजिन्छ ।

ढुङ्गालाई शालिग्राम र लिङ्ग बनाएर पुजिन्छ । चन्दन होस् सिउँडीको बारे होस् दुबैको सम्मान छ । यी दुबै रुख भित्र रहस्य लुकेको छ । शङ्ख एउटा किरा हो, गङ्गमाटी माटो हो, बेसार (हल्दो) को धुलो सिन्दुर हो, यो कुरा सबै चेतनशील व्यक्तिलाई थाहा छ तर स्वीकार सनातनीले मात्र गरेको छ । योग स्वास्थ्यका लागि हो, यो हिन्दुको मात्र होइन यो त मानव जीवनको अमुल्य निधि हो तर अपनाएको छ हिन्दु धर्मले ।

त्यसैले मलाई भन्न मन लाग्छ दुनियामा जहाँ जहाँ रहस्यमय वस्तु छन् त्यहाँ त्यहाँ हिन्दुत्वको चेतना पुगेको छ । हिन्दु चिन्तनबाट र जीवनबाट कुनै कुरा छुटेको छैन । विज्ञानको कसौटीमा यदि कुनै धर्म खरो र दरो भएर उत्रन सक्छ भने त्यो सनातन हिन्दु धर्म मात्र हो । पराविज्ञानको प्रयोगशालामा परावैज्ञानिक (ऋषिआत्मा) द्वारा परिक्षण गरिएका सिद्धान्तहरुको जीवन्तकृति वेद हो, उपनिषद् हो, पुराण हो एवं रामायण र महाभारत हो ।

हिन्दूत्वका क्रियाकलापहरु अनुभव र अनुभवमा आधारित छन् । त्यसैले यहाँ देवीदेवता स्वयं आफै आउँछन् । अन्य धर्ममा रसूल अथवा देनदूतका रुपमा महापुरुषहरु आउँछन् । यही विशिष्ट विशेषता सनातन हिन्दु धर्ममा छ जहाँ सन्तानको कष्ट दुर गर्न स्वयं भगवान आउँछन् । जसरी बालकको दुःख देखेर आमाबाबुले नौकर चाकर वा अन्य कसैलाई नपठाई स्वयं आफै उपस्थित भएर दुःख कष्ट दुर गर्ने उपाय गर्छन् ।

यो सिद्धान्त सार्वभौम सत्य हो । यस आधारमा संसारका सबै धर्महरुको मूल सनातन हिन्दु धर्म हो ।
(लेखक आध्यात्मिक प्रवक्ता तथा मानस चिन्तक हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *