एकसरो लुगा र पेट पाल्न मुग्लान जानुपर्ने बाध्यता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वीर सिंह ऐर
महेन्द्रनगर, २२ कात्तिक
घरमा परिवारको एकसरो लुगा र दुई छाक पेट पाल्नको लागि मुग्लान तिर जानुपर्ने बाध्यता रहेको छ । विशेष गरेर सुदूरपश्चिम प्रदेशमा रोजगारीको सिलसिलामा भारत जानेको संख्या अत्यधिक रहेको छ । आफ्नो खेतबारीको अन्नले गुजरा गर्न मुस्किल परेपछि भारतको बाटो रोज्नुपर्ने यहाँका जनताको बाध्यता रहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को भयावह परिस्थितिबाट बाबजुद पनि आफ्नो र परिवारको पेट पाल्नकै लागि भएपनि ठूलो जोखिम मोलेर भारतमा मजदुरी गर्न जानु परेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरु बढी जसो खेतीपातीबाट वर्षमा ६ महिनासम्म पनि खान नपुग्ने अवस्था भएकाले परदेशको भूमिमा जोखिम मोलेर भएपनि काम गर्नु परेको तितो यथार्थ रहेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरका जनताले अव मजदुरीको लागि भारत जानुपर्ने बाध्यता हटाउँछु भनेर घोक्रो सुक्ने गरी भाषण गरेको
कुरा अहिले पनि प्रत्येक नेपालीको कानका गुन्जिरहेको छ । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका सम्पूर्ण मजदुरहरुको व्यवस्था प्रदेश सरकारले गर्छ, रोजगारीको
ग्यारेन्टी गर्छौ भनेर प्रत्येक सभा समारोहमा भन्ने गरेको तर कुनै किसिमको समाधान नभएको मजदुहरुको भनाई रहेको छ । प्रदेश सरकारले अहिलेसम्म मजदुर तथा बेरोजगार युवाको लागि स्वरोजगारका कामहरु अगाडि बढाउन सकेको छैन । स्वरोजगारको नाममा हुनेखानेले मात्रै रोजगारको अवसर पाउने गरेको व्यापक जनगुनासो आएको छ । सुदूरपश्चिमका विभिन्न नाकाहरुबाट नेपालीहरु मजदुरीको लागि हजारौंको संख्यामा सिमा पार गरिरहेका छन् ।
कञ्चनपुरको गड्डाचौकी नाका तथा कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट मात्रै हेर्ने हो भने दैनिकजसो सयौंको संख्यामा भारत पसिरहेका छन् । चाँडपर्वको बेलामा पनि विदेशिन बाध्य छन् नेपालीहरु ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–७ करैचाका शालिभान सिंह धामी नजिकै आइरहेको भाइटीका छोडेर उनी भारतको राजधानी दिल्लीतिर लागेका छन् । कैलालीसँग सिमाना जोडिएको भारतको गौरीफन्टा बोर्डरमा लाइन लागेका धामी भन्छन् ‘परिवारसँग दसैं मनाउन पाइयो, भाइटीकाभन्दा भोक प्यारो भयो ।’ उनले घरमा नुन तेलको पनि समस्या नटरेपछि भारत जान लागिएको बताए । कोरोनाका कारण लकडाउन हुने हल्ला चलेकै बेला चैतको पहिलो हप्ता दिल्लीबाट घर फर्केका उनले, नेपालमा सामान्य मजदुरीसमेत नपाएको बताए । ‘पहिला पहिला निर्माण मजदुरको काम त पाइन्थ्यो, लकडाउनपछि धेरै युवाहरू घर फर्किए त्यही काम पनि पाउन मुस्किल भयो । त्यसैले भारत जानुको विकल्प देखिनँ,’ उनले भने । उनी सँगै भारत गईरहेका नरेश सिंह ऐरको पनि पिडा त्यस्तै छ, घरमा खान लाउन र एकसरो लुगा लगाउन पनि धौधौ परिरहेकाले मजदुरीको लागि भारत जानुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । उनले भने विदेशबाट आएका युवाको लागि स्वरोजगारी गर्छौ भन्ने सरकारले कहिले रोजगारी सिर्जना गर्छ त्यो पनि केही अत्तो अत्तो छैन, बेरोजगार फारम त भरियो तर के हुने हो केही भरभरोसा नभएको उनको दुखेसो पोख्दै भनेका छन् ।
बैतडीको सिगास गाउँपालिका –५ का खडक सिंह धामी जेठको महिना लकडाउनकै बीच घर फर्किएका हुन् । घरमा आमाबुवा, छोराछोरी सबै छन्, म जेठो हो, घर खर्च नचलेपछि नजिकैको भाइटीका पनि छोडेर भारत हिँडेको,’ उनले भने । दसैंपछि अहिले भारत जानेहरूको संख्या तीन गुणाले बढेको छ । तिहार छोडेर, कोरोनाको समेत पर्वाह नगरेर उनीहरू भारत जान थालेका हुन् । ‘नेपालमा केही काम पाएन उनले भने चुनावका बेला नेताहरूले रोजगारी दिलाउने भनी गरेका भाषण सम्झने मात्रै हो ।
अहिले सुदूरपश्चिमका नौवटै जिल्लाबाट भारत जानेको सीमा क्षेत्रमा लर्को छ । कैलालीको धनगढी–गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी–बनबासाबाहेक सबै जिल्लाका नाकाहरू बन्द छन् । त्यसैले पनि प्रदेशका ९ वटै जिल्लामा मानिसहरू गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत जाने गरेका छन् ।
कञ्चनपुरको सीमा प्रहरी चौकी डोकेबजारका प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले अहिले आउनेभन्दा चारगुणा नेपालीहरू भारत गइरहेको बताए । ‘दैनिक १५ सयदेखि २० हजारको अनुपातमा नेपालीहरू भारत गइरहेका छन्,’ थापाले भने, यसको कारण नेपालमा रोजगारीकै समस्या हो ।’ नेपालीहरूले भारत जानका लागि आफ्नो नागरिकता वा भारतले दिएको आधारकार्ड अनिवार्य बोक्नुपर्ने नियम भारत सरकारले लगाएको छ । भारतमा, नेपालीको श्रम सस्तो छ । सामान्य मजदुरीका लागि नेपालीहरूको श्रम सस्तो भएकाले पनि, स्याउ टिप्ने र संकलन गर्ने, मालिकका गाडीहरू धुने, घरमा सरसफाइ गर्ने, रातिको चौकीदारी गर्ने काममा बढी नेपालीहरू प्रयोग भएका छन् ।
भारतमा अहिले पनि दैनिक ८० हजारभन्दा बढी कोरोनाका बिरामी पुष्टि भइरहेको छ । तर, भोकका अगाडि कोरोना फिक्का परेको छ । यस्तो अवस्थामा सरकारले स्वरोजगारीको कारगर उपाय कुनै अपनाउन सकेको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *