कञ्चनपुर प्रहरीको सक्रियतामा फरार ४५ प्रतिवादी समातिए








दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ असोज
कञ्चनपुर प्रहरीको सक्रियतामा फरार प्रतिवादी धमाधम समातिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष शुरू भएयता फरार सूचीमा रहेका ४५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट सजाय र जरिवाना भएपनि फरारको सूचीमा रहेका प्रतिवादीहरूलाई
प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका केहीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार पुनर्वास नगरपालिका ११ जबरजस्ती करणी मुद्दाका फरार रहेका तीन जनालाई गत भदौ २९ गते पक्राउ गरी कारागार चलान गरिएको छ । अधिकांशलाई घरमै लुकिछिपि रहेका बेला पक्राउ गरिएको उनले जानकारी दिए । सामुहिक जबरजस्ती करणीका फरार अभियुक्त एक जना, बिष खुवाई ज्यान मार्ने उद्योगका एक जना, जालसाजीमा एक जना, जबरजस्ती करणीको उद्योग मुद्दाका एक जनालाई समेत पक्राउ गरिएको छ । ‘अदालतबाट दोषी ठहर भै फरार रहेका, अदालतले दोषी ठहर गरी दण्ड जरिवाना गरिएका लगायतका फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका छौं,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘अदालतबाट दोषी ठहर भएका फरार भएका केही प्रतिवादीहरुको खोजी कार्य जारी रहेको बताए । फरार रहेका प्रतिवादीहरुलाई खोजविनको लागि विभिन्न तवरबाट टोली परिचालन गरिएको जनाईएको छ ।







