नेपालमा संवैधानिक विकासको इतिहास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दयाकृष्ण पन्त (अधिवक्ता)
नेपालको संवैधानिक इतिहासलाई हेर्दा ६८ वर्षको अवधिमा ७ वटा संविधान यस देशले पाएको छ । संविधानको आधारबाट नै राज्यले अन्य कानून कानूनको निर्माण गरिने भएबाट यसलाई मूल कानून पनि भन्ने गरिन्छ । संविधानको भावना विपरित बनेका कानूनहरु अदालबाट अमान्य अर्थात बद गरिने कानूनी व्यवस्था भएबाट संविधानलाई कानूनको जननी पनि भन्ने गरिन्छ । विश्वमा मौखिक एवं लिखित दुई थरीका संविधान भएको अवस्थामा नेपालमा बनेका सात वटै संविधान लिखित रुपमा भएका पाइन्छन् । संसारमा लिखित संविधान सर्वप्रथम सन् १७८९ मा संयुक्त राज्य अमेरिकामा निर्माण भएको थियो, भने मौखिक वा अलिखित संविधान इंगलैण्डमा लागु भएको पाइन्छ । नेपालमा सात वटै संविधान लिखित संविधान हुन । नेपालमा पहिलो संविधान लिखित संविधानको रुपमा २००४ सालमा आएको हो जसको नामाकरण “नेपाल सरकारको वैधानिक कानून २००४” भनि भएको पाइन्छ । यस भन्दा पूर्व नेपालमा कुनै संविधान थिएन । १९७३ साल साउन २४ गतेदेखि नेपालमा जंगबहादुर राणाले जहानीया शासन शुरु भए देखि १०४ वर्ष राणा शासनकाल चालु रहे भएको पाइन्छ । पटक–पटक त्यसका विरुद्ध आन्दोलन विद्रोह भए पनि सो समाप्त हुन सकेन । जनविद्रोहलाई मन्थन पार्न नेपाल सरकारको वैधानिक कानून २००४ को रुपमा जनसमर्थ आयो । तर यसबाट पनि जनविद्रोह मन्थर हुन नसकेबाट २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गर्न बाध्य भए । यसरी प्रजातन्त्रको घोषणा भएपछि नेपालको अन्तरिम शासन विधान २००७ का नामले नेपालको दोस्रो संविधान जनसमक्ष आयो । यसमा ७ भाग ७३ धारा र ३ अनुसूचि थिए । यो संविधान २००७ साल चैत १७ गते पास भै सोही चैत्र २९ गते देखि लागु भएको थियो । प्रजातान्त्रिक आन्दोलनकै क्रममा २०१४ साल माघ १९ गते शनिबारमा राजाबाट नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा तयार गर्न भगवती प्रसाद सिंहको अध्यक्षतामा रामराज पन्त, सूर्यनाथ उपाध्याय, रणधिर सुब्वा, सचिवमा हिराप्रसाद जोशी रहेको पाँच सदस्सीय मस्यौदा समिति गठन २०१५ साल फागुन १ गते शाही घोषणाबाट जारी भएको थियो । जसको वीपी कोइरालाद्वारा प्रसंशा गरिएको थियो । यो पुष्पलाल श्रेष्ठबाट संविधानमा श्री ३ को हुकुमको ठाउँमा श्री ५ को स्वविवेक राखिएको भनि आलोचना भएको थियो । २०१७ सालमा राजा महेन्द्रबाट निर्वाचित सरकार भंग गरी २०१९ साल पौष १ गते नेपालको संविधान २०१९ जारी गरिएको थियो । यस संविधानमा २० भाग, ९७ धारा र ६ अनुसूचि थिए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट एक दलीय निरंकुश पंचायती व्यवस्था ढलेपछि विश्वनाथ उपाध्यायको अध्यक्षतामा ९ सदस्सीय संविधान सुधार सुझाव आयोग गठन हुँदा सो को सर्वत्र व्यापक विरोध भएपछि विश्वनाथको अध्यक्षतामा पुनः ९ सदस्सीय संविधान सुझाव आयोग गठन भयो, जसमा दमननाथ ढुंगाना, मुकुन्द रेग्मी, माधव कुमार नेपाल, लक्ष्मण अर्याल, निर्मल लामा, भरतमोहन अधिकारी, प्रद्वमलाल राजभण्डारी, रमानन्द प्रसाद सिंह रहनु भएका थिए । यो संविधानमा राजा विरेन्द्रबाट २०४७ कार्तिक २३ गते शुक्रबार देखि लागु गरियो । यसमा २३ भाग १३३ धारा र ३ अनुसूचि रहेका थिए ।
नेपाल सरकार र माओवादी बीच ०६३ मंसिर ५ गते भएको ऐतिहासिक शान्ती सम्झौतापछि ०६३ माघ १ गते प्रतिनिधि सभाबाट पारित नेपालको अन्तरिम संविधान २०६३ सोही मितिदेखि लागु भएको थियो । भने २०७२ साल असोज ३ गतेबाट विस्थापित भएको संविधान सभाले घोषणा गरेको थियो ।
हाल चालु रहेको नेपालको संविधान २०७२ निर्वाचित संविधानसभाबाट बनाईएको हो । पहिलो संविधानसभाबाट संविधान निर्माण कार्य पुरा नभएपछि दोस्रो संविधान सभाको चुनाव भयो जसबाट यो संविधान निर्माण गरी पारित गरियो । यो संविधान निर्माण कार्यको थालनी स्वरुप यसको परिकल्पना २०६४ साल चैत्र २८ गते गरियो भने, ०६५ मंसिर १ गते संविधान निर्माणको कार्यतालिका पारित भै १२ पटक संशोधन भै यसमा मूल १२३ बैठकहरु बसेका थिए । संविधानसभाको कार्यकाल २ वर्ष पुरा हुँदा पनि मस्यौदा नबनेपछि क्रमशः एक वर्ष तीन महिना पुनः तीन महिना थप गर्दा पनि संविधानको मस्यौदा नबनिसक्दा ०६८ मंसिर ९ गते सर्वोच्च अदालतबाट बढीमा ६ महिना सम्म म्याद थप्न पाउने आदेश भएपछिको अवधिमा पनि संविधानको मस्यौदा तयार नभएपछि ०६९ मंसीर ७ गते नयाँ निर्वाचनको घोषणा भयो । विभिन्न प्रक्रियाबाट गुज्रिदै ०७२ भद्रौ ३० गते संविधान सभाको २÷३ बहुमतले पारित भएको थियो । तत्काल कायम ५९८ सदस्सीय संविधानसभामा उपस्थित ५३२ मा ५०७ पक्षमा २५ विरुद्धमा, ५७ जनाले बहिस्कार, ८ जना अनुपस्थित भएको अवस्थामा पारित भै २०७२ असोज ३ गतेबाट संविधान लागु भएको घोषणा भयो । यसरी २०७२ साल असोज ३ गते साँझ ५ः५४ बजे संविधान जारी भै सोही समयदेखि लागु भएबाट हामी नेपाली जनताले जननिर्वाचित प्रतिनिधिबाट निर्मित एउटा प्रजातान्त्रिक संविधान पाएका हुनाले यो असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउँदै आएका छौं । संविधानका भावना, मर्मको अक्षर पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन आउँछ । यस संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसूचि रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *