गुजारा चलाउन जोखिम मोलेर युवाहरू भारततर्फ सरकारले उचित योजना बनाउन सकेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ भाद्र
दिनहुँ जसो कोरोना कहरका बेला भारतबाट फर्किएका नेपालीहरु अहिले धमाधम भारत गईरहेका छन् । भारतको आधार र राशन कार्ड देखाएर उनीहरु पुनः रोजगारीका लागि गड्डाचौकी नाका भएर भारत गईरहेका हुन् । नेपालमा रोजगारी नपाएपछि उनीहरु पुनः भारतमै पुरानै रोजगारीका फर्किन लागेका छन् । नेपालमा रोग भन्दा पनि भोकका कारणले समस्यामा परेको भन्दै उनीहरु महामारीकै बीचमा भारत जान लागेका छन् । घोडाघोडी नगरपालिका ७ करैचाका नरेश बोहराले लकडाउनका कारण नेपालमा रोजगारी नपाएपछि भारत बस्न लागेको बताए । ‘म गत फागुनमा घर आएको हुँ, ‘उनले भने, ‘पाँच महिनादेखि घरमा बेरोजगार भएर बसेको थिए, काम नपाएपछि फेरी भारत फर्किए ।’ भारतको दिल्ली एक होटलका कार्यरत बोहरा बेरोजगार भएर बसेपछि बाध्य भएर भारत पसेको बताए ।
त्यस्तै निधारमा दहीटिका लगाएर भारत पस्न लागेका भीमदत्त नगरपालिका ६ ऐठपुरका राज भट्टले नेपालमा महामारी चलेपनि खान लाउन समस्या भएकाले बाध्य भएर भारत जान लागेको बताए । ‘६ महिनादेखि बेरोजगार बसेको थिए, ‘उनले भने, ‘दैनिक घरबार चलाउन मुस्किल भयो, भारत नगई नहुने भयो ।’ नेपालका नेताहरु भाषणमा रोजगारी भनेपनि व्यवहारिक रुपमा कुनै योजना ल्याउन नसक्दा महामारीकै बीचच विदेशीन बाध्य भएको उनको दुखेसो थियो । झोलाझिम्टी बोकेर सात महिना अघि गड्डाचौकी नाका भएर शुक्लाफाँटा नगरपालिका ४ पिपलाडीका स्थानीय नवराज जोशी आएका थिए । ‘भारतमा महामारी तिव्र चलेको थियो, उतिबेला सुरक्षित बस्नका लागि घर आए, ‘उनले भने, ‘लामो समयसम्म गाँउमा रोजगारी पाईएन, दैनिक घर गुजारा चलाउन बाध्य भएर फेरी भारत फर्किदैछु ।’ ‘महामारीकै विचमा विदेशबाट फर्किएका युवालाई सीप अनुरुप रोजगारी वा उत्पादनका काममा लगाउन नसक्दाको परिमाण हो, ‘उनले भने, ‘देशमा तीन तहका सरकारले विदेशबाट स्वदेश फर्किएकालाई उत्पादनमुलक क्षेत्रमा लगाउन सकेनन् ।’ निजी क्षेत्रले पनि महामारीकै विच युवा जनशक्ति भारत बस्नु दुःखद भएको बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले भारतबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगारीका योजना ल्याउन नसक्दा विदेशिन लागेको बताए । ‘कोरोना कहर कतिन्जेल लम्बिने, हो थाहा छैन, ‘उनले भने, ‘यसको विकल्पमा स्वदेशमै रोजगारीका कार्यक्रम संचालन हुनुपर्छ ।’ भएका उद्योग संचालन र रोजगार सृर्जना गर्ने कार्यक्रम संचालनमा उनले जोडदिए । सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्न नसक्दा महामारीकै विचमा नागरिक विदेशीन लागेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आधार र राशन कार्ड भएकालाई भारत जान दिन लागेको बताए । ‘हामीले सीमा क्षेत्रमा नेपाल भारत प्रवेशका लागि प्रमाण हेर्छौ, ‘उनले भने, ‘त्यही अनुसार जाने आउनेक्रम चलेको छ ।’ प्रमाण भए नेपाली हौँ, भनेर रोक्न नमिल्ने उनको भनाई छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले महामारीका बेला मातृभूमि पुगेर पुन विदेशीन बाध्य भएका युवालाई स्वदेशमै रोजगारी दिलाउनका लागि स्थानीय तहका प्रमुखसंग समन्वय गरेर अघि बढ्ने बताए । ‘यो विषयमा जिससले सबै मेयर ज्यूसंग एक पटक गम्भिर छलफल गरेर अघि बढ्छ, ‘उनले भने, ‘युवाका लागि स्थानीय स्तरमै रोजगारी दिनुपर्छ ।’ महामारीकै विचमा गुजाराका लागि विदेशीने बढेको विषयमा लज्जा र दुखत विषय भएको बताईरहेका छन् ।
युवाहरु ‘भोकले मर्नुभन्दा त रोगले मर्नु राम्रो जस्तो लागेर बाध्य भई भारत जाँदैछन ।’ ‘गाउँमा कामको खोजीमा थुप्रै ठाउँ भौतारिएँ तर लेबरको काम पनि नपाएपछि ज्यान जोखिममा राखेर हिँडेको भारत जादै गरेका युवाहरु बताउँछन् ।’ विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवाहरू जसोतसो नाकासम्म पुग्ने गरेका छन् । एक सातादेखि भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक रामबहादुर बमले बताए । उनका अनुसार ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ । नेपालीहरू ठूलो संख्यामा मुम्बई, गुजरात, राजस्थान, पञ्जाब, बैंगलोरलगायत सहर बढी जाने गरेका छन् ।
भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको बमले बताए । कामका लागि भारत पस्ने कसैसँग रासन (आधार) कार्ड छ, कसैसँग छैन । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर पनि भारत पस्ने गरेका सई बमले जानकारी दिनुभयो । भारतबाट फर्किएका युवा जनशक्तिहरूलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले बताए । तीनै तहका सरकारले मानव श्रम शक्तिलाई अवसरमा बदल्न नसकेको उहाँको टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर, सरकारले सीपमूलक रोजगारको सृजना गर्न सकेन । सरकारले केही रणनीतिक योजना नै ल्याएन,’ उनले भने ‘त्यसैले जहाँबाट जनशक्ति आएका थिए, त्यहीँ जान बाध्य भएका छन् ।’ स्थानीय, प्रदेश र संघीय सरकारले भारतबाट स्वदेश आएका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कुनै ठोस योजना ल्याएका छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *