लोपोन्मुख पन्छी सुन गिद्धको गुँड कञ्चनपुर जिल्लामा फेला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २० भाद्र
लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । सुन गिद्ध नेपालमा पाइने रैथाने गिद्ध हो । नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये छ प्रजाती रैथाने हुन् जसले नेपालमा गुँड बनाएर बच्चा कोरल्छन् । बाँकी तीन प्रजाती जाडो याममा बसाइँसराइँ गरी आउँछन् । विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको यस गिद्धको नेपालमा अनुमानित संख्या २ सयदेखि ४ सयको हाराहारीमा छ । नेपाल पन्छी संरक्षण संघले हालसम्म यसका १६ गुँडहरु फेला पारेको जनाएको छ । पश्चिम नेपालको मध्य पहाडमा रूखमा गुँड बनाउने यस चराको गुँड पहिलो पटक आधिकारीक रुपमा सन् २०१२ मा पाल्पा जिल्लामा भेटिएको थियो ।
हालसम्म सुन गिद्धको गुँड कञ्चनपुर, जाजरकोट, अर्घाखाँची, पाल्पा, कास्की, तनहुँ र लमजुङमा अभिलेख गरिएको छ । अनुसन्धानलाई व्यापक बनाउँदै गएमा आगामी दिनमा अन्य जिल्लाहरुमा समेत सुन गिद्धका गुँडहरु फेला पर्नसक्ने भुसालको भनाइ छ ।
नेपालमा सन् १९९० को दशकमा करिब १० लाखको संख्यामा पाइने अनुमान गरिएको गिद्धको संख्या हाल आएर २० हजारभन्दा कममा सीमित भएको बताइन्छ । गिद्धको संख्यामा यसरी नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो ।
सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्यु पश्चात सिनो खाँदा गिद्धको मृगौलामा असर गर्ने मृत्यु हुने जानकारहरु बताउँछन् । वासस्थानको विनाश, आहाराको कमी, सिनोमा विषकोे प्रयोग, गिद्धलाई हानी गर्ने अन्य पीडानाशक औषधिहरु र विद्युतीय तार गिद्धका लागि चुनौती हुन् ।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिवन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु गरेको छ ।
गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले जटायु (गिद्ध) रेष्टुरेन्टहरु सञ्चालन पनि गरिएको छ । त्यसैगरी गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने, स्याटेलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी पनि भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *