स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमण बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३१ साउन
विश्वमा कोरोना महामारीले मानव समुदाय त्रसित बनेको छ । स्वास्थ्य मापदण्ड नअपनाउँदा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गईरहेको छ । पछिल्लो समयमा लकडाउन खुकुलो हुँदै जाँदा बजारका पसल, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यन्तै बढेको छ । यसले झन महामारी फैलिने खतरा उत्तिकै छ । यसतर्फ सरोकारवाला निकायको पनि ध्यान जानु जरुरी रहेको सेवाग्राही बताउँछन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् । यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११÷११ जनामा संक्रमण पुष्टि भएको छ । काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९÷९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५÷५ जना, रौतहट ४, रामेछाप
र दैलेखका ३÷३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २÷२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमका १५ जनामा कोरोना पुष्टि सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार १५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण भएको बताउँदै कैलालीका नौँ र कञ्चनपुरका चार जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनले कैलालीको धनगढी उप– महानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिका वडा नम्वर ८ का तीन महिला, गोदावरी नगरपालिका वडा नम्वर १० का एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको बताए ।
सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण देखिएको बताए ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार दुई जनामा कोरोना देखिएको छ ।
२४ घण्टामा दुई सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।
उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्वर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ पुगेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *