संकटापन्न अवस्थामा तोपचरा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–राजेन्द्र पनेरु
कञ्चनपुर, १० साउन
दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि शुक्लाफाटा निकुञ्जले काम अगाडि बढाएको छ । नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ । सुनौलो तोप चरा जोगाउनका लागि नियमितरुपमा निगरानी राख्ने कार्यसँगै चराको आहारविहार र बासस्थानबारे अध्ययन कार्यमा समेत जोड दिइएको छ ।
निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, ‘सुनौलो तोप चराबारे एक हप्ता लगाएर सर्भेक्षणको कार्यसमेत गरेका छौँ । यसको बासस्थानलाई कसरी सुरक्षित गर्ने भन्ने बारे योजनाबद्ध रूपमा अगाडि बढेका छौँ ।’ सङ्कटापन्न अवस्थामा रहेका अन्य जीवजन्तु र चराचुरुङ्गी जस्तै सुनौलो तोप चरालाई जोगाउन उत्तिकै महत्व दिइएको उनले बताए । सुनौलो तोप चराको प्रजाति विश्वमै दुर्लभ भएकाले बचाइ राख्नु आजको आवश्यकता भएको अधिकृत उनको भनाइ छ ।
निकुञ्जको घाँसे मैदानका बीच भागमा बासस्थान बनाएको सुनौलो तोप चराको संख्या १०० देखि २०० को हाराहारीमा रहेको छ । झट्ट हेर्दा भँगेरा जस्तै तर पहँेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको अधिकृत पौड्यालले बताए । ‘रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ,’ उनले भने । तोप चराका सुनौलो, बायाँ, छातिकाले र धर्के गरी चार वटा प्रजाति पाइने गरेका छन् । तीमध्ये सुनौलो तोप चरा दुर्लभ प्रजातिका रूपमा रहेको छ ।
सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चराविज्ञ हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाउनुभएको थियो । सुनौलो तोप चरा पत्ता लागेपछि निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोशी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन । ‘सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ,’ निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालले भने, ‘किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।’ खेतबारीमा हालिने विषादी र अनावश्यकरूपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदानक्षेत्र नजिकैका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरूपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछ । तोप चरालाई सामाजिक चराका रूपमा समेत लिइने गरिन्छ । सामूहिकरूपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा लिइन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।
एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरूपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनको समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप
चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछ । एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछ । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउन गुँड विशेष प्रकारले बनाइएको हुन्छ । नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् । आगन्तुक साइबेरियन चराका लागि पनि शुक्लाफाँटा प्रसिद्ध रहेको छ ।
क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । तोपचराले आफ्ना बचेरा स्याहार्न र तिनलाई सुरक्षित राख्न पानी नपस्ने गरी गूँड बनाएका हुन्छन् । निकै आकर्षित देखिने ती गूँड निमार्णको कला आफैमा गजबको छ । त्यसैले तो पचरालाई प्राकृतिक इन्जिनियर समेत भनिन्छ ।(रासस)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *