किसानलाई यन्त्र उपकरणमा ५ करोड अनुदान








दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ असार
सुदूरपश्चिम प्रदेशमा कृषि तर्फ ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गर्ने तयारी भएको छ । सुदूरपश्चिम सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालय डोटीले आर्थिक बर्षको अन्त्यमा हतार–हतारमा कृषि उपकरण वितरण गर्ने तयारी थालेको हो । ५ करोडका कृषि उपकरण अनुदानमा वितरणका लागि निर्देशनालयले ५ महिना अघिदेखि नै प्रक्रिया अगाडी बढाएको थियो । उपकरण खरिदका लागि आपूर्तिकर्ता छनोट गर्न झण्डै तीन महिना लगाएको निर्देशनालयले किसानहरु छनोटमा भने ढिलाई गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले किसान छनोटको काम भईरहेको बताए । ‘धेरै किसानको आवेदन परेको छ,’ उनले भने, ‘केही दिनदेखि हामी अनुदान पाउने किसान छनोटमै लागेका छौ ।’
कृषि निर्देशनालयले माघ २० गते कृषि अनुदानको लागि आपुर्तिकर्ताबाट सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । ‘१० आपूर्तिकर्ताले बोलपत्र दर्ता गराएकोमा ४ वटा आपूर्तिकर्तालाई छनोट गरीएको छ,’ कृषि निर्देशनलय डोटीका सूचना अधिकारी टेकवहादुर विष्टले भने, ‘१० करोडका २२ प्रकारका उपकरण खरिदका लागि टेण्डर भएकोमा ५ करोड कृषि निर्देशनालय र बाँकी ५ करोड किसानहरुले तिर्ने छन् ।’ उनका अनुसार झण्डै १४ हजार किसानको आवेदन परेको छ भने झण्डै ६ हजार बढि किसान कैलाली र कञ्चनपुरका मात्रै छन् । १४ हजार किसानबाट झण्डै ५ हजार मात्रै किसान छनोट गर्नुपर्नेछ ।







