स्मरणका दुई शब्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दयाकृष्ण पन्त

मेरा आदरणीय मित्र स्व. थानेश्वर प्रसाद भट्ट हामीलाई छोडेर गएको २ हप्ता मात्र भएको छ । तर उहाँले हामीलाई भौतिक रुपले छोडे पनि पटक–पटक उहाँको याद आउँछ । उहाँले बोलेको, सम्बोधन गरेको कानूनी व्याख्या गरेको झझल्को पल पलमा पलाएर आएको महसुस हुन्छ । विद्वान मित्र मेरा विद्यार्थी जीवनका अनन्य साथी हुनुका साथै पेशागत जीवनमा पनि आदरणीय व्यक्तित्व प्रखर प्रदशर्कको रुपमा उदयमान भएका मेरा अत्यधिक प्रियमित्र हुनुहुन्थ्यो । मेरा मात्र होइन, न्याय विमुख पिडित व्यक्तिका आशाका केन्द्र हुनु हुन्थ्यो, सुदूरपश्चिम नेपालको भूमि प्राचिन कालदेखि नै विद्वान जन्माउने उर्वरा भूमिको रुपमा प्रसिद्ध छ । महर्षि वेद व्यासले यसै प्रदेशको व्यासमा बनि बेदहरुको लेखन गरी विश्वलाई नै दिशानिर्देश गरेको इतिहास साक्षी छ । दशरथचन्द र भीमदत्त पन्त जस्ता शहीदहरुले यस क्षेत्रलाई झन उचाईमा पुर्याएको इतिहास साक्षी छ । यस्तै सु.प.मा पहिलो स्वर्ण पदकबाट विभूषित हुने इतिहास मेरा मित्र थानेश्वरप्रसाद भट्टबाट स्थापित गरी जानु भएको छ । यस्ता विद्वानको आत्माको चिरशान्तीको कामना गर्दछु ।
मेरा मित्र विद्वानका साथै स्वाभिमानी हुनुहुन्थ्यो । स्वाभिमानीले मानिसको जीवनलाई उच्च र सम्मानजनक बनाउँछ । स्वाभिमानको सामु के सुनचाँदी, हिरा मोती जस्ता मूल्यवान बस्तु नगण्य हुन्छन् । स्वाभिमानहीन व्यक्ति जस्तोसुकै उच्च ओहोदामा पुगे पनि समाजले ग्रहण गरेपनि स्वाभिमानमा आँच आउने भएको अवस्थामा, त्यागलाई नै आदर्श मानवको आदर्श व्यक्तित्वका गुण हुन्छन् । स्व. मित्र कानूनका ज्ञाता, विद्वान भएकै कारणबाट यस देशको न्यायपालिकामा, माननीय न्यायाधिशका रुपमा नेपाल सरकारबाट नियुक्त हुनुभै केही समयको पदको गरिमा राख्दै न्याय सम्मान गर्ने सिलसिलामा एउटा नेताज्यूबाट मैले न्यायाधिश बनाउन सिफारिस गरेकै कारणबाट न्यायाधिश भएका भन्ने अभिव्यक्ति गर्दा न्यायाधिश जस्तो गरिमामय सम्मानित पद त्याग गरेका थिए । मेरा स्व. मित्रमा उच्च स्वाभिमान भएको प्रमाण स्पष्ट रुपले देखिएको छ । यसरी स्वाभिमानयुक्त जीवन विताउने व्यक्ति अहिलेको समयमा कमै पाईन्छन् । स्व.मित्रबाट आउँदो पुस्तालाई स्वार्थ लगाम भन्दा स्वाभिमान उच्च हुन्छ भन्ने उदाहरण हाम्रो समाज समक्ष प्रस्तुत हुँदा यसले दिशानिर्दिष्ट गर्नका साथै कानूनी भाषामा नजीर स्थापित भएको छ ।
मेरा मित्र आदरणीय थानेश्वरप्रसाद भट्ट भौतिक रुपले यस संसारलाई छोडेर गएका हामीले महसुस गरका छौं तर उहाँको विज्ञता, स्वाभिमान, इमान्दारीता, लगनशिलता र राष्ट्रप्रेमको भावना हाम्रो लागि पथप्रदर्शकको रुपमा हाम्रो समाजमा स्थापित भएको स्पष्ट छ । उहाँको भौतिक शरीर नभए पनि उहाँका भावना विचार, सुकार्य, सुमान्यताको गुणहरुको समिश्रणबाट सुदूरपश्चिमको आकाशमा ध्रुवताराझै चम्की रहेको मैले देखेको छु, पाएको छु । यस्ता सुपात्र भित्रको म सधै आकाशतीर हेरेर दर्शन गरेर दृष्टि पाएको छु । हाम्रो समाजलाई आदरणीय भट्टज्यूका गुणहरु शिरोधार्य गरी त्यसको प्रयोगका लागि सु.प.को आकाशमा चम्की रहेका ध्रुवतारारुपी स्व. भट्टज्यूबाट प्रेरणा लिई राखेको हुनाले अरुलाई पनि सोही अनुरुप गर्न आग्रह गर्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *