हाम्रो लिपु








–दयाकृष्ण पन्त
हाम्रा छिमेकी राष्ट्र भारत र चीन बीच एउटा व्यापारिक सन्धी सम्झौता भएको थियो, जसमा व्यापारिक नाकाको रुपमा लिपुलेकलाई दुवै देशले स्वीकारेको पाईन्छ । यसरी २ देश बीच सम्झौता हुँदा नेपाल भूमि लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने कुराले नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप भएको स्पष्ट छ । यत्ति मात्र कहाँ हो र हाल आएर नेपाली भूमिमा भारतबाट मोटरमार्ग निर्माण गरी उद्घाटन समेत गरेबाट सरकारलाई खुला रुपले होम दिई, नेपाली भूमि कब्जा गरेको स्पष्ट छ यस्तो स्थितिमा विगत चीन भरतको सम्झौता लगायत मोटरबाटो निर्माण हुँदाका अवस्थामा यसको विरोध गर्नु, कुटनीतिक तवरले समस्या समाधान गर्नु एवं नेपालको सार्वभौम अखण्डतालाई कायम राख्ने गरी दायित्व नेपाल सरकारको हुन आउँछ । नेपालका संचार माध्यमले यसलाई उचालेको छ । सरकारलाई घचघच्याएको छ । तर सरकार विगत देखि हालसम्म बहिरो बनेको छ । कुनै कुटनीतिक कदम चालेको छैन । यस्तै अवस्था रहने हो भने लिपु पर्वत श्रृंखलाको गति पनि कालापानी जस्तो न होला भन्न सकिन्न । हाल नेपालको चीनको तल्कोटमण्डीमा हुने व्यापारको मार्ग र कैलाश मानसरोवर मार्ग समेत बन्द हुने अवस्थामा पुग्नेछ । लिपुलेक सम्बन्धमा भएको भारतको चिनसँगको सम्झौता मोटरमार्ग निर्माण लगायतका स्थिति यथावत रहेको अवस्थामा नेपालको सुदूरपश्चिमी जिल्ला दार्चुलाको उत्तरी सिमानाको केही भूखण्ड भारतमा गाभिन जाने भै चीनसँगको सम्पर्क मार्ग समेत बन्द हुन जानेछ । भुगोल बदलिनेछ, नकसा बदलिनेछ । सिमा परिवर्तन हुनेछ ।
लिपुलेक नेपालको अखण्ड भूभाग हो, सन् १८१६ को व्रिटिस भारत र नेपाल बीच भएको सुगौली सन्धीले स्पष्ट रुपले महाकाली नदीलाई सिमा नदीको रुपमा स्वीकार गरेको अवस्थामा त्यस क्षेत्रमा महाकाली नदी कुन हो भन्ने विषयमा भारतबाट पटक पटक विवाद श्रृजना गरेको हामीलाई स्पष्ट नै छ । भारतले नदीको नाउ फेरी नक्कली नदी बनाएझै अब पर्वत श्रृङ्खलाहरुमा गिद्ध दृष्टि हाल्न शुरु गरि सकेको छ । जसमा चीनको भूमि समेत दुःख लाग्दो रहे भएको पाइन्छ । असल छिमेकीमा हुनुनर्पे मित्रवत व्यवहारबाट दुवै छिमेकी च्यूत भएका छन् । यहाँ मत्स्य न्याय भएको छ । सुगौली सन्धिबाट महाकाली नदी देखि पूर्व पट्टी नेपाल र पश्चिम पट्टी भारतको भूमि हुने स्पष्ट भएको अवस्था अनुरुप महाकाली नदी पुर्वका कुटी, नावी गुन्जी समेत गाउँका व्यक्तिहरुका नाउमा राणा शासन कालमा जग्गा दर्ता भएको पाईन्छ । जुन कुरा १९९५ साल मार्ग ५ गतेको खडग निशाना, हुकुम प्रवागी भै १९९७/४/२४/५ को २ छापे तोक सदर गरी सम्बत १९९७ मार्ग १७ गतेको खडग निशाना हुकुम प्रवांगी सदर भै, बुडी गाउँका मु.वडोखलीकै मालपोत रु १७, कुटी गाउँमा मु. जिइला भर्दा जसमले बुढा मुखिया कायम भै मालपोत रु १९/२५, नपलचु गाउँका जाज बुढा बेपत्ता भै तपीदर्जी बुढा मर्दा मु.जसमलबुढाकै मालपोत रु १८. गुन्जी मौजाका मु. दत्त बजीत मर्दा भाई जसमल बुढाकै मालपोत रु १९/२५ वार्षिक कायम भै उक्त मालपोत बुझाउने गरी भएको आदेश नेपाल सरकारको रिकर्ड चारखाल अड्डा लगायत मालपोत कार्यालय दार्चुलामा अद्यावधि कायम भएबाट तदअनुसार मालपोत उठाई सरकारलाई बुझाई भोग गर्न पाउने सनद दिनु लगायतका सरकारी प्रमाण तथ्यांक, अभिलेखबाट पनि कुटी, नावी, गुन्जी लगायतका गाउँ महाकाली नदी पुर्वमा भएको कारणबाट नेपाली भूमि भित्रका हुन भन्ने स्पष्ट हुन्छ । यी भूभाग लिने समेतको दुरगामी कुदृष्टि राखी भारतले नक्कली महाकाली र उद्गम स्थल बनाएको स्पष्ट हुँदा हुँदै पनि नेपाल सरकार चुपचाप बसेको छ । सरकारले कुटनैनिक पहल गर्नुपर्ने, नभए यो मुद्धाको अन्तराष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालत संयुक्त राष्ट्र संघ जस्ता निकायमा पहल गर्नुपर्ने थियो, तर ती कार्य नपुङ्सकबाट हुदैन ।
यस्तो अवस्थामा महाकाली नदी कुन हो, कुन ठाउँ भएर महाकाली नदी बगेर जान्छ भनि हेर्नु आवश्यक हुन्छ । महाकालीको उद्गम कहिले र कसरी भयो भनि हेर्दा हाम्रा धर्म ग्रन्थ स्कन्ध पुराण (मानसखण्ड पुराण) मा महाकाली नदीको उत्पत्तिको बारेमा यसरी उल्लेख गरिएको छ । महाकाली नदी अर्थात श्यामा नदीको उत्पत्ति बारे व्यास ऋषीसँग अरु ऋषीले जिज्ञासा राख्दा व्यास श्री यसरी भन्नु हुन्छ भेलयुगमा स्वर्गबाट कुवेर नामक देवता हिमालय पर्वतमा आई एउटा बाजपेयी यज्ञ गर्ने विचार गरी आजको ताकलाकोट मानसरोबर क्षेत्रमा बसी ऋषीगण सित जैभानी शुकदेवसँग यज्ञ सम्बन्धि विषयमा चर्चा गरी छलफलबाट हिमाच्छाडित, अनेक धातुले युक्त, लिपि पर्वतको पश्चिम दक्षिण तिर यज्ञस्थली निर्धारण गरी यज्ञ बनाई, यज्ञमा कुवेर बसेका थिए । त्यही ठाउँमा ब्यास सहितका ऋषीहरु आमन्त्रणमा जादा कुवेरले स्वागत गरी सम्मानपुर्वक आसन ग्रहण गराए, उक्त लिपी पर्वतको पश्चिम तिर कुवेरको आश्रम पनि थियो । यज्ञको पानीको आवश्यकता पर्ने हुँदा कुवेरले एउटा नदी प्रवाहित गरी दिन मन्डाकिनीको प्रर्थना आह्वान गरे, यस प्रार्थनालाई स्वीकार गरी महाकालको मष्तिस्कबाट एउटा नदी स्वर्गबाट झरिन । महाकालको टाउकोबाट झरेकीले सो नदीको नाम महाकाली यस्तो कालो रंगका देखिने हुँदा काली भन्न थाले, कालोलाई संस्कृत भाषामा श्याम भन्ने हुदा, हिन्दु शास्त्रहरुमा श्यामा नदीको नामले प्रख्यात भइन । यसरी महाकाली नदीको उद्गम लिपी पर्वत क्षेत्रको पश्चिम दक्षिण तिर पर्ने ठाउँ भएको स्पष्ट हुन्छ, पुष्टि हुन्छ । सो ठाउँको हो त भनि हेर्दा लिम्पियाधुरा र लासारयांकी
हुन । कुवेरको आश्रम र यज्ञस्थल दुवैलिपी पर्वत भन्दा दक्षिण पश्चिममा भएबाट नदीको उद्गम पनि कुवेरको यज्ञस्थल र आश्रम नजिकै हुनु स्वभाविकै हुन्छ ।
यसरी लिपि पर्वत भन्दा पश्चिम तिर अर्थात ८० कि.मी. टाढा लिम्पियाधुरा र सो भन्दा पश्चिम लासारयांकी पर्वतबाट धौली नदीको उद्गमस्थल हो । जुन महाकाली नदीदेखि पश्चिम तिर पर्दछ ।
र जुन तावाघाटमा महाकाली नदीमा समाहित हुन्छ । लासारयाकी पर्वत भन्दा पुर्व लिपु पर्वत भन्दा पश्चिममा लिपियाधुरा पर्दछ । जुन ८०.३७ देशान्दर र ३०.३३ अक्षांशमा अवस्थित छ । यसै पर्वतबाट महाकाली नदी उद्गमीत हुन्छन । यस उद्गम स्थलबाट कञ्चनपुरको कुतियाबगर सम्म महाकाली नदी १७५ कि.मी. को दुरी तय गरी बग्ने गरेको छ ।
भारतले सन् १९६२ तीर नक्कली कालापानी बनाई सेना राखेको विरोध २०४९ साल असोज १ गते दार्चुला जि.वि.स.को टीमले विरोध जनाए भने, २०५५ साल तीर कञ्चनपुर जिल्ला विकास समितिका सभापति ऋषी लम्साली, अधिवक्त दयाकृष्ण पन्त समेतको २०/२५ जनाको जमातले विरोध मार्च गरी भारतीय सेना व्यारेक कालापानीमा पुगी विरोध पत्र बुझाई नारा लगाई विरोध गरे बाहेक हालसम्म कुनै प्रत्यक्ष विरोध भएको समेत पाईदैन । दार्चुलाबाट प्रकाशित पत्रिका र महाकाली साहित्य संगमको मुखपत्रमा समेत अधिवक्ता दयाकृष्ण पन्तबाट प्रकाशित लेख बाहेक हालसम्म विरोधी लेख प्रकाशित भएको पाईदैन ।
माथि उल्लेखित तथ्यबाट लिपुलेक अर्थात लिपि पर्वत महाकाली नदी भन्दा करिव ८० कि.मी. पुर्वतिर पर्दछ । सुगौली सन्धिबाट महाकाली पुर्वको भूभाग नेपालको हुने हुँदा लिपुलेक नेपालको भएको पुष्टि हुन्छ । यस्तो अवस्थामा भारत अतिक्रमित भूभाग फिर्ता लिन सरकारलाई घचघचयाउने दायित्व प्रथमतःत्यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरुको हुन्छ । नेपालको भूभाग जोगाउन बलिदान समेत दिन कम्मर कस्नु पर्दछ । नेताहरु सरकारी भाङ खाएर लठ्ठ परेका भए जन स्तरबाट बहिरो सरकारको कानमा दमाहा, विगुल बजाएर जगाउन पर्दछ । अतिक्रमित भूमि नेपालको भएका यथेष्ठ प्रमाण भएको अवस्थामा जित हाम्रो हुने छ । रावण प्रवृतिको नाश हुनेछ । यतो धर्म ततो जय । लेखक अधिवक्ता दयाकृष्ण पन्त जि.दार्चुला मालिकार्जुन गा.पा. पस्ती ।







