सावधान ! सानो हुदैछ संसार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


–आचार्य घनश्याम लेखक
संसार भन्ने बित्तिकै फैलिएको भन्ने बुझिन्छ तर म यो कुरा मान्ने पक्षमा छैन । अबको संसार भनेको सानो अर्थात् साँगुरो, खुम्चिएको हुनुपर्दछ । शब्दकोशकार जेसुकै लेखुन् त्यो उनको इच्छा हो । म त संसारका हरेक भौतिक र अभौतिक वस्तु खुम्चिएको साँगुरिएको देख्दैछ । त्यसैले जे देखे त्यो लेखे । तपाई सोच्नु होला मानव कसरी सानो हुदैछ ? त्यो त दिन दुईगुना र रात चौगुना ठूलो (प्रगति) हुदैन । बालक जन्मिदा सानो हुन्छ अनि ठूलो हुदै हुदै जान्छ । मानव शरीरले ठूलो हुदैछ तर मनले सानो सानो हुदै गइरहेको छ । उसको विवेक संकुचित हुदैछ । विचारशुन्य विकारयुक्त हुदैछ ।
‘वसुधैव कुटुम्बकम्’ को आदर्श बोक्ने मानव आज ‘हामी दुई हाम्रो दुई’ भन्ने नारालाई रटिरहेको छ । पतिपत्नि र छोराछोरीको साँगुरो घेराबाट मुक्त हुन सकिरहेको छैन । परिवार एकल र आफु उकलिदै छ । सावधान ! सानो हुदैछ ।
परिवार मात्र कहाँ खुम्चियो र ? यहाँ त मानिसको विचार पनि साँगुरिदै छ । ‘सबै सुखी होऊन् सबै निरोगी होऊन्’ भन्ने उच्च विचार आज ‘म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरु, मैं बाँचू मै नाचूँ अरु सब मरुन् दुर्बलहरु’ मा परिवर्तन भएको छ । यहाँ अब कसैको कोही छैन सबै आफ्नै लागि मात्र बाँचेका छन् । ‘आत्मा प्रतिकुलानी परेषां न समाचरेत्’ अर्थात् आत्माको विपरित अरु संग आचरण गर्नु हुदैनको भावना पुस्तकको पेजमा खुम्चिएको छ । त्यसैले म त भन्छु सावधान ! विचार र विवेक खुम्चिदै छ ।
‘विद्या या सा विमुक्तये’ विद्या (शिक्षा) त्यो हो जसले मुक्ति दिलाउन सकोस्, जो व्यक्ति जे को बन्धनमा परेको छ त्यसबाट मुक्त गराउने ज्ञान विज्ञान नै विद्या हो । यी कुरा संस्कृत वाङ्मयका पृष्ठमा मात्र देखिन्छन् । मानव जीवनका पत्रमा हराइ सके । विद्या (शिक्षा) संकुचित हुदैछ । यसको सीमा साँगुरिदैछ, साहित्य, साहित्यकार र साहित्यिक संघसंस्थाको बाढीमा साहित्यको वास्तविक मर्म बगिसकेछ । प्राज्ञिक संस्थाको विकास र विस्तारको रेल तीव्र गतिमा दगुरी रहेको छ तर आर्ति जिज्ञासु र प्राज्ञको खडेरी परिरहेको छ । शिक्षा केवल पेटपूर्ति र प्रतिष्ठाको विषय बनेको छ । शिक्षा व्यवसायिक र औपचारिक बन्दै गएको छ । शिक्षा शिक्षाका लागि हुनु पर्ने स्वरोजगार उत्पन्न गराउने खालको हुनुपर्नेमा शिक्षा रोजगारमुखी हुदैछ । व्यक्तिलाई आदर्शवान, नैतिकवान, मुल्यवान बनाउनुको सट्टा शिक्षाले मनमुखी, स्वार्थी र मुल्यहीन व्यक्ति उत्पादन गर्ने अनुत्पादक कारखाना बनेको छ । योग शिक्षाको सट्टा यौन शिक्षा पढाइदैछ । नैतिक तथा आध्यात्मिक शिक्षाको सट्टा नेताको शिक्षा र सामाजिक विखण्डनको शिक्षा शिक्षा दिइदैछ । शिक्षा नीति असफल भएको छ । शास्त्र हराउँदै छन् शस्त्र उदाउदै छन् । ‘विद्ययामृतमस्नुते’ अमृत प्रदान गर्ने विद्याको स्थानमा विष घोल्न विद्या चलेको छ । त्यसैले म बारम्बार भन्दैछु – सावधान ! शिक्षाको स्तर सानो हुदैछ ।
सन्तान नै सम्पत्ति हो । सन्ततिको सम्पत्ति संस्कार हो शिक्षा होइन, शिक्षा त माध्यम मात्र हो । आज मलाई लाग्छ हामी सन्तानलाई संस्कारवान भन्दा सभ्यतिवान भएको देख्न चाहन्छौं । यो नै सबैभन्दा ठूलो भुल हो । सन्तानलाई विद्वान होइन नैतिकवान बनाउनु पर्छ । धनवान र बलवान होइन संस्कारवान र आदर्शवान बनाउनु पर्छ । पढाइ रहेका छौं पराइ रहेका छैनौं, पढेको भन्दा परेको बढी जान्दछ । यो आदर्श विर्सेका छौं । गुरुकुल आज स्कुलमा बदलिएका छन् । आठ प्रहरको स्वाध्ययनका साँटो डेडप्रहर स्वाध्ययन अर्थात् पढाइ भइरहेको छ । गुरुजी आज सरजी बनेका छन् । विद्यार्थी आजका विधौरार्थी बनेका छन् । म के भनूँ सावधान ! शिक्षा, शिक्षार्थी, शिक्षक साँगुरो घेरामा बाँधिएका छन् ।
संसार नै सागुरिएको बेलामा संसारका सबै चिजबिज साँगुरिदै छन् । कलकारखानाहरु साँगुरिदै छन्, यातायातका साधनहरु साँगुरिदैछन्, युवायुवतीका कपडाहरु साँगुरिदैछन् । परिवार बढ्दैछ तर सम्बन्ध साँगुरिदैछ । तलातल थपिदैछन् तर रहनका लागि कोठा साँगुरिदैछ । पाहुनाका लागि भाडामा दिएको कोठावाला संग ठाउँ माग्नु परेको छ, कठै ! दुनिया यति किन सँकुचित हुदैछ । कही ‘अणोअणीयान् महतोमहियान्’ सानोमा सानो ठूलोमा ठूलो भन्ने दर्शनले प्रभावित छैन । हुन सक्छ प्रगतिको कथित दौडमा ठूलो बन्ने चक्करमा कही हामी साना त भइ रहेका छैनौं, सावधान ! दुनिया सानो हुदैछ, हामी संकुचित हुदैछौं, सागुरिदैछौं ।
शहर–बजारदेखि गाउँ–गाउँ घर सम्म बैंक सहकारी संस्था खुल्दैछन् । ती सम्पत्तिले धनी हुदैछन् । मानव गरिब र दरिद्री हुदै गएको छ । उधारै उधारले जिन्दगी चलाएको छ । आज कतिपय मानव धनका धनी छन् तर मनका दरिद्री छन् । धन त हातको मैलो हो । कागले पनि एक पेट पालेकै हुन्छ । व्यभिचारिणी स्त्रीले पेट पालेकै छ । आफ्नो पेट पाल्दैमा कोही धनी हुदैन । धन हुदाँहुदै किन गरिव र खाना खाँदाखाँदै किन भोकाएको छ मान्छे ? कपडाका फैक्टरीका फैक्टरी छन् तर आङका कपडा छोटा हुदैछन् अथवा च्यातिएका छन् । ठाउँ ठाउँमा प्रवचन, गोष्ठी, भेला, बैठक, सत्सङ्ग भइरहेका छन् तर मानव मानवबाट टाढा हुदैछ । हात मिल्दैछन् तर मन मिलेको छैन । सावधान ! मान्छेको मन सानो हुदैछ ।

आचार्यश्री आध्यात्मिक प्रवक्त एवं मानस चिन्तक हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *