भाइरसका तरङ्गहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

महामारिका रुपमा आतङ्क फैलाएको कोभीड–१९ ले समग्र मानव जातिको मनोविज्ञान नै परिवर्तन गरेको छ । आउँदो समयमा यसका तरङ्गहरुले कुनै भूभाग पनि अछुतो रहने छैन । मानव सभ्यताको प्रत्येक यक्ष यसबाट प्रभावित रहने पनि निश्चित छ । सामाजिक धार्मिक, राजनैतिक, नैतिक मुल्य र मान्यतामा अभूतपुर्व परिवर्तन ल्याएको छ । पाश्चात्य सभ्यतामा गर्व गर्ने रमाउने साच समाप्त हुँदैछ । आफ्ना रितिरिवाज संस्कृति माथि रुढीबादी भनि अविश्वास गर्ने सनातन घाति नवधनाड्यहरुका आँखा खुल्ने नै छन् । यद्यपि परम्पराका नाममा कतिपय विषय अस्वीकार्य हुन सक्छन् जसको सनातन सत्यसँग कुनै तादात्म्यता पनि छैन । केवल स्वार्थी धूर्तहरुले बीचमा घुसाएर प्रपञ्च गरेको होला, मूल सनातन सत्यको पुनर्जागरण स्वतःस्फूर्त रुपमा चाणै हुने निश्चित छ ।
प्राकृतिक प्रकोपका रुपमा उत्पन्न भाइरस विज्ञानलाई नै चुनौति दिइरहेको छ । कुनै युद्ध नै नभएर प्रलय जस्तो स्थितिले समृद्ध धनि र बलशाली भनिएका राष्ट्रहरु समेत धरासायी भईरहेका छन् । यो भाइरसले कुनै वाद, धर्म सम्प्रदाय धनि गरिव कसैप्रति विभेद नगरी दावानलका रुपमा फैलिएको छ । अमेरिका जस्तो राष्ट्रको अर्थतन्त्र धरासायी भएर डेढ सय खरब डलर ऋण लिन बाध्य भएको छ । विश्व परिवेशका यी घटनाक्रमबाट नेपाल नेपालीहरु अछुतो रहन सक्तैनौं । हाम्रो पहिचान, ल्याकत क्षमता आत्मसम्मान कुन स्थानमा छ भन्ने विवरण एकपछि अर्को गरि प्रष्ट हुँदै गएका छन् । आम सर्वसाधराणको सुरक्षा हकहितका राज्य चाहिने हो संकटका बखत नै यसको उपयोगिता नायकहरुको पहिचान हुन्छ, नेतृत्वदायी भूमिकामा रहेका
दावेदारहरुका करतूत सञ्चार माध्यमहरुमा अपत्यारिलो ढंगले पढ्न सुन्न पाउँदा र देख्दा लज्जित हुनु परिरहेको छ । नेपालीहरुका चित्कार सहयोगको याचना वारिसको खोजी मरुभूमिमा जल खोज्ने मृगमरिचिका जस्तो देखियो । आफ्नो जन्मभूमिमा प्रवेश गर्न खोज्दा अपमानित प्रताडित हुन परेको कुनै राहत सहयोग राज्यको अस्तित्व छ भन्ने बोध नै रहेन । विचित्रका तमाशादेखि रहेका छौं । विदेशबाट खाद्य सामग्रीमा रोक टोक छैन, स्वदेशका उद्यमीहरुले लाखौ रकम ऋण लिएर उत्पादन गरेका फलफूल मासु, दुग्ध लगायत खाद्य सामग्री नष्ट भएका छन् । उपभोक्ता नभएर पनि होइन हामीले त सहनै मुश्किल पर्ने मुल्य चुकाएर पनि पाउन कठीन छ भने ३ तहका सरकार लाखौं कार्यकर्ता सरकारी तन्त्र कहाँ के गर्दैछ ? रोम जली रहँदा त्यहाँको शाशक नीरो ंबासुरी बजाई रहेको पुनरावृत्ति भएको देखिन्छ । दुई तिहाईको शक्तिशाली भनिएको शासन हाम्रा क्रन्दन पीडा सुन्नमा समय नै नभएको जस्तो गरी सत्ता हानथाप पदवीका लागि कसरत षडयन्त्र वैठकमा व्यस्त रहेको स्थिति पत्याउनै नसक्ने गरी प्रकट भइरहेका छन् ।
लकडाउन आवश्यक त हो तर त्यसबाट उत्पन्न जटिलताको समाधान त कता हो तिरस्कार, अपमान सीवाय केही नमिल्ने भयो, जनआवाजको तिव्रता रोक्न झन कडाइका साथ रोक्ने अर्थतन्त्रलाई धरासायी पार्दै गरिव मजदुरी गरी खाने वर्गलाई भाइरस भन्दा पनि झन पीडा थप्ने काम भयो । अन्यत्र ध्यान मोड्न र आफ्नो बचावटका लागी प्राकृतिक प्रकोपका नाममा ढाल बनाइएको स्पष्ट आभास भइरहेको छ । कहिले सचीवालय बैठकबाट तमासा गर्ने स्थायी समितिलाई अवरुद्ध गर्ने अस्त्रका रुपमा पनि प्रयोग गरिएको आरोप अकारण हुन सक्तैन । संसद अधिवेशन २६ गते आह्वान भएको त्यसमा बजेट नीति कार्यक्रम ल्याई शासन सञ्चालन गर्ने सत्ताधारीहरुको खास प्रयोजन पनि हुन सक्छ, यसरी ल्याईने बजेट नीति कार्यक्रम असफल भए संविधानको धारा ७६ (७) लाई प्रयोग गर्न सहज हुने अपेक्षा रहेको होला ।
जहाँ सम्म बजेटको विषय छ यसका लागि रकम त आवश्यक पर्ने नै होला खरबौंको रेमिटान्स लगभग बन्द हुने अवस्थामा छ । कर भन्सार उठ्दैन पर्यटन क्षेत्र धरासायी भईसकेको छ । वैदेशिक सहयोगका दाता स्वयम् सहयोग माग्दै छन् । यी सव यथार्थ ढाक्नै नसक्ने भएपछि अर्थमन्त्री यसलाई स्वीकार्दै वैदेशिक सहायताबाट पूर्ति हुने व्यहोरा सुनाई रहेका छन् । उधारो आश्वासनले त भोको पेट भरिने होइन, आयात नगरी खाद्यान्न पुर्ति
हुदैन । त्यसका लागि रकम कहाँबाट कसरी प्राप्त होला ? निर्यात गर्ने कुनै बस्तु छैन, उद्योग धन्धा छैन । करोडौं बेरोजगार आफ्नो देश फर्कन निरन्तर चित्कार गरी रहेका छन् । रोजगारदाता आफ्ना मानिस फिर्ता लैजान बलपुर्वक चेताई रहेका छन् । सबै नेपाली स्वदेश फर्केमा के गर्लान कसरी
गुजारा हुन्छ ? त्यत्तिकै निष्क्रिय भएर त रहदैनन, विद्रोह आक्रोस अशान्ती आपराधिक गतिविधि अराजकताको बोलवाला भए शासन त्यसलाई सम्हाल्न सक्षम होला त ? घात प्रतिघात चली रहने विचित्रको नेपाली समाज कुन बाटोमा जान्छ ? विदेशी चलखेलका प्रत्यक्ष झलक देखिएकै हुन हामीलाई नै प्रयोग गरेर विनाशक अवस्था उत्पन्न हुने निश्चित छ । २४ गतेको बेलुकी वि.वि.सी. नेपाली सेवा कार्यक्रममा चीनी राजनायिकले दुतावास त्यही कामका लागि अर्थात के कस्ता गतिविधि हुदैछन, त्यसमा निगरानी गर्नुपर्ने दूतहरुका कर्तव्य बोध गराएको यथार्थ नकार्न सकिदैन । संविधान ऐन कानून भन्दा पनि विहङ्गम परिदृश्य उत्पन्न हुने निश्चित छ । के यी घात अन्तरघात गोर्खेहरुका आफ्नै सामर्थबाट भएका होलान त ? एउटाले गतिविधि बढाए अर्काले चुप लागेर रहने प्रश्न पनि रहदैन नेपालको सामरिक महत्व भएकोले झन वैदेशिक दुतहरु तिब्रतर रुपमा क्रियाशील हुनु अस्वभाविक हुदैन आमन्त्रण त गोर्खेहरुबाट नै भईरहन्छ । भाइरसका तरंकहरुले चाणै नै नेपालमा अकल्पनीय घटनाक्रमका आधारशील खडा गराइ रहेका छन् । हाम्रो क्षमता त्यसलाई सामना गर्न सक्षम हुने आश गर्नु मृगतृष्णा मात्र ठहर्ने छ । विकल्प के त ? भन्ने आजको यक्ष प्रश्न हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *