धनगढीमा ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
धनगढी, ६ बैशाख
कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शैयाको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अनुसार धनगढीमा निर्माण सुरु भएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भईसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा छ ।
सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०/५० शैयाको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको बताए । ‘९४ लाखमा एक महिना भित्र काम सक्ने गरि किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छौ । काम सुरु भएको छ । दिन–रात काम हुदैछ ।’ उनले भने ।
उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ । तर निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए । ‘निर्माण कम्पनीलाई देखाएका छौ । भवनका लागि जग्गा प्रसस्त छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकमको अख्तियारी दिएपछि बाँकी काम हामीले गरिरहेका छौँ ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेट अनुसार भवन निर्माण हुनेछन् ।
कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरुलाई राख्न एक भवनमा ५० कोठाहरु हुनेछन् । प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या धेरै भए नयाँ निर्माण गरिएका आइसोलेसन भवनहरुमा राख्ने तयारीमा प्रदेश सरकार छ । नयाँ निर्माण हुने आइसोलेसन भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *