प्राण जाई बरु पदवी बचाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

यौगिक भाषामा एउटा महत्वपूर्ण शब्द छ “रेचन” (Catharsis) यसको अर्थ बाहिर त्याग्न फाल्नु, प्राणायम गर्दा “भास्त्रिका” “कपाल भाती” मा खाश गरी रेचनको प्रयोग अपेक्षाकृत बढी नै हुन्छ । यसबाट शरीर भित्र रहेका विजातीय विषाक्त पदार्थ बाहिर फ्याक्ने किमती परिणाम दिन्छ । अन्यथा भित्र गुम्सिएर रहेका विजातीय तत्व निकास नहुने पानीमा विषाणु भएझै रही रहन्छ त्यस्तै विषादी पदार्थ बाहिर नजादा सम्म निकै विनाशक हुन्छ । मानवीय भावना दुर्भावनाहरु सँग पनि यही शिद्धान्त लागु हुन्छ । तत्वदर्शी बाहेक हामी सामान्य जनले कसको भित्री सोच विचार के छ भनि परिणाम नआएसम्म भ्रम रही रहन्छ । आजको समय सन्दर्भले यस सँग के तादात्म्य राख्दछ निकै महत्वपुर्ण लागेको छ । झण्डै जीवनको ज्येष्ट नागरिक हुनै लाग्दा अतीतका स्मृतिहरु मानस पटलमा आई रहन्छन् । समाजमा दमन र शोषण भयो परिवर्तन ल्याई आदर्श समाज सुखी मानव बनाउने क्रान्तिकारी नाराहरु दिदै नेपाली जनजीवनमा आमूल सुखद परिवर्तनको भ्रम फैलाउने विविध तत्वहरु रक्तवीज जस्तै उत्पन्न हुँदै गए । चाहना र भावना त्यही हुँदा स्वयम आफैले पनि त्यस्ता छदमभेणीहरु प्रति आदर सम्मान र श्रद्धाभाव राख्थे तनमन र सानै भएपनि धनले पन िअहोभाव व्यक्त गर्थे तर सक्रिय र घोषित दलहरुसँग आवद्ध हुन सदैव अचेतन मनले सावधान गराउँदै रह्यो जुन आज पनि यथावत छ । अरुले ठूलठूला भाकामा कुर्लि रहँदा स्वयम् त्यसो गर्न नसकेकोमा यदाकदा आत्म ग्लानी पनि भई रहन्थ्यो, पेशागत जीवनमा पनि यो र त्यो धार सँग कहिल्यै शामेल भएन र एकांकी जीवन भयो कि भन्ने लाग्दथ्यो । समय क्रमले अचेतन मन सार्वभौम थियो भनि आज निष्फीक्रि हुन गएको छु । आयाराम गयारामहरुका चर्तिकलाले यी विदुषक रहेछन भन्ने बोध भई रहेको छ । राणाकालीन समय होस वा त्यसपछिको समय शोषक सामन्तहरुले रजाई गरे फाल्नु पर्छ भन्नेहरु सत्तामा र शक्तिको शीर्षमा पुग्दा प्राणै गए जाओस तर पदवी रहनै पर्दछ स्वयम मरे पनि हाडलाई शीषामा राखेर पनि अभ्यर्थना हुनै पर्दछ भन्ने विदुषक छदमभेणीहरु एकपछि अर्को हुँदै समग्रतामा नाङ्गिन पुगेका छन । हाम्रो पहाडी भेगमा एउटा उखान छ “आँसको गोर्या” शायद शिकार खाई रहेको बाघ भन्ने रहेको होला रगतमा दाहा घसेर बसे झै सत्ता र शक्तिहरुमा पर्दा कस्ता सम्म चर्तिकता हुँदा रहेछन् नाट्यशालामा विविध रुपमा प्रकट हुँदै मञ्चन हुँदो रहेछ आम सर्वसाधारण हामी निमुखा प्रत्यक्ष देखि भोगी रहेका छौ । निर्लज्जताको पराकाष्टा “रेचन” हुँदै गई रहेको छ । कुनै आडम्बर भ्रम कामै नलाग्ने भईसकेको हुनाले ठाउँ ठाउँमा जुत्ता थप्पड, ढुंगा मुडा भईरहेका प्रारम्भिक चरण शुरुआत मात्र हुन जनता भेडा हुन जसरी पनि डोर्याउन सकिन्छ भन्ने कालखण्ड समापन तिर बेगवान गतिले बढ्दै छ र को के हुन छिपाएर साध्य नै छैन ।
छर्पष्ट देखिएको र कारक भूमिका यिनै विदुषकहरुबाट निर्वाह भएको हुँदा आभार मानेको छु किन भने यी वास्तविक थिए थिएनन् त्यो शंशय बनि रहन्थ्यो कहिले काही पछि परे कि समाजको गतिसँग चल्न सकेन कि भन्ने मलाल आज रहेन ।
सदाकाल ऐश्वर्य ठाँटबाट सिमित कै हुनु पर्छ बाँकी रैति भएर रहुँन भन्ने प्रवृत्ति सदा एक नाशको छ । जनताका नाममा देश लुट्ने काममा कोही कम रहेनन् । राणाजीहरु हाका हाकी लुट्थे पंचायतका खेलाडी चोरी छिपी डराएर लुट्थे नयाँ नेपालमा त निर्लज्जता पुर्वक राष्ट्रको ढुकुटी शिध्याउने क्रम बढ्दो छ । एउटा फरक के आयो भने हजार लाख करोड होईन अरबका कमाई देखिए यसमा राज्यको कुनै अंग बाँकी रहेन । ललिता निवास प्रकरणमा त विचित्र पर्दाफास भयो । न्यायको पवित्र आसन होस वा भ्रष्टाचार निवारण गर्ने कर्मचारी नेता सम्पूर्ण मन्त्री परिषद् समेत लिप्त रहेको खुल्ला भई सकेको हुनाले रेचनको चरण उच्चतम विन्दुमा पुगी सकेको हुनाले छिमेकी हिन्दुस्तानमा बलात्कारीहरुलाई इन्काउण्टर गरी स्पोटमा नै शुट गरिदा आम सर्वसाधारणले ति
सुरक्षाकर्मीहरु माथि पुष्पवृष्टि नै गरे । स्वनामधन्य मानवाधिकारवादी भनिएका विदुषकहरुले हत्या भन्दै निन्दा गरेको समाचार सुन्दा त्यस्ता तत्वहरुप्रति वितृष्णा भएको छ । त्यस्तै इन्काउण्टर नेपालमा पनि जरुरी भए जस्तो देखिदै छ । तर ठीक उल्टो पचासौं सुरक्षाकर्मीको धमक राज्यले नै हजारौंको संख्यामा दिएको शर्मनाक निर्लज्ज प्रवृत्तिले काटेको घाउँमा नून चूक छर्कने काम भई रहेकोले बलेको आगोमा घिउ थपिदै छ । देशको कार्यकारी प्रमुखलाई घिसारैझै टेको लगाई अस्पतालबाट बालुवाटार लगिएको दृश्यले प्राण गए जाओस तर पदवी नछाड्ने दृढ अडानले जग हसाई बाहेक अरु के होला ? त्यस्तै एक जनाले मनोनित माननीय हुन शर्त राखेछन, चुनाव हारे पनि प्रधानमन्त्री हुनैपर्ने गरी संविधान शंशोधन हुनुपर्ने अरे । त्यो किन गर्नु पर्यो किताव त बोल्दैन त्यसै कुर्सीमा बसाउन के ले बाधा देला ? संविधानको भावना र कतिपय सन्दर्भमा लिपिबद्ध भएको विषय समेत लत्याई रहँदा के नै फरक परेको छ र ? विदुषकहरु हो याद राख विश्वमा ठूलठूला दावेदारले मर्ने ठाउँ सम्म पाएनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *