गरिबका वारिस अमीर हुने पर्ने








– थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त
नेपाल गरिव देश हो र ? यहाँ प्राकृतिक शंशाधन केही छैन, आजीवीकाका लागि पूर्ण रुपमा पर निर्भरता भएको हुनाले करोडौं नेपाली नारकीय जीवन विताउन बाध्य छौं । दासत्व उन्मुलन राणा चन्द्र शंशेरले गरेर अमलेखगंज बसाएको ऐतिहासिक पृष्ठभूमि छ । नारी अधिकार विषय नेपाल भित्र खुबै चर्को स्वर उठाउँछ । नारी अधिकारका नाममा धर्मसँग जोडेर हिन्दुत्वको अपमान हुने गरी सार्वभौम भनिएको संसदमा आवाज उठ्छ । तर कथित वैदेशिक रोजगारीका नाममा खाडी लगायत विभिन्न देशमा नारकीय जीवन विताउन बाध्य अस्मीताको उपहाँस भएका महिला अधिकार कल्पनातीत छन । यी र यस्तै कतिपय सन्दर्भ सामग्री ज्वलन्त रुपमा उठी रहेका हुनाले विश्लेषण गर्न आवश्यक लागेको छ ।
नेपालमा प्रकृतिले यावत साधन उपलब्ध गराएको देखिन्छ । प्रारम्भमा नै प्राकृतिक शंशाधन केही छैन भन्ने लवज किन राखिएको होला ? यो जिज्ञासाको विषय हुन सक्छ त्यसको मूल कारण के हो भने मृगको शरीरमा कस्तुरी हुन्छ । कस्तुरी कुण्डल बसै, त्यसको शुवासले उ पागल छ जस्तै खोजीमा दौडिरहन्छ भेटाउँदैन । केही कतै छैन भने जस्तै प्रचुर मात्रामा प्राकृतिक शंशाधन भएर पनि निर्जन जस्तै बनेको छ । काँच र मणिको भेद थाहा नभए त्यस्तै हुन्छ । राणा जंग बहादुर अंग्रेजलाई साथ दिन सन १८५७ को विद्रोह दवाउन फौज लिएर लखनउ पुगे त्यहाँ ठूलो लूट भयो उखानमा अझै पनि लखनउको लूट भनिन्छ । त्यहाँ नवाव धनाड्यहरुका हीरा मोती जवाहरात लुटिए, गोर्खे सैनिकहरुका हाथमा पनि त्यस्ता लूट सामग्री
परेछन् तर मणी माणिथ्यको ज्ञान नहुँदा सुनको धागोमा पीरालिएका हीरामोती फालेर सुन मात्र खल्तिमा राखे बाँकी फाली दिएका छन्, त्यस्तै हो, सिस्नो कति औषधीय गुण युक्त छ कोदो फापर आलु पहाडी हिमाली क्षेत्रहरुमा प्रचुर उत्पादन हुन सक्छ तर महत्व नबुझ्दा गरिवको खाद्यान्न मानियो, धानलाई मात्र अमृत मानियो गहुँ सम्म ठिकै सम्झे पनि जौ, भटमास, कोदो सिस्नोको यतिसम्म अवमानता भयो कि त्यो सँग साटेर चामल लिन रुचाउने हामी गोर्खे नै हौ । जंगलमा त्यसै खेर गईरहेको जडीबुटी आगो लगाई घाँस उम्रने आशा राख्ने हामी नेपालीहरुका लागि त्यसको मूल्य नभएपछि प्राकृतिक श्रोत साधन केही छैन भनि कल्पना हुनु अस्वभाविक छैन । सुन्तलाका बोक्रा सुन भन्दा महंगा हुन भनि आयुर्वेदले पत्ता लगायो तर हाम्रा लागि फाल्ने ठाउँ खोज्नु जामनका गुठल्ला त्यस्तै छरिएका हुन्छन्, तर कतिपय स्वास्थ्य उपचारमा संजीवनीको काम गर्छन भनि कमैलाई जानकारी हुन्छ । सिस्नोबाट कति औषधी खाद्य सामग्री बन्न सक्छ भन्ने विस्र्यौ । त्यसैको निर्यातबाट समृद्धि हुन सक्छ भन्ने सोचसम्म भएन, बाढी प्राकृतिक प्रकोपले ग्रस्त भएको देख्यौं तर लाखौं मेघावाट विद्युत उत्पादन गर्ने नदी नाला त्यसै खेर गईरहेका छन् । जनताको आवाज नै प्रजातन्त्रको आत्मा हो तर सबै जनता एकै साथ प्रत्येक समय मुखरित हुन नसक्ने भएकाले आफू मध्येबाट निर्वाचित प्रतिनिधिका माध्यमबाट शासन संचालन गर्ने प्रणाली विकसित गर्ने प्रयास गर्न खोजिए पनि लगभग निष्क्रिय प्राणहीन बन्न पुगेको तस्वीर किन देखा पर्यो ? यो ज्वलन्त प्रश्न प्रायः चौतर्फी उठी रहेको छ । नयाँ नयाँ शब्दहरुको विकास भएको पाइन्छ । सामन्ति दलाल पूजीपति माफिया भ्रष्ट तस्कर, घूसखोरहरुको उन्मुलनको अपेक्षा आम सर्वसाधारणको चाहना र भावना छ तर के त्यो यथार्थ परक हुन सम्भव छ त ? विभिन्न शासन प्रणालीको अभ्यास यो मुलुकले गरि सक्यो, आज नेपाल साम्यवादमा गएको हुनाले यसको निहितार्थ खोज्न आवश्यक भई सकेको छ । यसका नियन्ताहरुको जीवनशैली लवाई खवाई मिजाजका बोली भाका नानाथरीका नारा आम सर्वसाधारणले प्रष्ट बुझ्ने गरी देखि अनुभवमा आईसकेको छ । वर्तमानको परिवर्तनको मूल उपलब्धि नै यही रहेको छ । बोलेको, कार्य गरेको र सोचमा अन्तरविरोध भएपछि त्यसबाट उत्पन्न हुन सक्ने ज्वालामुखी सामान्य होइन भयावह रुपमा प्रकट हुनु प्रकृतिको नियम हो । एउटा सांसदको निर्वाचन खर्च २५ लाख सम्म छुट भनेर निर्वाचन आचारसंहितामा राखिएको छ । तल्लो तहको निर्वाचन खर्च पनि लाख भन्दा तल छैन, जसले कुनै पनि चुनाव लड्न चाहन्छ योग्य सक्षम छ तर धन छैन गरिव छ भने योग्यता क्षमताको मूल्य रहदैन बोट मिल्ने कुरै छैन, मनी मसल्स नभई चुनाव लड्नु घोर दुस्साहस र आत्मघात ठहरिन जान्छ कानून त्यस्तो भए पनि सामान्य पदका लागि समेत करोडौं खर्च भएका समाचार निरन्तर आई रहन्छन्, दलको टिकटका लागि हानथाप हुन्छ तर खर्च स्वयम् बेहोर्नु पर्दा घरबास नै नरहेका कतिपय उदाहरण देखि बुझिएका छन् । निर्वाचनका लागि प्रचुर धन जुटाउने कथित चन्दाबाट नै हुने होलान तर स्वरुप नानाथरी हुन सक्छन्, यस्तो अवस्था दलाल तस्कर बाहुबलीहरुका लागि उर्बरा भूमि बन्न जान्छ त्यसैले डोन माफिया विभिन्न नेताजीहरुका आसयासमा नाकको बाल बनेर निकटस्थ बन्न जान्छन्, राजनीति विना परिश्रम इमान दक्षताको अभावमा पनि आकर्षक बन्न जाँदा भ्रष्टाचार जस्तो मायावी शब्द सर्वव्यापी नभएर रहन सक्तैन । यो नभए जीवनको शान शौकत नै असंभव छ, त्यसैले धन आर्जन सत्ता लिप्सा पुर्तिका लागि यो मात्र विकल्प रहन्छ र स्वाभाविक रुपमा त्यसबाट निचोडीएका हामी गरिव नभए शासनमा अमीरहरु कसरी पुग्थे, त्यसैले हामी गरिव सर्वसाधारणका बारिस अमीर हुनु नितान्त स्वाभाविक हुन गएको छ । सवाल प्रणालीको होइन प्रवृत्ति निष्टा इमानको हो त्यही नभएर नेपाल र नेपाली जीर्ण भएका हौं ।







