विवादित मतदान केन्द्रमा सहमति जुट्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, १२ चैत्र
बैतडी जिल्लाका मतदान केन्द्रहरु २०३७ सालमा जब जनमत संग्रह भयो सबैलाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गरिएका थिए । त्यसपछि जब गाउँ विकासको संख्यामा बृद्धि भयो त्यसको सदरमुकाम त्यसै मतदान केन्द्रमा रहेकोले सबै जनतालाई मतदान केन्द्रमा जान सुविधा भएको थियो ।
त्यसैगरी यसपटक पनि जनताको सुविधाका लागि बैतडीमा १ सय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ ।
मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
‘साविकका वडा तथा गाविस नयाँ संरचना अनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,’ उहाँले भन्नुभयो – ‘साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर गरी नयाँ संरचना अनुसार पुनः २३ वटै थपिएका हुन् ।’
यसअघि विवाद देखिएको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका मतदान केन्द्रमा स्थलगत अध्ययन गरी सहमति कायम गरेको बताइएको छ ।
यसअघि दलहरुले २०७० सालमा तय भएका मतदान केन्द्र थप्नुपर्र्ने अडान लिएपछि सहमति हुन सकेको थिएन । बैतडीमा २०७० सालमा संविधानसभाको निर्वाचन हुँदा १२० मतदान केन्द्र रहेका थिए ।
स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपालिका र छ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार ९ सय ३२ महिला, ६२ हजार ८ सय ५० पुरुष र १ जना तेस्रोलिङ्गी गरी १ लाख २८ हजार ७ सय ८३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, बैतडीले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गते सम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् । ती दलहरुको आज सम्म गरिएका क्रियाकलापहरुले जनताका अधिकारहरु १९ वर्षसम्म आफै सित राखी बल्ल आज जनताका अधिकार जनतालाई दिने बाचा गरेको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *