कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको कार्य तीब्र रुपमा अघि बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ७ असार
झण्डै अढाई दशकअघि घोषणा गरिएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको कार्य तीब्र रुपमा अघि बढ्दै छ । दैजी औद्योगिक क्षेत्रको डिपिआरका साथै वातावरणीय प्रभाव मुल्याङ्कन(ईआइए) प्रतिवेदन बनिसकेको छ । सरकारले आउँदो आर्थिक बर्ष २०७६÷०७७ को बजेट मार्फत समेत दैजी औद्योगिक क्षेत्रको विस्तार गरिने घोषणा गरेसंगै औद्योगिक क्षेत्रले गति लिने देखिएको हो ।
विस ०५२ सालमा तत्तकालिन सरकारले बेदकोट नगरपालिकाको २ र ३ छेला क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । २४ बर्ष अघि सरकारले घोषणा गरेको योजना कार्यान्वयन तर्फ उन्मुख भएपछि स्थानीय हर्षित भएका छन् ।
औद्योगिक क्षेत्रदेखि पश्चिम भारतसम्म झण्डै २० किलोमिटर मात्रै दुरी रहेको छ । महाकाली नदीमा पुलबनेसंगै औद्योगिक क्षेत्रलाई सिधै भारतको राजधानीसम्म जोड्न सकिन्छ । दिल्लीसंगै यो क्षेत्र जोडिदा आर्थिक गतिविधीमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले औद्योगिक क्षेत्रको रोकिएको काम अघि बढेको बताए । उनका अनुसार इआईए प्रतिवेदनले गति लिन सकेको थिएन् । ‘डिपिआर पनि बनिसक्यो, वातावरणीय प्रभाव मुल्याङ्ककन रिर्पोट पनि तयार भईसकेको छ, ‘मेयर चन्दले भने, ‘अब औद्योगिक क्षेत्रको विस्तार हुने आशा पलायो ।’ इआईए रिर्पोटकै कारण वन मन्त्रालयमा अडकिएको फाईल अघि बढिसकेकाले औद्योगिक क्षेत्रको काम अघि बढ्ने मेयर चन्दले बताए । उनले अझै पनि औद्योगिक क्षेत्रको विस्तारका लागि स्थानीय, राजनीतिक दल, सरकारका साथै उद्योगी बुद्धिजिवीले साथसमर्थन दिनुपर्नेमा जोडदिए । औद्योगिक क्षेत्र जति छिटो बनिसक्यो, त्यति छिटो रोजगारीका कार्यक्रम अघि बढ्ने भएकाले बेरोजगारी समस्या समाधान हुने मेयर चन्दको भनाईछ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले ग्रीड राजदेवी जार्सा जेभीलाई वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन (इआईए) बनाउन जिम्मा दिएको थियो । ग्रीड राजदेवी जार्सा जेभीले तयार पारेको प्रतिवेदनमा २७० हेक्टर जमिन क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण उल्लेख गरिएको छ । प्रस्ताविक औद्योगिक क्षेत्रमा ११७ प्लटमा २ सय उद्योग स्थापना हुने छन् । तीन बर्षमा निर्माण सक्नुपर्ने औद्योगिक क्षेत्र विस्तारका लागि ५ अर्ब, २८ करोड, ९९ लाख, ६८ हजार, १९५ रुपैया खर्च हुने प्रस्ताव गरिएको छ । निर्माण हुने औद्योगिक क्षेत्रमा बिजुली, पानी, पानी प्रशोधन, फोहोरा पानी प्रशोधन केन्द्र र फोहोरमैला व्यवस्थापन गरिने उल्लेख गरिएको छ । २५ हजारलाई प्रत्यक्ष र एक लाख १५ हजारलाई अप्रत्यक्ष रोजगारी दिईने छ ।
स्थानीयले वातावरणीय प्रभाव नपर्ने गरि औद्यौगिक क्षेत्र विस्तारमा समेत जोडदिएका छन् । स्थानीय हिक्मत सिहले स्थानीयलाई लाभ हुने र जटिबुटी उद्योगमा जोडदिए । उनले चुरेको छेउमा विस्तार हुने औद्योगिक क्षेत्रको फोहोर व्यवस्थापनमा समेत जोडदिए । कृषि क्षेत्रका समेत उद्योग समेट्नुपर्नेमा उनले सुझाव दिए । स्थानीय महिला अगुवा पार्वती रोस्याराले महिलाका लागि समेत रोजगारी दिने खालका उद्योग स्थापना हुनुपर्ने बताईन ।
‘महिलाले जे काम गर्न सक्छन्, उनीहरुको क्षमता अनुसार रोजगारी दिनुपर्छ, ‘उनले भनिन, ‘महिलालाई समेत रोगजारी दिए औद्योगिक क्षेत्र स्थापना गरिएको सार्थकता पाउँछ ।’बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले औद्योगिक क्षेत्र स्थापना भएपछि बेरोजगारी समस्या हल हुने बताए । उनले उद्योग स्थापना संगै आर्थिक गतिबिधी बढेपछि रोजगार सिर्जना हुने बताए । विभिन्न किसिमका बस्तु उत्पादन हुने भएकाले राष्ट्रिय स्तरमा समेत आफूर्ति गर्न सकिने बताए । औद्योगिक क्षेत्रले गति लिए प्रदेशकै लागि गौरब हुने उनको भनाई छ । यस क्षेत्रको आर्थिक विकास र सम्बृद्धिका लागि दैजी औद्योगिक क्षेत्रको काम अघि बढाउनुका साथै सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्नेमा जोडदिए । सो क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले दैजी औद्योगिक क्षेत्रको विस्तारका लागि संघीय सरकारले विषेश ध्यान दिनुपर्नेमा जोडदिदै आफुले समेत त्यसका लागि पहल गर्ने बताएका थिए । औद्योगिक क्षेत्र स्थापित हुन जरुरी रहेको उनको भनाई थियो । औद्योगिक क्षेत्र विस्तारसंगै यस प्रदेशकै विकासमा बेग्दै पहिचान हुने उनले बताए । ०५२ सालमा घोषणा गरिएको दैजी औद्योगिक क्षेत्र विस्तारका लागि पटक पटक स्थानीय स्तरबाट पहल हुँदै आएको थियो । दैजी औद्योगिक क्षेत्रको विस्तारका लागि कञ्चनपुरका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधीले समेत प्रतिबद्धता जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *