कठीन मोडमा नयाँ नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

घटनाक्रमहरु तिब्र गतिमा अगाडी बढी रहेको आभाष हुदैछ । एक पछि अर्को विवाद अनिष्ट तर्फ संकेत गरी रहेको छ । दुई तिहाईको सरकार भन्दा भन्दै कुन बेला समाप्त हुन्छ यकिन साथ किटान गर्न नसकिए पनि स्वभाविक अनुमान गर्न भने कठीन छैन । सत्तारुढ दलका एक जना सांसदले गजवको विरोध प्रदर्शन गरेको देख्न पाईयो, रोष्टममा उभिएर केही नबोली मौन असहमति जाहेर गरे । यसलाई भद्र अवज्ञा आन्दोलन पनि भन्न मिल्ला । ने.क.पा. भन्ने दलको सरकार छ तर परस्परमा यिनीहरुका बीच डरलाग्दो घोचपेच भई रहेको प्रष्ट सुन्न सकिन्छ ।
देशको शक्तिशाली प्रधानमन्त्री सम्झने के.पी. ओली दिल्लीको औपचारिक भ्रमण गरी रहदा वहाँको कार्यकाल थोरै छ भनि पालो कुरी बसेका दावेदारले सार्वजनिक रुपमा नै टी.भी. अन्तरवार्ता दिए । अग्नि सापकोटाले सगरमाथा टेलिभिजनलाई बुधबार दिएको अन्तरवार्ता सुन्दा चाणै पार्टी एकता धरापमा पर्ने संकेत गरे सिद्धान्तमा नै ठूलो विभाजित मनस्थिति स्पष्ट रुपमा ज.व.ज (जनताको बहुदलीय जनवाद) र एक्काइसौ शताब्दीको नयाँ जनवाद त्यस्तै भातृ संगठनहरु वाईसीएल वा युवा संघ के नाम राख्ने जस्ता सामान्य विषयमा समेत घोर विरोध सुनियो ।
एमाले र माओवादीका खाता लेवी बुझाउने व्यक्तिहरु पृथक पृथक स्वतन्त्र ढंगले सञ्चालित भएका रहेछन् । ईश्वर पोखरेल, लालबाबु पण्डितहरु लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन अकाट्य भनि रहदा त्यसै दलका कतिपय चर्को विरोध गरी रहेका छन् । मिनी संसद मानिने समिति मध्येको राज्य व्यवस्था समिति करारमा कर्मचारी भर्ना गर भनि निर्देशन दिन्छ जसलाई सरकार डाडै अस्वीकार गरी रहेको छ । त्यस्तै गुठी विधेयकको विरोध व्यापक मात्र होइन जाति विशेषको धार्मिक आस्था माथि प्रहार भन्दै धम्कीपुर्ण भाषा प्रयोग गर्छन, ठेकेदार साईपहरु कामै नगरे पनि मुद्धा लागे पनि ठेक्का पाईरहनु पर्छ भनि टेण्डर समेत अस्वीकार गरीरहदा मुद्धा लागे पनि ठेक्का पाउने भनि १ महिना वित्न नपाउँदै सातौं शंसोधन गर्न सरकार बाध्य भई सकेको छ । मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारहरु तेस्रो आन्दोलन गर्न तयार छन् । देशको पुरानो प्रतिष्ठित विश्व विद्यालय मानिएको त्रि.वि.वि.मा नातेदार बाहेक अरुले जागिर नै पाउन नसक्ने भए, विद्यार्थी भन्दा बढी प्राध्यापक कामै नगरी मोटो रकम बुझ्दै निजी विद्यालयहरुमा क्रियासिल रहेका खबर निरन्तर प्रकाशित भएका देखिन्छन् । निशुल्क शिक्षा भनि संविधानमा लेखिए पनि सरकारी विद्यालयहरुमा समेत अनेक नामबाट रकम असूल हुन्छ, मेडिकल पढाईका लागि रकम तोकिए पनि त्यो नमान्ने भनि लाखौं रकम तोके भन्दा बढी असुलेको साविति बयान दिए पनि कार्वाही हुदैन । सैकडौ विगाहा, रोपनी सरकारी सावर्जनिक जमिन विचौलिया दलालहरु खुलेआम लुटी रहेका छन् ।
राजमार्ग समेत पूर्जा बनाई विक्रि भएका खबर निरन्तर आई रहेका छन् । ठूलठूला काण्ड नभएको कोही दिन समाचार छुट छैन, जसले जहाँ पायो बाँकी नराख्ने सामान्य खबर बन्न पनि छोड्यो, विदेश भ्रमणका नाममा दुर्लभ विदेशी मुद्रा अपचलन भएका छन्, विकास बजेट रकमान्तर गर्दै अनावश्यक रुपमा धर्मको नाम जप्दै करोडौ रकम बाड्ने काम भईरहेका छन् । अव त सेनामा समेत अनियमित खरिदका विषयमा समाचार आउन थाली सके, देशको विदेश नीति लगभग अनिश्चित बन्दै गईरहेको छ । एकातर्फ इण्डोपेशिफिक अर्को तर्फ बी.आर. ले विपरित धु्रवमा नेपाल भाषिन लागे जस्तो छ, भारत भन्दा पनि चीन र अमेरिका बीचका विपरित रणनैतिक विषयको चेपुवामा नेपाल परि सकेको छ । अमेरिका दावी गर्छ इण्डोपेशिफिकको मुख्य केन्द्र बन्न नेपाल सहमत भएको तर परराष्ट्र मन्त्री इन्कार गर्छ न त्यसो भए आधिकारिक के हो त ? यसको जवाफ मिल्दैन । वी.आर. चीनको महत्वाकांक्षी रणनैतिक योजना भित्र पर्छ त्यसमा नेपालका राष्ट्रप्रमुख सरीक भई हस्ताक्षर समेत भईसकेको अवस्था छ । छिमेकी देश भारतसँग मतलव नै छैन भन्ने जस्तो परोक्ष रणनीति अहिलेका शासकहरुलाई सहज होला ? मन्त्रीहरुका कथन र काम एक अर्कालाई निस्तेज पार्ने तर्फ केन्द्रित देखिन्छन । पदासिन मन्त्रीहरु नै सरकारबाट चाणै बाहिरिने धम्की बारम्बार दिईरहेको सुनिन्छ अदालतका फैसलाहरु नागरिकता सम्बन्धमा नै फरक देखिए यो देशमा भएको के छ ? के हुन लागेको छ हामी जस्ता निरिह आम सर्वसाधारण समेत छर्लगं बुझ्ने गरी सञ्चार माध्यम उपलब्ध हुनु नयाँ नेपालको एक मात्र प्रगति हो भन्ने लाग्दछ, के यसरी नै राष्ट्र सुचारु रुपले सञ्चालन र दिगो रहला ? संघात्मक प्रणाली भनि मूल कानून बोली सकेपछि सत्तारुढ दलका अध्यक्ष प्रधानमन्त्री ति सव संघीय शासनका इकाई हुन भनि सार्वजनिक अभिव्यक्ति गर्छन । महाशुन्यको भर्पाइ गर्ने प्रतिपक्ष आफै थला परि सकेको छ । यस्तो कठीन मोडमा नयाँ नेपाल यत्ति चाणै प्रवेश गर्ला भनि कमैको अनुमान रहेको होला, निकट भविष्यमा अकल्पनिय मोड आउने समेत प्रसस्त प्रकट भएका छन् अति दंभ आडम्बर सत्ता मोह र द्रव्य आसक्तिले पुर्याउने त महाशुन्य नै होला ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *