नेपालमै युवाहरुले काम गाउने सम्भावना पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन गरिदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
दार्चुला, १४ वैशाख
२०२२/०२३ सालमा नेपालमा भौगोलिक सर्वे गर्दा पश्चिमी नेपालका विभिन्न ठाउँमा धातुजन्य उद्योगहरु उत्खनन् गर्न सकिने भनि उल्लेख भएको थियो । जसमध्ये प्रदेश नं. ७ को पुरर्चौडीमा फलाम खानी, अवरक, दार्चुलाको मार्मामा तामा तथा विभिन्न जिल्लाका विभिन्न ठाउँहरुमा अनेक किसिमका धातुजन्य तथा पेट्रोलियम पदार्थ समेत पाईने अनुमान गरिएको थियो । त्यसपछि पनि पटक–पटक सर्बे गरिएको छ । खानी विभागबाट स्वीकृति लिएर सुनखोज जस्तै अन्य धातुहरुको खोजविन भईराखेको छ । सोही सिलसिलामा हाल सुपको दार्चुलामा सिसा खानी उत्खननको तयारी अन्तीम चरणमा पुगेको छ । चार वर्ष अघि प्रक्रिया थालेको टोरेक्स माईन्स नेपाल प्रालीले सिसा खानी उत्खननको तयारी अन्तीम चरणमा पुगाएको हो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ को बरमुडेमा तीनचार दिनभित्रै सिसा खानी उत्खननको काम थालिने टोरेक्स माईन्स नेपाल प्रा. लि.ले जनाएको छ ।
लगानी कर्ता मध्येका एक जना प्रेम धामीले खानीसम्म पुग्नका लागि सडकको ट्रयाक खोल्ने काम दुई दिन भित्रै सकेर लगतै उत्खनन सुरु गरिने जानकारी दिए । टोरेक्स प्रा. लि ले नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन गरिरहेको हो । उत्खननमा सहजीकरणका लागि खानी तथा भु–गर्भ विभागको सहयोग मागिएको छ । सुदूरपश्चिम र काठमाडौँका १० जनाको झण्डै १० करोडको संयुक्त लगानीमा उत्खनन गरिन लागेको सिसा खानीबाट इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग हुने लिड नामक कच्चा पदार्थ निकालिने लगानी कर्ता धामीले बताए ।
नेपाल सरकारले दिएको अनुमती अनुसार उत्खनन सुरु गरेपछि खानीबाट दैनिक १५ टन कच्चा पदार्थ निकालेर प्रशोधनका लागि भारत निर्यात गरिने उनले बताए । धामीले खानीबाट ढुङ्गा जस्तै वस्तु निकालिने भए पनि क्रेसरको सहायताले मसिनो बनाई प्रशोधनका लागि भारत पठाईने बताएका छन् । नेपालमा कच्चा पदार्थ प्रशोधन गर्ने उद्योग स्थापना नभएको कारण तत्काल भारत निर्यात गरिने भए पनि पर्याप्त कच्चा पदार्थ उत्पादन भए विकल्प खोजिने लगानी कर्ताहरुले बताएका छन् ।
लामो सयमको अध्ययन र संघर्षपछि झण्डै १० करोडको लगानीमा नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन सुरु भएपछि प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । दार्चुलाको महाकाली नगरपालिकाकी उप–प्रमुख सानु बोहोराले सिसा खानीले आर्थिक विकासमा ठुलो टेवा पुगाउने विश्वास व्यक्त गरिन् । बोहोराले खानी सञ्चालनमा आएमा स्थानीयले रोजगारीका अवसर समेत पाउने भएकाले सिसा खानी सञ्चालनमा आउनु सुखद पक्ष भएको विचार व्यक्त गरेकी छन् ।
स्थानीयमा सीपको विकाससंगै सरकारले समेत राजस्वको ठुलो हिस्सा खानीबाट पाउनेछ । तर लगानी कर्ताहरुले भने विगतमा सरकारले आश्वासन मात्र दिएको बताएका छन् । लगानी कर्ता प्रेम धामीले अहिलेसम्म सरकारबाट आश्वासन बाहेक अन्य सहयोग नपाउँदा दुःख लागेको बताए । आउँदा दिनहरुमा संघ, प्रदेश र स्थानीय सरकारबाट सहयोग पाउनेमा आशावादी रहेको विश्वास धामीले व्यक्त गरे । दार्चुलामा सिसा जस्तै तामा, फलाम, सुन तथा चमेलिया नदी किनार क्षेत्रमा युरेनियमको खानी रहेको समेत अध्ययन अनुसन्धानले देखाएको छ । तर कानुनी जटिलता र लगानी अभावले तीनको उत्खनन नहुँदा लाभ हासिल गर्न सकेका छैनन् । यदि यी क्षेत्रहरुमा वैदेशिक लगानी अथवा स्वदेशी लगानीबाट खोजविन उत्खनन् गर्ने हो भने यी खानीहरुमा मात्रै कैयौ युवाहरुले रोजगारी पाउने सक्छन्, र विदेश जानेको संख्यामा कमी आउने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *