हुडकेली गाथा बसन्तऋतु








पृत बहादुर विष्ट (प्रितम)
चैत महिनाको प्रारम्भ हुने वित्तिकै सुदूरपश्चिमका गाउँघरहरुमा हुड्केहरुले हुडको बजाउँदै बशन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा अध्यावति छदैछ । हुन त सिरु पञ्चमी (वसन्त पंचमी) कै दिन ऋतु रागनको ऋवण हुडकेली मार्फत देवस्थान लगायत गाउँघरहरुमा सुनाईने प्रचलन छ । उक्त रागनमा बसन्त ऋतुले टुनामुना पालुवा पल्लवित गर्ने प्रारम्भको मनोहर दृश्य सजावट गर्न र जाडो यामको विदावारी गर्दै गरेको श्रृङ्गारिक रसको भाखामा हुडकेली गायनले गाउँघर मनमोहक गर्ने संस्कृति जिउदो जागो छ ।
हुडकोमा एली प्रत्यय लागेर बनेको शब्द हुडकेली हो । हुडको डमरु जस्तै भए पनि आकारमा यो डमरु भन्दा ठूलो हुन्छ । काठको डमरु बनाउने प्रविधिको प्रयोग गरी बनाईन्छ वा पित्तलको पातालाई मोडेर दुवै भागमा पातलो छाला लगाई डोरीले कसकास गरी काँधमा झुन्ड्याउन मिल्ने गरी बनाईएको हुडको पौराणिक बाध्य वादनको मुख्य साधन हो । हुडको बजाएर नाच्ने गाउनेहरुलाई हुडके भनिन्छ यहि हुडके नाचको आधारमा हुडकेली बन्न गएको हो ।
हुडकेलीको प्रमुख क्षेत्र सुदूरपश्चिम हो तापनि यदाकदा मध्यपश्चिममा पनि हुडकेली प्रचलन नभएको होइन अन्य भेगमा भने हुडकेली विरलै भेटिन्छ । हाम्रा समाजमा यहाँका प्रसिद्ध ख्याति प्राप्त दमाईहरुबाट विविध अभिनय प्रस्तुत गरी गाईने प्रसिद्ध पारस्परिक नृत्य गाथाहरु हुडको बजाउदै व्याख्या गर्ने गर्दछन्, जसलाई हुडकेली भनिन्छ । सुदूरपश्चिम नेपाल सित जोडिएका सिमा क्षेत्र भारतको उत्तराखण्डमा समेत हुडकेली प्रचलन व्याप्त छ । गडवाल भेगमा गाइने लोक गीतहरुमा विशेष गरी हुडको बाजाको आत्यधिक प्रयोग हुने गर्दछ ।
हुडकेलीमा भडाआ भनु रागन, बसन्त ऋवण लगायतका विविध कारुणिक गाथाहरु गाइने गरिन्छ । ऐतिहासिक वीरविरंगना राजा रजौटाहरुका विचको बहादुरी युद्ध वर्णन हुडकेली मार्फत जानकारीमा आउछ ।
विशेषगरी हुडकेली गायकहरु दमाई ढोली जातका नै बढी भेटिन्छन्, हुडकेलीमा राम्रो अनुभवी ऐतिहासिक कलाकारको छनौट भएपछि गाइने प्रमुख कलाकारले विशेष प्रकारको भेषभुषा पहिरनमा सजाइने गरिन्छ । सेतो झकुलो (जामा) रंगीविरंगी ईष्टकोट, फूर्के पगडीको सजावट गरी खुट्टामा चाँप राखी हुडकेली खेख्न तयार पारिन्छ । अन्य सहयोगीहरुको भने खासै परिहन हुदैन । आफूखुसी पहिरन लगाउछन् । अन्य सहयोगी गायक कलाकारहरुको खासै उल्लेख्य भूमिका नभएपनि स्वरमा स्वर मिलाई मुख्यो पात्रको फुर्ति भाखालाई उचाल्ने विसाउने अभिनयमा साथ दिने इत्यादि काम
गर्दछन् । महिला गायकहरुको पनि सुरुमा बीच, विचमा अन्तमा सहयोगी कलाकारको भूमिका महत्वपुर्ण नै मानिन्छ । हुडकेली वीर गाथाको रुपमा चिनिन्छ । हुडकेले हुडको बजाउदै वीर वीरंगनाहरुको कार्यकलाप लडाईमा देखाएको बहादुरी पराक्रमको वर्णन हावभाव प्रस्तुत गर्ने गर्दछन् ।
बसन्त ऋतुको आगमनमा हुडकेलीबाट गाईने ऋतु रागले कारुणिक रसबाट विभोर बनाईन दिन्छ । भाई बहिनी बीचको माया प्रेममा आदान प्रदान नहुनुले दाजुभाई नुहुने बहिनीको रोदन चैत महिनाको भिटौलो (कोसेली) नपाउनु र आफ्ना आन्तरिक दुःख पर्दछ । पिडा सामाजिक दृष्टिकोण आदिको वर्णन दाजुभाई नहुने बहिनीहरुका लागि कष्टप्रद हुने गर्दछ ।
हुडकेली आफैमा रोमान्चकारी गाथा हो । ता पनि हुडकेको कलात्मक र अभिनयमुलक गायनले गर्दा जनमानसमा अत्यधिक लोकप्रियता कमाएको छ । यसका गायकहरुले दर्शक र श्रोताहरुलाई अत्यधिक आनन्द दिलाउछन् । हुडकेली हुडके कलाकारले थरी थरीका अभिनय गर्दै, रुपरंग बदल्दै नाच्ने, गाउने बजाउने, उफ्रने झर्केर बोल्ने विस्तारै संवाद गर्ने, हास्ने, रुने बडबडाउने, सगुन फाग गाउने, विविध भाषामा कुरा गर्ने आदि अभिनयात्मक कार्य गर्ने भएकाले दर्शक एवं श्रोता वर्ग एकाग्र चित्त लगाई हेर्न र सुन्नमा मन्नमुग्ध रहन्छन् ।
परितोषका लागि कर्खा गायकले गाए जस्तै हुडकेले पनि परितोष प्राप्तिका लागि गाएको हुन्छ र सामान्य परितोष गाउदै गर्दा प्राप्ति भए पनि पूर्ण रुपमा हुडकेलीको अन्तमा नै पुर्ण परितोषको प्राप्ति गर्दछ ।
हुडकेली कलाकारहरु भन्दछन् यो एक प्रकारको तान्त्रिक अभिचार हो । यसमा हुडकेका आफ्नै किसिमका तन्त्र मन्त्र हुन्छन् । यस्ता तन्त्र मन्त्र केवल हुडके जातिमा मात्र सिमित रहेकाले हुडकेलीको आनन्द दमाई जाति बाहेक अन्यले दिन सक्तैन ।
यस्ता तन्त्रमन्त्रहरुको प्रयोग एक दोश्रोले नसुन्ने गरी केवल गुन गुनाहटबाट मनमनै जपेर श्रोतालाई मन्त्र मुग्ध गरिन्छ । तर बर्तमानमा भने यसबारे कमैको विश्वास छ । हुडकेलीको सामाजिक ऐतिहासिक साँस्कृतिक महत्व अत्यधिक छ किन कि यो नाटकीय संरचनामा आवद्ध लोकगाथा हो ।
यसको संरचनामा आख्यानले पनि अत्यधिक महत्व राखेको पाइन्छ यस भित्र हेर्दा पश्चात्य दुःखान्त र पुर्विय सुखान्त दुवै खाले साहित्यिक मान्यताहरु पाइन्छन् । विजय तथा पराजय सुख तथा दुःख भोग्नु परेको अवस्थालाई प्रस्तुत गरी हुडकेलीको समापन हुन्छ । यो गद्य पद्य दुवै भाषामा प्रस्तुत हुन्छ । वीर रसको बढी प्रभाव भएपनि करुण र हास्य रसका साथै साहित्यका सबै विधा हुडकेलीमा पाइन्छन् । काव्यात्मक मिठासले भरीपुर्ण हुडकेली सुदूरपश्चिम भेगको महत्वपुर्ण संस्कृति संस्कार परम्परामा पौराणिक कालदेखि स्थापित भई आएको छ । (लेखक पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी)







