विमानस्थल गौचरनमा परिणत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २६ माघ
लामो समयदेखि सुदूरपश्चिम प्रदेशका अधिकांश विमानस्थल झै सञ्चालन हुन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको
हो ।
कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित मझगाउँ विमानस्थल गौचरनमा परिणत भएको छ । विभिन्न समयमा नेताहरुले विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन दिए पनि अहिलेसम्म त्यो बोलीमै सिमित भएको छ । चुनावको बेलामा विमानस्थल सञ्चालनमा ल्याउने भन्ने मूलका एजेण्डाको रुपमा लिएर चुनावी मैदानमा उत्रेका नेताहरु अहिले जितेपछि विमानस्थलको कार्यलाई अगाडी बढाउन कुनै सुरसार नै भएको छैन ।
सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताए ।
सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् । बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन ।
नेपाल नागरिक उड्यन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरे पनि हालसम्म कार्यान्वयन भएको छैन । सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताए । उनले भने, ‘नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन, जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन, तबसम्म पर्यटन विकास हुन सक्दैन ।’ विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था छ । नयाँ विमानस्थलको पनि अध्ययन गरेर सञ्चालनमा ल्याउनुपर्ने ठाउँमा भएका विमानस्थलहरुमा पनि सेवा दिन सकिरहेका छैनन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हवाई सेवा सञ्चालन हुन नसक्दा कैयौ मानिसले अकालमै ज्यान गुमाउनु परेको छ । आकस्मिक विरामीहरुको उचित उपचार हुन नसक्दा बाटोमै मृत्यु भएका उदाहरणहरु कैयौ छन् । तैपनि सरोकारवाला निकायले कुनै चासो नदिदा जनता मारमा परेका छन् । गाडी तथा बसहरुमा यात्रा गर्दा १ दिन लाग्ने हुँदा विरामीहरुलाई ल्याउदा बसमा ल्याउदा समयमै अस्पताल पुगाउन नसकिदा अकालमै ज्यान गुमाउनु परेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *