नेताहरुका वाणी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट
आम सर्वसाधारणहरुले जानकारी पाउने श्रोत भनेको सञ्चार माध्यमहरु नै हुन् । तिनमा के कति सत्यता छ सत्यापन गर्न सक्ने सामर्थ हामी निमुखाहरुमा रहन सक्ने विषय नै भएन । हालै सम्पन्न भएको पेसिफिक सम्मेलनको अध्यक्षता क. माधव कुमार नेपालले गरे मुख्य अतिथि स.प्रधानमन्त्री के.पी. ओली भए, त्यति मात्र हैन बालुवाटार छोडेर ३ दिन होटलमा नै डेरा गरी बस्ने कारण यातायात व्यवधान नहोस् भन्ने सम्प्रेषित भए पनि सामान्य जनका लागि त अवरुद्ध भएकै थियो । यस प्रकरणबाट नेकपा भित्रै चरम विरोध भएपछि प्रमुख अतिथि बनेका व्यक्तिले स्वयम्लाई फसाएको भनि आफूले कार्यकारी प्रमुखका हैसियतबाट अन्य देशका सरकार प्रमुखहरुलाई स्वागत गर्ने बाध्यता बताए । यसका तरंग साम्य भईसकेका छैनन् र यसको व्यापकता समग्र साम्यवादी दर्शन माथि परी नै सकेको छ ।
आम जनमानसमा व्यापक नकारात्मक सन्देश गईसकेको छ । हिन्दु राष्ट्रको नारा केही दलको एजेण्डा भनि पन्छिन खोजिए पनि ९४ प्रतिशत नेपाली ओमकार परिवार भित्र रहेको यथार्थ हो, यस्तो स्थितिमा साम्यवादी भनिएका कम्युनिष्टहरुप्रति घोर दुश्मनी राख्ने चर्चका प्रणेताको आयोजना गर्वका साथ सफल भएको घोषणा ढकाल भनेका व्यक्तिले पटक पटक बताई रहदा कस्तो सन्देश र अन्तरमनमा असर परेको होला । स्वतः बुझिने विषय हो, यसमा तर्क गर्ने ठाउँ नै रहदैन । यसबाट नेपालमा हुन सक्ने अभूतपुर्व तरंगहरु रोकिएलान जस्तो छैन ।
नेपालको परराष्ट्र नीतिको विषय अहिले निकै चर्चित बनेको छ, असंलग्न परराष्ट्र नीतिको अबलम्बन गर्ने भनेको नेपाल राज्य निकै समस्यामा परेको छ । अन्नपुर्ण अखबारमा पढ्न पाईए अनुसार दक्षिणी मध्य अमेरिकी देश भनेजोयलामा सत्ता संघर्ष चलि रहदा मादुरोको समर्थनमा सत्तारुढ दलका एक जना अध्यक्षले विज्ञप्ति निकाले पश्चात उत्पन्न तरंगबाट आकुल व्याकुल भयभीत नेताहरुका एकपछि अर्को वाणी सुनिन थालेका छन् । कुरा त ठिकै हो तर विज्ञप्तिको कडा भाषा बनाएर आफूलाई फसाएको कथन प्रचण्डबाट व्यक्त भएपछि नेपाल र यसका नेताहरुका वाणीको बजन के छ भनि अभिव्यक्त गर्नु सामयिक र सान्दर्भिक विषय लागेर लेख्न खोजिएको हो ।
समय समयमा परिवर्तित नेताजीहरुका बोली भाका कतिपय सन्दर्भमा हास्यास्पद दिशाहीन अर्थहीन बनि रहेका छन्, हाम्रो ल्याकत औकात के कस्तो छ यसका प्रत्यक्ष झलक सहजै बुझ्न सकिन्छ ।
कुनै एक दल विशेषको मात्र होइन प्रायः प्रत्येक दल र यिनका नेताजीहरुका वाणीमा परिवर्तित आश्चर्यजनक अभिव्यक्ति प्रायः निरन्तर सुनिन्छन्, अनन्त कालसम्म माओवादीसँगको सहकार्य अविचल रहने घोषणा कांग्रेसले गर्यो, नेकपा एमाले र माओवादी बीचको कटुता छिपाएर छिप्ने विषय नै रहेन । अघिल्लो कार्यकालयमा अहिलेका प्रधानमन्त्री के.पी. ओलीले अविश्वास प्रस्ताव सामना गर्न नसकि राजीनामा गर्दा प्रचण्ड प्रति लक्षित घोर निन्दा र त्यसको प्रतिकार गर्दै प्रचण्डले बोलेका शब्द रेकर्डमा छन् आज दुवै दल एकाकार भए, यि तमाम पृष्ठभूमी हेर्दा सत्ता प्राप्तिका लागी जे गरे पनि जे बोले पनि स्वभाविक रहने प्रवृति तासको महल जस्तै हुने गरेको छ । कसले के बोल्छ के गर्छ जान्नै कठिन हुन्छ तर निकट भविष्यमा पटाक्षेप भएर व्यर्थ प्रलाप हो भनि परिणाम आउने अपवाद होइन आभाष नै बनि सकेको छ ।
नेपालका यस्ता नियन्ताहरुकै कारण यो देशको भविष्य ज्यादै अनिश्चित बनेको छ । मण्डले नेता भनिएका कमल थापा राजतन्त्र हिन्दु राष्ट्रका घोर अनुयायी बने पनि राजा र हिन्दुराष्ट्र हटाउने संविधान अन्तर्गत नै “उपर” प्रधानमन्त्री बन्न समेत सफल बने, पुनः त्यही नारा लिएर जनसमर्थन पाए पनि सत्ताखेल र “मुसा प्रवृति” भनि तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुरबाट उपाधि पाएका उनैले वाणी भाका फेर्दा जनता माझ नांगिए, बामदेव गौतम चुनाव हारे स्वयं प्रधानमन्त्रीका दावी गर्ने व्यक्ति सांसद सम्म बन्न पाएनन् त्यसको छटपटी उपनिर्वाचनबाट अरबौ खर्च गरेर भएपनि सांसद हुनै पर्ने चाहना पुरा हुन सकेन, आफ्नै पार्टीबाट घोर भ्रष्टाचारी भनि घोषित बामदेव शक्तिशाली नेता उसै दलमा कायम छन् समाचारमा जाने अनुसार भेनेज्युलाको प्रचण्ड विज्ञप्तिमा उनकै हाल रहेको खुलासा छ । राणाजी र लोहनीका दल एकिकृत भए किन फुटे किन मिले उद्देश्य त वैकल्पिक शक्तिको खोजी नै भनिन्छ । त्यही वैकल्पिक बन्ने चाहना विवेकशील साँझामा पनि थियो वर्ष दिनमा नै फुटी सके, कांग्रेस, एमाले लगायत सबै टुटफूटका शिकार बने अझै मिल्ने नाटक गरे पनि गुट उपगुटमा प्रत्येक दल विभाजित छन्, सबैलाई सत्ता भत्ता गाट, ब्रहमलुटको भोकले सताई रहन्छ यसरी राज्य सञ्चालन असम्भव हुन्छ असफल राष्ट्र र निकम्मा नेताहरुको करतुत आम सर्वसाधारणका लागि पुरिनै नसकिने घाउ बनिरहेको स्थितिमा हाम्रो भूत भविष्य वर्तमान कसरी बाँकी रहन सक्छ ? यक्ष प्रश्नका रुपमा खडा भईसकेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *