विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति गठन








दिशानिर्देश समाचार/ महेन्द्रनगर, ५ माघ
यहि माघ ४ गते विश्वहिन्दु महासंघका सुप संयोजक श्री राजप्रसाद जोशीे उपस्थितिमा कञ्चनपुर जिल्लाको महेन्द्रनगर शिवधाम क्षेत्र पशुपतिनाथ कन्चनेश्वर मन्दिरमा शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष रामदत्त बडूको संयोजकत्वमा बैठक बसी विभिन्न विचार विमर्श पश्चात डा. टेकराज पन्तको अध्यक्षतामा विश्व हिन्दु महासंघ कञ्चनपुर जिल्ला तदर्थ समितिको गठन भयो ।
हाल उक्त समितिमा निम्न पदाधिकारी रहेका छन् । अध्यक्ष डा. टेकराज पन्त, उपाध्यक्षमा गणेश ब. चन्द, सचिवमा हरिहर पाण्डेय, कोषाध्यक्षमा लोक ब. ठकुराठी, प्रवक्तामा कृष्णानन्द भट्ट, सहसचिवमा लक्ष्मण प्रसाद उपाध्याय रहेका छन् भने सदस्यहरुमा डा. बल ब. महता, कर्ण ब. विष्ट, बलदेव अवस्थी, केशबदत्त चटौत, दल ब. चन्द, बल ब. कुँवर, जय ब. चन्द, अर्जुन देव जोशी, दान ब. चन्द, मोहन सिंह खत्री, कलक ब. अधिकारी, लक्ष्मण विष्ट, दिल ब. नाथ, महेन्द्र खड्का, बासुदेव भट्ट, सरस्वती दाहाल, लालमणी पाण्डेय रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा धर्मराज जोशी, नरेन्द्र भण्डारी, पृत ब. विष्ट, रामदत्त बडू, शेर ब. चन्द लगायत २८ जनाको कार्यसमिति रहेको छ ।
वर्तमानको डरलाग्दो अवस्था जहाँको सरकार नै मूनको होली वाइनको अविसेख हाली सम्पुर्ण नेपालीलाई मात्र हैन नेपाललाई नै क्रिश्चियन धर्मावलम्बी बनाउने दुस्प्रयास गरेको समयमा नेपाल राष्ट्रले जागृत हुने अवस्थाको सुरुवात भएको छ । प्रगतिको नाममा आएको विकृतिले देश अवश्य नै नष्ट भ्रष्ट हुने निश्चित ठानिएको बेला देशका नागरिकहरुले आफ्नो प्राचीन सनातन धर्म सभ्यताको संरक्षण गर्नुपर्ने नितान्त आवश्यक रहेको छ । विश्व हिन्दुहरुको आस्थाको केन्द्र रहेको नेपालमाथि धार्मिक आक्रमण हुँदा सहेर बस्न सकिने अवस्था नआएको र आफ्नो स्वाभिमानमा अंग्रेजहरुले समेत बज्रपात गर्न नसकेको बेलामा नेपालीबाट नै नेपालीको सनातन आदिकालदेखि चलि आएको परम्परालाई नष्ट पार्ने खेलको सुरुवातमा आफ्नो संरक्षण आफै गर्ने होइन भने भोलीका दिनहरु झन संकट पुर्ण रहनेछन् । हामी सित हाम्रो केही रहने छैन ।
धर्मका मामिलामा समेत हामी अवश्य पराधिन हुने छौं भन्ने भावनात्मक धारणाबाट ओतप्रोत भई नेपाल अधिराज्यका नागरिक राजनीतिमा कम्युनिष्ट, कांग्रेस, राप्रपा अर्थात जुनसुकै राजनीतिक पार्टीका भएपनि नेपालीहरुले आफ्नो धर्म संस्कृति, रितिरिवाजको संरक्षण समग्रमा हिन्दुधर्म जो ५ हजार वर्ष भन्दा पनि पुरानो हो, त्यसलाई अधर्मीहरुले पटक पटक आक्रमण गर्दा पनि जिवन्त रहन सकेको हिन्दु धर्म हाम्रो जीवनको अस्तित्व मासिन दिनुहुदैन ।
बरु हामीले अमर शहिद भए पनि हुन तयार छौ तर मूनको होली वाईन नेपाली जनतालाई खुवाउन दिन्नौ भन्ने नेपाली नागरिकहरुको इच्छा अनुरुप तथा विश्वभरी छरिएर रहेका हिन्दुहरुका विचारको संरक्षण गर्ने देशभरी नै जिल्ला संगठन खोलिने क्रममा पहिलो पटक कैलाली, दोस्रोमा कञ्चनपुर जिल्लामा विश्वहिन्दु महासंघको गठन भएको छ । हामीले आफ्नो सनातन धर्म, राष्ट्र र राष्ट्रियतालाई जिवन्त राखी विश्वमा एक मात्र हिन्दुराष्ट्र नेपालको पहिचान अमर राख्ने छौ भन्नु हुन्छ जिल्ला कमिटिका प्रवक्ता कृष्णानन्द भट्ट ।







